काठमाडौं- भारतीय कम्पनीले बनाएको कफ सिरप दुषित भएको भेटिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मंगलबार एक भारतीय कम्पनीले बनाएको दूषित कफ सिरप मार्शल टापु र माइक्रोनेसियामा भेटिएको हो।
अप्रिल ६ मा डब्ल्यूएचओलाई 'गुइफेनेसिन सिरप टीजी सिरप' नामको सिरप बारे रिपोर्ट गरिएको थियो। गत वर्ष यस्तै दूषित कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको समाचार आएपछि यो कुरा आएको हो।
पञ्जाबको क्यूपी फार्माकेम लिमिटेडमा बनेको उक्त सिरप हरियाणाको ट्रिलियम फार्माले मार्केटिङ गरेको हो।
डब्ल्यूएचओको अनुसार अहिलेसम्म उक्त सिरप बनाउने र मार्केटिङ गर्ने कम्पनीले डब्ल्यूएचओलाई उत्पादनको सुरक्षा र गुणस्तरको बारेमा ग्यारेन्टी दिन सकेका छैनन्।
उक्त सिरप छाति दुखाई र खोकी कम गर्न प्रयोग गरिने सिरप हो।
मार्शल टापुहरूबाट गुआइफेनेसिनका नमूनाहरू अष्ट्रेलियाको थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशनको गुणस्तर नियन्त्रण प्रयोगशालाहरूमा जाँच गरिएको थियो। जहाँ असामान्य मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलीन ग्लाइकोल फेला परेको हो।
विज्ञहरुका अनुसार डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल मानिसका लागि विषाक्त हुन्छ र सेवन गर्दा घातक हुन सक्छ।
डब्ल्यूएचओको अनुसार यो सिरपको प्रयोग बालबालिकाको लागि असुरक्षित रहेको र यसको प्रयोगले गम्भीर बिरामी वा मृत्यु हुनसक्ने बताएको छ। यसको प्रयोगले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन र मिर्गौलामा गम्भीर समस्या देखिने लाग्ने, मृत्यु हुने जस्ता असरहरू हुन सक्छन्।
यद्यपि, डब्ल्यूएचओले गुइफेनेसिन टिजीको उपभोगले कुनै बच्चाको ज्यान गएको भने देखाएको छैन।
डब्ल्यूएचओले जनतालाई उक्त उत्पादनको प्रयोग नगर्न र यदि गरेको भए तापनि स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन अनुरोध गरेको छ।
उक्त सिरप पश्चिमी प्रशान्त क्षेत्रका अन्य देशहरूमा पनि मार्केटिङ भएको हुन सक्ने डब्ल्यूएचओको अनुमान छ। त्यसकारण डब्ल्यूएचओले यी उत्पादनहरूबाट प्रभावित हुने सम्भावित देशहरू र क्षेत्रहरूको आपूर्ति श्रृंखलाहरूमा निगरानी बढाउन अनुरोध गरेको छ।
गत वर्ष दूषित औषधिहरूले गर्दा गाम्बिया, इन्डोनेसिया र उजबेकिस्तानमा तिन सय भन्दा बढी भन्दा बढी बालबालिकाहरू मृत्यु भएको थियो।
(एजेन्सीको सहयोगमा)