जलौका चिकित्सा आयुर्वेदको पंचकर्म चिकित्सा अन्तर्गतको रक्तमोक्षण विधा अन्तर्गत पर्ने पद्धति हो। यो रक्तमोक्षण रोग रहेको स्थान वा रोगको मुल स्थानबाट रोगको कारण बनिरहेको वा उक्त स्थानमा रहेको अशुद्द रगतलाई शरीरबाट निकाल्ने पद्धति हो। रक्तमोक्षण अन्तरगत जलौका विविध रोगहरु विशेषत छालासम्बन्धी समस्या, कपाल झर्ने समस्या, हाडजोर्नीका समस्या गाउटी अर्थाईटिस लगायतका समस्याहरुमा अत्यन्त लाभदायक पद्धति हो।
मानव चिकित्सा प्रवर्द्धन र संरक्षणको इतिहासमा आयुर्वेद चिकित्सा पद्धतिको वैदिक कालदेखि नै विभिन्न कालखण्डमा परिमार्जन र परिष्कृत हुँदै आजको विज्ञान र प्रविधिको युगमा आइपुगेको छ। आयुर्वेद चिकित्सा पद्धतिको विकासक्रममा रक्तमोक्षण चिकित्साको परिकल्पना र उपचारमा प्रयोगको वर्णन आचार्य सुश्रुतले गर्नुभएको हो। आचार्य सुश्रुतलाई शल्यचिकित्साको पिता मानिन्छ।
परापूर्वकालमा जुकासँग अलाबु आदि साधनहरुको प्रयोगद्वारा रोगको स्थानबाट रगत निकालेर रोगलाई निको पारिने गरिन्थ्यो।
जलौका चिकित्साको इतिहास लामो समयको भएता पनि हाल नेपालमा जलौका चिकित्साको उपचारका लागि आयुर्वेद चिकित्सकहरुले नै कम प्रयोग गरिएको पाइन्छ। जलौका चिकित्सा अत्यन्त सरल सहज रुपद्वारा गर्न सकिने कुनै दुश्प्रभावरहित सुरक्षित र अत्यन्त प्रभावकारी उपचार पद्धति मानिन्छ।
आयुर्वेदमा सविष र निर्विष गरि दुई प्रकारका जलौका अर्थात जुकाको वर्णन गरिएको छ। जलौका कर्मको लागि निर्विष जुकाको मात्रै प्रयोग गरिन्छ।
जलौका कर्म सामान्य सेरोलोजिका रगत परीक्षण: प्लेटलेट काउण्ट, मधुमेहको जाँच पश्चात् गराईन्छ। सामान्यतया एकपटकको जलौका कर्मको अवधि एक घण्टाको हुने गर्दछ।
रोग र स्थान हेरेर औसतमा एक जुकाको मद्धतद्वारा १० देखि १५ मिलिलिटर रगत चुसाईन्छ। जुकाले रगत चुस्दै गर्दा जुकाको र बिरामीको उचित ध्यान राख्नुपर्ने हुन्छ।
जुकाले रगत चुसिसकेपछि उक्त स्थानमा जुकाले बनाएको घाऊको एसे्प्टिक ड्रेसिङ गर्नुपर्दछ भने जुकाले चुसेको सम्पूर्ण रगतलाई बान्ता गराऊनु पर्दछ। यदि जलौकाको ऊचित तरिकाले बान्ता नगराएको अवस्थामा जुकालाई ईन्द्रमद नामक रोग लाग्ने भनेर आयुर्वेदमा बताईएको छ।
वैदिककाल वा संहिताकालमा विकसित आयुर्वेदको जलौका चिकित्सा पद्धति प्रवर्द्धन एवं जलौकाको चिकित्सामा उचित प्रयोग नेपाल जस्तो आफ्नै मौलिक एवं परम्परागत चिकित्सा पद्धति अपनाउने राष्ट्रको रुपमा आफूलाई साबित गराउने तर्फ ध्यान दिनुपर्दछ। साथै हाम्रो पुर्विय सभ्यता चिकित्सा पद्धतितर्फ विश्वमा आकर्षण बढिरहेको अवस्थामा जलौका जस्ता विभिन्न उपचार पद्धति मार्फत नेपालमा स्वास्थ्य पर्यटनको दैलो पनि खोल्न सकिने सम्भावना छ।
(लेखक आयुर्वेद चिकित्सक हुन्।)