काठमाडौं- वीर अस्पतालको पुरानो भवनको तेस्रो तल्लामा छ, छाला तथा यौन रोग विभाग। छाला तथा यौनसम्बन्धी समस्या लिएर दैनिक दुई सय जना बिरामी यो विभागमा पुग्छन्।
तर समस्याले जटिल रुप लिएपछि मात्र यो विभागमा पुग्ने बिरामी धेरै छन्। सामान्य समस्या हुने बित्तिकै अस्पताल पुग्ने बिरामीको संख्या भने अन्त्यन्तै न्यून।
सुरुवाती अवस्थामै अस्पताल आउने बिरामीहरु निकै कम रहेको विभागीय प्रमुख प्राडा अनुपमा कार्की बताउँछिन्।
भन्छिन्, ‘औषधि पसलमा गएर मल्हम लगाएर नआउने बिरामी निकै कम हुन्छन्।’
डण्डीफोर, चायाँ पोतो, दाद लगायतका छालासम्बन्धी समस्या भएकाहरु पहिले औषधि पसल अनि पार्लरमा धाउने गरेको उनी बताउँछिन्।
अनावश्यक औषधि र कस्मेटिक सामग्रीले अनुहार नबिग्रदासम्म अस्पताल आउने बिरामी निकै कम छन्। कतिपय व्यक्तिहरु साथीको सुझावमा बिना परीक्षण आफू खुसी मल्हम लगाउने, औषधि दल्ने समेत गरेको उनले बताइन्।
‘एक पटक होइन। पटक पटक पार्लरमा गएर ठिक नभएपछि हामी कहाँ आउने धेरै छन्।’ उनले भनिन्।
वीर अस्पतालमा छाला सम्बन्धी सबै रोगको ओपिडीसँगै यौन सम्पर्कबाट हुने संक्रमणजन्य समस्याहरुको पनि उपचार हुन्छ।
कुष्ठरोगको पनि उपचार हुन्छ। शल्यक्रिया मार्फत कोठी फाल्ने, सिस्ट फाल्ने, बायोस्पी लगायत माइनर ओटी पनि हुन्छ। अनावश्यक रौँ हटाउने लेजर थेरापी, कत्ले रोग सेता दुवीमा प्रयोग हुने पुभा थेरापी, हात र शरीरमा धेरै पसिना आउने रोगको पनि उपचार हुने डा कार्कीले बताइन्।
यो विभागका लागि एउटा माइनर ओटी छ। हप्ताको चार दिन ओटी हुन्छ। एक दिनमा १० देखि १८ जनाको माइनर शल्यक्रिया हुने गरेको विभागले जनाएको छ।
छाला बिग्रिएपछि मात्र अस्पताल पुग्ने समस्या वीरमा मात्र होइन। ललितपुरस्थित पाटन अस्पतालमा पनि यही प्रचलन छ।
पाटन अस्पतालको चर्मरोग क्लिनिकको ओपिडीमा छाला सम्बन्धी विभिन्न समस्या लिएर दैनिक करिब एक सय जना बिरामी पुग्छन्। जसमध्ये धेरैजसो बिरामी अनावश्यक औषधिको प्रयोगले छाला बिग्रिएर मात्र आउने गरेको छाला रोग विशेषज्ञ प्राडा भास्कर मोहन कायस्थ बताउँछन्। यो समस्या महिला र पुरुष दुवैमा उस्तै भएको उनले बताए।
चायाँ पोतोमा मेलाकेयर, स्टेरोइड, स्कीन साइन, क्युटी केयर लगायत क्रिमको अनावश्यक प्रयोगले अनुहार बिग्रिएर धेरै बिरामीहरु आउने गरेको उनले बताए।
छाला बिग्रिएर आउने बिरामीलाई उनको पहिलो प्रश्न हुन्छ, ‘कुन चायाँको औषधि लगाउनु भएको हो?’
उनले भने, ‘धेरैजसो साथीहरुले भनेका क्रिमहरु लगाउने गरेको, औषधि पसलमा गएर चायाँ पोतो, डण्डीफोरको औषधि गर्नेहरु, कोही पार्लरले दिएका औषधिहरु प्रयोग गरेर आएका हुन्छन्।’
कतिपयले त युट्युबमा भिडियो हेरेको भरमा पनि आफुखुसी औषधि र क्रिम प्रयोग गर्नेहरु रहेको उनले बताए।
आफूखुसी प्रयोग गरिएका औषधि र क्रिमले समस्या झनै बढाएर अनुहार नै बिगार्ने गरेको उनले बताए। छालामा कुनै समस्या देखिने बित्तिकै सम्बन्धित छाला रोग विशेषज्ञको सल्लाहमा मात्र औषधि प्रयोग गर्न उनको सुझाव छ।