काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहन बस्नेत नियुक्त भएसँगै स्वास्थ्य मन्त्रालयमा डा शैल रुपाखेतीको चहलपहल बढेको छ। डा रुपाखेतीले आफू मन्त्रीको सल्लाहकार नियुक्त हुने भन्दै कर्मचारीहरुलाई महत्वपूर्ण पदमा सरुवा गर्ने आश्वासन दिन थालेका छन्।
डा रुपाखेतीले मन्त्रालयका कर्मचारीहरुको सरुवा गर्दा आफूलाई सोध्नुपर्छ भन्दै सचिवलाई समेत भनिसकेको स्रोत बताउँछ। 'मन्त्री बस्तेनले बिहीबार पदबहाल गर्नेक्रममा मन्त्रालयमा पुगेका डा रुपाखेतीले त्यसपछि स्वास्थ्यका कर्मचारीहरुलाई आफू सल्लाहकार नियुक्त हुने भन्दै पदहरु बाँडिरहेका छन्,' स्रोतले भन्यो, 'यहाँसम्मकी सचिवलाई समेत कर्मचारी सरुवाको सूची आफूलाई सोधेर मात्र बनाउन भन्न भ्याइसक्नु भएको रहेछ। उहाँ (डा रुपाखेती)ले केहीलाई महानिर्देशक त केहीलाई महाशाखा प्रमुखदेखि निर्देशक बनाउँछु भनिरहनु भएको छ।'
डा रुपाखेती शेरबहादुर देउवा पत्नी आरजु निकट छन्। आरजु निकट भएकै कारण उनी शेरबहादुर प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिदको चिकित्सकका रुपमा नियुक्त भएका थिए। अहिले मन्त्रीमा नियुक्त भएका बस्नेत पनि शेरबहादुर र आरजु निकट मानिन्छन्।
डा रुपाखेतीले त्यहि अनुसार आफू नै मन्त्रीको विज्ञ सल्लाहकार हुन्छु भन्दै कर्मचारीहरुलाई डरसहित आश्वासन दिन थालेका हुन्।
'नियुक्ती नै नपाई उहाँले मन्त्रालयका काममा हस्तक्षेप गर्ने खालको भूमिका निभाउन थाल्नु भएको छ.' स्रोत भन्छ, 'मन्त्रीको सल्लाहकार नियुक्ति नै हुनु भए पनि उहाँको काम कर्मचारी सरुवा गर्ने तर्फ होकी मन्त्रिलाई जनताको पक्षमा काम गर्न सुझाब दिने हो? अहिलेको गतिविधि हेर्दा त उहाँ चलखेल गर्न आउन लागेको जस्तो देखिन्छ।'
उनले मन्त्रालयका अतिरिक्त सचिव (१२औं तह) डा विकास देवकोटालाई सचिवको केही 'पावर' खोसेर दिने, अर्की अतिरिक्त सचिव डा संगिता मिश्रलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक र ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीलाई मन्त्रालयको महत्वपूर्ण महाशाखा नीति, योजना तथा अनुमगन महाशाखा प्रमुख बनाउँछु भनेर भन्न समेत भ्याइसकेको स्रोतले जानकारी दियो।