काठमाडौं- नविनयुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले स्वास्थ्यका कर्मचारी सरुवा र विदेश भ्रमणलाई व्यवस्थित बनाउने प्रतिवद्धता गरेका छन्।
मन्त्री बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारी सरुवामा भइरहेको मनपरी र विदेश भ्रमणमा पहुँचवालाले मात्र पाउने अवस्थामा सुधार गर्ने बताएका हुन्।
उनले स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको बाह्रै महिना सरुवा भइरहेको समस्यालाई तत्कालै समाधान गर्न आफू लागिपर्ने कुरामा जोड दिए।
‘स्वास्थ्य मन्त्रालय र माताहतका कार्यालयमा बाह्रै महिना सरुवा हुन्छ। कर्मचारीहरु सरुवा गर्न र सरुवा रोक्न भन्दै बाह्रै महिना मन्त्रालय र मन्त्रीका वरपर घुमिरहेका हुन्छन्। काम गर्दैनन्,' उनले भने, 'अब यसलाई रोक्नुपर्छ। यसलाई व्यवस्थित गर्नैपर्छ। यसलाई व्यवस्थित गर्न मैले २२ वर्ष अघि राज्यमन्त्री हुँदा बर्षको २ पटक मात्रै सरुवा गर्ने नियम बनाएको थिएँ। त्यसलाई लागू गर्छु।अब स्वास्थ्यमा सधैभरी सरुवा हुँदैन।’
मन्त्री बस्नेतले स्वास्थ्यमा पहुँचवाला कर्मचारीहरु मात्रै पटक पटक विदेश भ्रमणमा जाने गरेको भन्दै त्यसलाई पनि रोक्ने बताएका छन्। उनले पहुँच विहीन र दुर्गमका कर्मचारीलाई अवसर दिनुपर्नेमा जोड दिँदै भने, 'कहिले पनि अवसर नपाएका र पहुँच भएका दुर्गमका कर्मचारीले अवसर पाउनु पर्छ। पहुँच हुने र मन्त्रालय वरिपरी घुम्नेले मात्र अवसर पाउने कुरामा करेक्सन हुन्छ।'