काठमाडौं- वीर अस्पतालका लागि भनेर ल्याइएको टोमोथेरापी मेसिन लामो समय थन्किएको थियो। अस्पतालमा उक्त मेसिन जडानका लागि स्थान नहुँदा खरिद गरेर ल्याइएको मेसिन लामो समय सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्र नै थन्किएको थियो।
लामो समय चौरमा थन्किएको मेसिनमा कन्टेनरबाट पानी चुहिँदा बिग्रिएको थियो। मेसिन खोल्दै नखोली बिग्रिएपछि अस्पतालले उक्त मेसिनको सट्टा अर्को मेसिन पठाउन कम्पनीलाई आग्रह गरेको थियो। सोही अनुसार कम्पनीले वीर अस्पतालमा उक्त बिग्रिएको उपकरण फिर्ता लगेर नयाँ पठाउन राजी भएको हो।
कम्पनीले वीर अस्पतालले खरिद गरेको टोमोथेरापीको नयाँ मेसिन पठाइसकेको छ। उक्त मेसिन समुद्री मार्ग हुँदै अमेरिकाबाट आइरहेको मेसिन सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालीले जानकारी दिएको छ। उक्त मेसिन अकुरे कम्पनीले उत्पादन गरेको हो।
'पुरानो मेसिनको सट्टामा नयाँ पठाउन गरिएको आग्रह कम्पनीले स्वीकार गर्दै नयाँ मेसिन पठाइसकेको छ,' लाइफलाइनका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने, 'अंग्रेजी क्यालेन्डर अनुसार जुनको ५ तारिखसम्ममा समुद्री मार्गहुँदै भारतमा आइपुग्ने र त्यसपछि नेपालमा आउने छ। नेपाल आइपुगेपछि मेसिन जडानको काम अगाडि बढ्छ।'
वीर अस्पतालमा मेसिन जडानका लागि उपयुक्त स्थान (बंकर) निर्माण भइसकेको छ। वीरमा विगतमा कोबाल्ट मेसिन रहेको स्थानमा नै टोमोथेरापी मेसिन जडान गर्ने गरी बंकर बनाइएको छ। 'टोमोथेरापी मेसिन काठमाडौं आइसकेपछि कन्टेनरबाट सामान निकालेर बंकरमा जडान गर्न ४५ दिनसम्मको समय लाग्छ,' लाइफलाइनका ती कर्मचारीले भने, 'पहिलाको बिग्रिएको मेसिनको सट्टा कम्पनीले नि:शुल्क रुपमा नयाँ मेसिन पठाइदिएको हो।'
पहिलाको उपकरण किन सञ्चालनमा आउन सकेन?
वीर अस्पतालले करिब ४० करोड लागतमा टोमोथेरापी मेसिन किनेको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का तत्कालिन उपकुलपति डा गणेश गुरुङको पालामा मेसिन खरिदको निर्णय भएको थियो। तत्कालिन समयमा मेसिन खरिद प्रक्रिया अगाडि बढेसँगै मेसिन राख्नका लागि स्थान खाली गर्ने काम पनि अगाडि बढाइएको थियो। तर प्राविधिक र प्रशासिनक कारण टोमोथेरापी राख्ने स्थान (बंकर) तयार हुन सकेन। जसका कारण मेसिन आएपनि स्थान नहुँदा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल परिसरमा मेसिन ल्याएको कन्टेनर राखिएको थियो।
वीरमा विगतमा रेडियोथेरापीका लागि पुरानो प्रविधि कोबाल्ट मेसिन थियो। उक्त मेसिन बिग्रिएपछि वीरमा रेडियोथेरापीको नयाँ प्रविधि टोमोथेरापी ल्याउने निर्णय भएको थियो। वीरमा कोबाल्ट मेसिन बिग्रिएर सेवा बन्द हुँदा रेडियोथेरापी आवश्यक पर्ने बिरामी निजी अस्पतालमा जान बाध्य भएका थिए। तत्कालिन समयमा वीरमा कोबाल्टबाट रेडियोथेरापी सेवा लिँदा पाँच हजार रुपैयाँ लाग्ने गर्थ्यो। जबकी सोही सेवाबापत निजीले ७५ हजार रुपैयाँसम्म लिने गरेका थिए।
वीरले कोबाल्टको ठाउँमा अत्याधुनिक टोमो उपकरण जडान गर्ने भएपछि केही निजी अस्पतालले सञ्चालन गरेका रेडियोथेरापी उपचार पद्दतिमा धक्का पुग्ने भएकाले वीरमा उक्त सेवा सञ्चालनमा आउन नदिन वीरकै केही डाक्टरसँगको मिलेमतोमा बंकरका विषयमा विवाद ल्याउने र अलमलाउने खेल भएको थियो। यो अवधिमा नयाँ उपकरण छिटो सञ्चालनमा ल्याउने तर्फभन्दा पनि वीरबाट बिरामी निजीमा पठाउने खेल हुने गरेको अस्पताल स्रोत बताउँछ।
टोमोबाट वीरले सेवा दिन थाल्ने बित्तिकै दिनमा ६० जनाले सेवा पाउनेछन्। त्यो पनि केहीलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्कमा। एकपल्ट टोमोथेरापीको शुल्क बढीमा १० हजार रुपैयाँ तोकिनेछ। नेपालका निजी सेवा प्रदायकले टोमोभन्दा एक स्तर कम मानिने लिनियाक रेडिएसन मेसिनबाट सेवा दिएको डेढ लाख रुपैयाँसम्म लिने गरेका छन्। टोमोबाट गुणस्तरीय सेवा सस्तोमा पाउने भएकाले क्यान्सरका बिरामी वीरमा केन्द्रित हुने देखिन्छ।
के हो टोमोथेरापी?
सन् २००२ देखि प्रयोगमा आएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कसहरु बताउँछन्। सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।
टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। टोमोले हजारौं ससाना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।
टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर (सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म) को सहज र सफल उपचार गर्न सक्छन्। टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत), फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर (सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म), भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया) लगायतको उपचारमा प्रयोग गर्न सकिन्छ।