काठमाडौं- स्वास्थ्य सेवा ऐन विपरित सेवा समूह फरक गरी आयुर्वेदबाट जनस्वास्थ्य प्रशासकमा बढुवा भएका एक चिकित्सकको बढुवा बदर भएको छ। मधेश प्रदेश लोक सेवा आयोगले नेपाल जनस्वास्थ्य संघ (नेफा)को पटक पटकको उजुरी र पहलपछि नियम विपरित बढुवा भएका चिकित्सकको बढुवा बदर गरेको हो।
लोक सेवाको बढुवा समितिले आयुर्वेद चिकित्सक डा सचित कुमार शर्मालाई जनस्वास्थ्य प्रशासकको पदमा बढुवा सिफारिसर गरेको थियो। त्यसपछि नेफाले त्यसको विरोध गरेको थियो। नेफाको विरोधपछि लोकसेवाले गत फागुन ४ गते गरेको बढुवा निर्णय बदर गर्ने निर्णय गरेको हो।
'नवौं तह जनस्वास्थ्य प्रशासकको पदमा स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १५ को उपनियम १ सँग सम्बन्धित अनुसूची ७ मा उल्लेख भएको सेवा समूह तथा उपसमूह भन्दा फरक आयुर्वेद समूहका अधिकृत आठौं तह आयुर्वेद चिकित्सक डा सचित कुमार शर्मालाई बढुवा सिफारिस गरेकाले सो बढुवा समितिको सचिवालयको निर्णय कानून विपरित भएको हुँदा सो बढुवा सूचना नं १९/०७९-८०, स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह अधिकृत नवौं तह जनस्वास्थ्य प्रशासक पदको मिति २०७९/११/०४ को बढुवा निर्णय बदर गर्ने निर्णय गरियो,' प्रदेश सचिव नरेश राज खरेलद्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ।
हेरौं पत्र