काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने बताएका छन्।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य जारी गरी पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सहरुको सल्लाहमा दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराएको र उक्त उपचार खर्च सरकारको कोषबाट नभई पौडेल आफैंले व्यहोर्ने जनाएका छन्।
यसअघि विशिष्ट व्यक्तिहरुको उपचार खर्च सरकारले व्यहारेको भन्दै आलोचना हुँदै आएको छ। राष्ट्रपति पौडेल पनि दिल्ली उपचारका लागि गएपछि विभिन्न टीकाटिप्पणी भएको थियो। पौडेल दिल्लीमा उपचार सकेर आइतबार राति काठमाडौ फर्केका छन्।
यसअघि कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले बेहोर्नुपर्ने बताएका थिए। सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताएका थिए
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुन नहुने बताएका थिए।