काठमाडौं- सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्दै सञ्चालनमा ल्याउने भनेको धेरै भइसकेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि मेडिकल कलेजको कुरा समावेश छ। २०७८ सालको माघ १० गते बसेको मन्त्रिपरिषद बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको थियो।
त्यसयता डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। तर कलेज स्थापना र सञ्चालनको काम भने सुस्त गतिमा भइरहेको छ। सरकारले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने गरी मेडिकल कलेजको काम अगाडि बढाउने निर्णय गरेको थियो।
'स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेल्धुरा अस्पताल नै आधार संकाएका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकताक साथ अघि बढाउने,' मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।
मन्त्रिपरिषद्को उक्त निर्णयपछिका १५ महिना वितिसक्दा पनि मेडिकल कलेज स्थापनाका विषयमा के काम भइरहेको छ त? कहाँ पुगेको छ मेडिकल कलेजको काम?
मेडिकल कलेजका रुपमा स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय भएको ९ महिनापछि मात्र डडेल्धुरा मेडिकल कलेजका लागि सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको फ्याकल्टी अफ हेल्थ साइन्समा डिन नियुक्त भएका थिए। काठमाडौं विश्वविद्यालयमा रहेका डा हेमनाथ जोशीले डिनका रुपमा गत कात्तिकबाट काम सुरु गरेका छन्। डिन नियुक्तिसँगै डिन कार्यालय थापना गर्दै काम अगाडि बढाइएको जोशीले स्वास्थ्यखबरलाई जानकारी दिए।
डिन डा जोशीका अनुसार हालसम्म मेडिकल कलेजका लागि ४३२ रोपनी जग्गा लिने काम भइसकेको छ। ४३२ रोपनी जग्गामध्ये ८४ रोपनी विश्वविद्यालयको नाममा, १९१ रोपनी जग्गा अस्पतालको नाममा केही समयअघि मात्र ल्याइएको र १५७ रोपनी जग्गा भने अस्पताल वरिपरी रहेको क्षेत्रमा क्याम्पसका लागि राखिएको छ।
'अहिले हामीसँग एक सय शय्याको अस्पताल छ। अब निकट भविष्यमा नै यसलाई ४ सय शय्यामा विस्तार गर्ने गरी काम अगाडि बढाइएको छ,' डिन डा जोशीले भने, 'अस्पतालसँगै शैक्षिक कार्यक्रमका लागि पनि आवश्यक कामहरु अगाडि बढाइरहेका छौं।'
४ सय शय्याको अस्पताल निर्माणको काम अन्तिम अवस्थामा पुगिसकेको र शैक्षिक गतिविधिका लागि नयाँ भवन बनेसकेपछि व्यवस्थापन गर्न सकिने उनले जानकारी दिए।
मेडिकल कलेजका लागि सरकारले चालु आर्थिक वर्षका लागि ४१ करोड रुपैयाँ छुट्टयाएको छ। तर उक्त रकममध्ये एक करोड मात्र निकासा भएको छ। बाँकी रहेको रकम निकासाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँगै अर्थ मन्त्रालयमा समेत भनिसकेको डिन डा जोशीले जानकारी दिए।
पहिलो चरणमा के-के शैक्षिक कार्यक्रम चलाउने तयारी?
मेडिकल कलेजमा पहिलो चरणमा स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरु चलाउने तयारी अगाडि बढाएको छ। यसका साथै स्नातक तह (ब्याचलर)मा पनि केही विषयहरुको पठनपाठन सुरु गर्न आवश्यक तयारी गरिएको जोशीले जानकारी दिए।
उनका अनुसार पिजीमा एमडिजिपी, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी र ब्चाचलर तहमा बिएमएलटी, मिडवाइफ्री, फिजियोथेरापी लगायतका कार्यक्रम चलाउने तयारी अगाडि बढाइएको छ। त्यसपछि भने एमबिबिएस, बिडिएस र स्नातकोत्तर तहमा अन्य विधाहरुका कार्यक्रम थप गर्दै लैजाने योजना रहेको छ।
मेडिकल कलेजमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि करिकुलम गाइडलाइन बनाउन सात सदस्यीय समिति बनाइएको पनि उनले जानकारी दिए। 'समितिले आवश्यक काम अगाडि बढाइरहेको छ,' उनले भने, 'यसका साथै अन्य सरोकारवालाहरुसँग पनि छलफल गर्दै अगाडि बढीरहेका छौं।'
पाठ्यक्रम विकाससँगै मेडिकल कलेजका अन्य काममा सहयोग गर्दै आइरहेका एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपालका अध्यक्ष डा पदम खड्का डडेल्धुरामा मेडिकल कलेज स्थापना हुनु सुदूरपश्चिम क्षेत्रकै लागि राम्रो कुरा रहेको बताउँछन्। उनका अनुसार सुदूरपश्चिमा पहाडी क्षेत्रका सात वटा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि डडेल्धुरा मेडिकल कलेजले ठूलो योगदान गर्ने छ।
'सुदूरपश्चिममा अहिले डडेल्धुरा मेडिकल कलेजको काम अगाडि बढीरहेको छ। यसका साथै गेटामा पनि अस्पताल सञ्चालनको काम अगाडि बढीरहेको छ। अंग्रेजी शब्द सापट लिएर भन्नुपर्दा सुदूरपश्चिमका लागि डडेल्धुरा 'गुड' हो भने गेटा 'बेटर' अनि दुवै संस्था हुनु 'वेस्ट' हो,' डा खड्काले भने।
डिन डाक्टर जोशील डडेल्धुरा मेडिकल कलेजका लागि डा खड्कासहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजेन्द्र वाग्लेसँग आवश्यक साथ र सहयोग लिइरहेका छन्।
डा वाग्लेले कर्णालीको अनुभवका आधारमा डडेल्धुरा मेडिकल कलेजलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए। 'सुदूरपश्चिममा ९ जिल्लामध्ये पहाडी सात जिल्लाहरु डडेल्धुरासहित बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला र बैतडीमा उपचारात्मक सहितका अन्य स्वास्थ्य सेवामा सहयोग गर्ने गरी मेडिकल कलेजको काम अगाडि बढाउनुपर्छ, डा वाग्लेले भने।
डडेल्धुरामा मेडिकल कलेज स्थापनाको कुरा डा गोविन्द केसीले २०७५ सालमा अनसनका क्रममा माग राखेपछि अगाडि बढेको हो। २०७५ साउन १० गते सरकराले डा केसीसँग डडेल्धुरा मेडिकल कलेज स्थापनासहित ९ बुँदे सहमति गरेको थियो। त्यसपछि भदौमा सरकारले ६ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसयता मेडिकल कलेज स्थापनाको काम निकै सुस्त गतिमा भइरहेको छ।
पछिल्लो समयमा भने कामले केही गति लिइरहेको डिन डा जोशीले जानकारी दिए। उनका अनुसार शैक्षिक सत्र २०८०/८१ मा नै पठन पाठन सुरु गर्ने गरी काम अगाडि बढिरहेको छ।
'सरकारले आर्थिकसहित जनशक्ति र अन्य भौतिक तथा प्राविधिक सहयोग गर्ने हो भने छिट्टै डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आउने छ' उनले भने।