काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय र अस्पतालहरुमा धेरै उपकरणहरु प्रयोगमा नआइ थन्किरहेको भन्ने गुनासो आएको भन्दै ती उपकरणहरुको विवरण संकलन गर्न निर्देशन दिएका छन्।
मन्त्री बस्नतेले पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात दिन भित्र प्रयोगमा नआएका उपकरणहरुको सबै विवरण संकलन गरेर बुझाउन निर्देशन दिएका हुन्।
मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
'स्वास्थ्यमा धेरै उपकरणहरु किनेर त्यसै प्रयोगमा नल्याइ राखिएको छ। अब ती उपकरणहरु कहाँ कहाँ छन् त्यो खोजी गर्दै प्रयोगमा ल्याउनुपर्छ,' मन्त्री बस्नेतले भने, 'एक साताभित्र ती सबैको विवरण ल्याउनुहोला। त्यसपछि आवश्यकताको पहिचान गरेर प्रयोगमा ल्याइने छ।'
स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ थियो। मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्यूममा भए पनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाए।