स्वास्थ्य व्यवसायी परिषदले यही वैशाख १३ गते छैठौँ नाम दर्ता परीक्षा (लाइसेन्स) सञ्चालन गरेको थियो। जसमा ब्याचलर तर्फ ४३ दशमलव २९ र मास्टर्स तर्फ ३२ दशमलव १८ प्रतिशत स्वास्थ्यकर्मी उत्तीर्ण भए। ब्याचलरमा तीन र मास्टर्समा पाँच गरी आठ वटा विषयमा उत्तीर्ण हुने स्वास्थ्यकर्मीको संख्या शून्य प्रतिशत छ। परीक्षाको यो नतिजालाई परिषदले कसरी विश्लेषण गरेको छ? स्वास्थ्यकर्मीको वृत्तिविकासका निम्ति परिषदले कस्तो योजना बनाउँदैछ लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीसँग गरेको कुराकानी:
स्वास्थ्य व्यवसायी परिषदले यही फागुन १३ गते लाइसेन्स परीक्षा लिएको थियो। यो लाइसेन्स परीक्षाको नतिजालाई कसरी विश्लेषण गर्नु हुन्छ?
फागुन १३ गते हामीले छैठौं नाम दर्ता परीक्षा सम्पन्न गरेका छौँ। यसको नतिजालाई हेर्दा समग्रमा ४२ दशमलव २६ प्रतिशत उत्तीर्ण भएको देखिन्छ। विषयगत रुपमा केही राम्रो नतिजा पनि देखिन्छ। ब्याचलर तर्फ ४३ दशमलव २९ र मास्टर्स तर्फ ३२ दशमलव १८ प्रतिशत उत्तीर्ण भएका छन्। केही विषयमा नतिजा राम्रो देखिएपनि केहीमा सबै अनुत्तीर्ण पनि छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पास आउट भएका सहभागी १७ जना नै सबै उत्तीर्ण भएका छन्। यसले विश्वविद्यालय कहाँ पढ्यो ? कसरी पढ्यो ? विद्यार्थीले कति मेहनत गरे ? कसरी पढाइयो भन्ने विषयले पनि निर्धारण गर्यो होला। केही विषयमा शून्य प्रतिशत पास छन्। प्रशिक्षार्थी नै एक जना दुई जना छन् भने उनीहरु सबै फेल हुँदा यस्तो देखिन्छ।
ब्याचलर तर्फको तीन र मास्टर्स तर्फको पाँच वटा विषयमा उत्तीर्ण प्रतिशत शून्य छ। किन यस्तो नतिजा आयो?
धेरै पटक परीक्षामा सहभागी भएका विद्यार्थीहरु हुन्। पटक पटक परीक्षा दिएर बाँकी रहेका विद्यार्थीहरु हुन्। त्योमध्येबाट पनि ४२ प्रतिशत पास हुनु भनेको राम्रो पनि हो।
तर पनि उनीहरु भनेको एउटा विश्वविद्यालयबाट पढेर स्वास्थ्यकर्मी भइसकेका व्यक्तिहरु हुन्। परिषदले लिने लाइसेन्स परीक्षामा ५० प्रतिशत पनि उत्तीर्ण नहुनुलाई कसरी राम्रो मान्न सकिन्छ?
परिषदको उद्देश्य भनेको आफैँमा विश्वविद्यालयबाट पास भएर आएका विद्यार्थीहरुलाई रोक्ने भन्ने होइन। तर कम्तीमा मानव स्वास्थ्यसँग जोडिएको विद्या भएकाले एउटा न्यूनतम मापदण्ड र ज्ञान भएका व्यक्तिलाई काम गर्न लाइसेन्स दिनुपर्छ हाम्रो मुख्य उद्देश्य हो। त्यसमा कतिपय नेपालकै विश्वविद्यालयमा पढेका र यही उत्पादन भएका जनशक्तिमा त्यति धेरै समस्या नहोला। तर कतिपय नेपाल बाहिर पढेर आउने जनशक्तिमा केही समस्या पनि छ। तर यो भन्दैमा सबैमा समस्या छ भन्ने होइन। धेरै राम्रो पनि छ। तर केहीमा समस्या छ। ६ पटक ७ पटक परीक्षा दिँदा पनि पासै नहुने समस्या पनि छ।
म रजिष्ट्रारको रुपमा परिषदमा आएको दुई महिना हुन लाग्यो। यो महिनाको अन्तिममा पिसिएल लेभलको छैठौँ नाम दर्ता परीक्षा छ। यो परीक्षापछि एक पटक सबै विषयको पाठ्यक्रमको बारेमा विज्ञहरुसँग छलफल गर्छौ। हामीले हाल ४५ वटा विषयवस्तुको परीक्षा लिन्छौं। यो सबै विषयवस्तुको बारेमा विज्ञसँग छलफल गर्ने योजना छ। थोरै पास हुने विषयवस्तुको पाठ्यक्रममै कमीकमजोरी छ की ? जसले गर्दा विद्यार्थीहरु निकै कम पास भइरहेका छन्। अझ यो भन्दा अघिको पिसिएल इन डेन्टल हाइजिनिस्टमा जम्मा २ प्रतिशत पास भएका रहेछन्। म आइसकेपछि यो विषयमा अंकभारको केही समस्या देखेको हुनाले अंकभार परिवर्तन गरेर परीक्षा लिदैछौ। परिषद आफैँले भन्दा पनि परीक्षाको सन्दर्भमा विज्ञहरुसँग छलफल गरेर हुने हो। प्रश्न विज्ञले बनाउने हो। मोडरेसन पनि विज्ञहरुले गर्ने हो। परिषदले समन्वय र पास भएर आउने विद्यार्थीहरुलाई प्रमाणपत्र मात्र जारी गर्ने हो।
स्वास्थ्य व्यवसायी परिषदको मुख्य उद्देश्य के हो ? यसले के के कामहरु गर्छन्?
स्वास्थ्य व्यवसायी परिषद ‘स्वास्थ्य व्यवसायी परिषद ऐन २०५३’ अनुसार गठिन एउटा स्वशासित संस्था हो। परिषद बोर्ड १३ जनाको हुन्छ। परिषद बोर्डले गरेका निर्णयहरु कार्यान्वयनका निमित्त रजिष्ट्रारको भूमिका महत्वपूर्ण हुन्छ। रजिष्ट्रार कार्यालय र कार्यकारी पद हो। परषदको आफ्नै भवन पनि छ। विभिन्न विश्वविद्यालय र सिटिइभिटी लगायतबाट स्वास्थ्य सम्बन्धी विषयहरु पढेर आएका चिकित्सकको नेपाल मेडिकल काउन्सिल, नर्सको नर्सिङ काउन्सिल, फार्मासिस्टको फार्मेसी परिषद र आयुर्वेद परिषद् बाहेकको ४५ वटा विषय हामी दर्ता गर्छौं। हाम्रो परिषदले निर्णय गरेर दर्ता प्रमाण पत्र दिन्छ। केही समयदेखि पिसिएल लेभलभन्दा माथि हाम्रोमा दर्ता हुने सबै विषयमो परीक्षा सञ्चालन गर्दै आएका छौँ। परीक्षामा पास हुनेलाई लाइसेन्स प्रमाणपत्र पनि दिन्छौ।
स्वास्थ्यकर्मीहरु यो परिषदमा दर्ता हुन किन आवश्यक छ?
हाम्रो परिषदको ऐनले नै परिषदमा दर्ता नभएका स्वास्थ्यकर्मी कसैले पनि अभ्यास गर्न नपाउने व्यवस्था गरेको छ। परिषदमा दर्ता भएका व्यवयासी (स्वास्थ्यकर्मी) ले जनताको उपचार, निदान र रोगको रोकथामका निम्ति अभ्यास गर्न पाउने व्यवस्था छ। नाम दर्ता प्रमाण पत्र नहुँदासम्म अभ्यास गर्न पाउँदैन।
कुनै स्वास्थ्यकर्मीहरुले परिषदमा दता नभई स्वास्थ्य अभ्यास गर्छन् भने उसलाई कस्तो किसिमको कारबाही हुन्छ?
यदी कसैले उजुरी गर्यो भने हामीले छानबीन गर्छौ। दर्ता गरेकै छैन र अभ्यास गरिरहेका छन् भने ती स्वास्थ्यकर्मी माथि छानबीन हुन्छ। यो सँगै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीले आचरण विपरित हुने कामहरु गर्यौ भने हामी आफैँ पनि कारबाही गर्न सक्छौ। स्वास्थ्यकर्मीहरुले गर्न नहुने आचरण विपरितका विभिन्न कामहरु ऐनमा उल्लेख गरिएका छन्। हामी कहाँ दर्ता छैन र कसैले उजुरी गरेको छ भने उनले गरेका गल्ती अनुसार हामी सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्छौ। मेरो आग्रह भनेको दर्ता नभएका सबै स्वास्थ्यकर्मीहरु परिषदमा आएर दर्ता हुनुहोस्।
परिषदको आगामी योजनाहरु के के छन्?
परिषदको सबै काम र पक्षहरुको मूल्यांकन गर्ने योजना छ। हाम्रो समस्या र सुधार गर्नुपर्ने पक्षहरु के के छन् भनेर मूल्यांकन गर्नुपर्नेछ। पहिलो वर्षमा के गर्ने, दोस्रो वर्षमा के गर्ने भन्ने जस्ता योजना बनाएर अघि बढ्ने सोच बनाएका छौँ।
परिषदको लाइसेन्स प्रमाणपत्र पाँच–पाँच वर्षको अवधिमा अद्यावधिक (नवीकरण) गर्नुपर्ने व्यवस्था छ। यो नवीकरणका लागि यही परिषद काठमाडौंमै आउनुपर्ने बाध्यता छ। दार्चुलामा रहेका एक स्वास्थ्यकर्मी नवीकरण गर्न यहाँ आउनुपर्ने बाध्यता छ। उहाँको लागि आउन जान समय र आर्थिक कति खर्च लाग्छ होला? यो समस्यालाई समाधान गर्ने मेरो प्रमुख प्राथमिकता हो। यो प्रणालीलाई अनलाइनमा विकास गर्न सकियो भने टाढाबाट आउनुपर्ने बाध्यता हटाउन सकिन्थ्यो। नयाँ व्यवसायी दर्ता हुँदा, परीक्षाका प्रणाली सबै अनलाइन नै छन्। हाम्रो परीक्षामा कागज प्रयोग हुँदैन। सबै परीक्षा अनलाइन र कम्प्युटरबाटै हुन्छ। विद्यार्थीले नागरिकता र प्रवेश पत्र मात्र लैजादा हुन्छ। तर नवीकरणलाई अनलाइन प्रणालीमाा लैजान सकिएको छैन। अब यसलाई पनि अनलाइनमा लैजाने योजना छ।