काठमाडौं - वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना बिरामी कुरुवा घाइते भएका छन्। लगातारको वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा चार जना कुरुवा घाइते भएका हुन्।
तीन जना महिला र एक जना पुरुष सामान्य घाइते भएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए।
उनले भने, ‘कुरुवा बस्ने घर माथिको छानो र इट्टाको रेलिङ खसेको हो। पहिले टिन बजारियो। अनि इट्टा खस्यो। हिजोदेखि पानी पर्दा छानो र इट्टा खसेको रहेछ।’
एक जना कुरुवाको टाउकोमा चोट लागेका कारण सिटि स्क्यान गर्न लागेको उनले जानकारी दिए। यद्यपि घाइते चार जनाको अवस्था नै गम्भीर नरहेको डा पौडेलले बताए।