काठमाडौ– एमालेसँगको सत्ता गठवन्धन भत्केर नेपाली काग्रेससँग सहकार्य भए लगत्तै मन्त्री बन्ने चर्चामा रहेकामध्ये एक थिए केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पटक मन्त्रीपरिषद् विस्तार गर्दा पनि उनी अटाएनन्। तर बुधबार नवौ पटक भएको मन्त्रीपरिषद विस्तारमा बस्नेतले आफूले रोजेकै मन्त्रालय पाएका छन्।
बस्नेतले सिन्धुपाल्चोक क्षेत्र–२ निर्वाचित भएपछिको एक भेटमा आफूले भौतिक पुर्वाधार दाबी गर्ने नपाए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जाने बताएका थिए। पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणा निकट रहेका बस्नेतले रोजेकै स्वास्थ्य मन्त्रालय पाएका छन्। उनी यसअघि २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए।
त्यही कारण उनले आफू स्वास्थ्यमै जाने बताएका थिए। स्वास्थ्य क्षेत्रको अनुभव पनि भएका कारण उनले उक्त मन्त्रालय दाबी गरेका थिए। यसअघि उनी सरकारको प्रवक्ता र सुचना तथा सञ्चारमन्त्री समेत भइसकेका थिए। उनी तेस्रो पटक मन्त्री भएका छन्।
ह्याकुल्लाको चर्चा देखि क्षेत्र फेरेर ‘कमब्याक’ सम्म
२०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा उम्मेदबार थिए। तत्कालीन समयमा उनी सञ्चारमन्त्री रुपमा थिए। उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेको थियो। उक्त क्षेत्रमा माओवादी केन्द्रका नेता अग्नी सापकोटा उम्मेदवारका रुपमा मैदान थिए। २०७४ सालको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा र बस्नेतबीचमा ‘ह्याकुल्लाले पेल्ने’ शब्द निकै चर्चित भयो। उक्त निर्वाचनमा बस्नेत पराजित भए। वाम गठवन्धनको उम्मेदवा हुँदै उनी सभामुखसम्म भए। बस्नेत पाँच वर्ष संसद बाहिरै बसे।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाली काग्रेस र माओवादी केन्द्रले सहकार्य गरेर उम्मेदवार उठाउने भए। आफू उम्मेदवार हुँदै आएको सिन्धुपाल्चोक–१ उनले दाबी गरे पनि पाएनन्। सत्ता गठवन्धनको भागबन्डामा उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्रविहीन जस्तै हुन लागेका थिए। उनलाई सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव गर्यो। उनी यो चुनौती लिन तयार भए। उक्त क्षेत्रमा दुई पटक निर्वाचित भएका नेकपा एमालेका शेरबहादुर तामाङ उम्मेदवार थिए।
एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ उक्त क्षेत्रमा तेस्रो पटक जितेर आफ्नो हाट्रिक पूरा गर्ने दाउमा थिए। तर उनलाई बस्नेतले ब्रेक लगाउदै सांसदको रुपमा प्रतिनिधि सभामा प्रवेश गरे। उनले आफूमात्र जितेनन् सत्ता गठवन्धनको उम्मेदवार रहेका माओवादीका उम्मेदवार माधव सापकोटा सुवोधलाई पनि जित हात पार्न सहयोग गरे। योसँगै सिन्धुपाल्चोकको दुवै क्षेत्र सत्ता गठवन्धनका उम्मेदवारले जिते।
बस्नेतको इतिहासः हार–जित उस्तै
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए। हालसम्म चुनाव लडेका उनले एउटामा चुनाव जित्ने र अर्को हार्ने गरेको देखिन्छ।
०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५१ मा टिकट नै पाएनन्। ०५६ मा टिकट पाएका बस्नेत बोहरालाई नै हराएर सांसद बने। ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन्। ०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भए। २०७४ मा भने उनले चुनाव पुनः हारे। उनी केही महिनाअघि चर्चामा रहे तर मन्त्री भएनन्।
तर अहिले चर्चा नै नभई एकै पटक मन्त्रीमा नियुक्त भए। राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित तीन जनलाई बिहिबार ३ बजे सपथ गराउने तय भएको छ। बस्नेतसँगै नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ र डिगबबहादुर लिम्वुले पनि मन्त्रीको सपथ लिदै छन्। गुरुङ कानुन र लिम्वु युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।