काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ मन्त्रीका रुपमा मोहन बस्नेत नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त बस्नेतले बिहीबार मन्त्रीको सपथ खाँदै छन्। सपथपछि बस्नेत रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन्। बस्नेत २२ वर्षपछि पुन:स्वास्थ्य मन्त्रालयमा नेतृत्वदायी भूमिकामा प्रवेश गर्न लागेका हुन्।
२२ वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रुपमा प्रवेश गरेका थिए। २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए। त्यतिबेला स्वास्थ्य मन्त्री भने सरदसिंह भण्डारी थिए। बस्नेत २०५८ साल कात्तिक २ गते स्वास्थ्य राज्यमन्त्रीका रुपमा मन्त्रालयमा प्रवेश गरेका थिए।
त्यतिबेला उनले मन्त्रालयमा झण्डै एक वर्ष काम गर्ने मौका पाएका थिए। २०५९ साल असोज १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई पदमुक्त गरेसँगै बस्नेतको कार्यकाल पनि सकिएको थियो।
२२ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ। तत्कालिन समयमा रहेका रोगको भारको तुलानामा अहिले नयाँ नयाँ रोग तथा समस्याको भार छ भने स्वास्थ्य प्रणाली र संरचनामा पनि परिवर्तन आइसकेको छ। देशमा नयाँ संविधानसँगै संघीय संरचना अनुसार काम अगाडि बढीरहेको छ।
नवनियुक्त मन्त्री बस्नेतले २२ वर्षपछि स्वास्थ्यको जिम्मेवारी सम्हाल्दै गर्दा परिवर्तित समयमा आफूलाई कसरी प्रस्तुत गर्छन् त्यो भने हेर्न बाँकी नै छ।
बस्नेतले सिन्धुपाल्चोक क्षेत्र–२ निर्वाचित भएपछिको एक भेटमा आफूले भौतिक पुर्वाधार दाबी गर्ने नपाए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जाने बताएका थिए। पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणा निकट रहेका बस्नेतले रोजेकै स्वास्थ्य मन्त्रालय पाएका छन्।
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए। हालसम्म चुनाव लडेका उनले एउटामा चुनाव जित्ने र अर्को हार्ने गरेको देखिन्छ।
०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५१ मा टिकट नै पाएनन्। ०५६ मा टिकट पाएका बस्नेत बोहरालाई नै हराएर सांसद बने। ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन्। ०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भए। २०७४ मा भने उनले चुनाव पुनः हारे। उनी केही महिनाअघि चर्चामा रहे तर मन्त्री भएनन्।
तर अहिले चर्चा नै नभई एकै पटक मन्त्रीमा नियुक्त भए। राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित तीन जनलाई बिहिबार ३ बजे सपथ गराउने तय भएको छ।