काठमाडौं- डा गाविन्द केसीले मेडिकल माफियाबाट चिकित्सा शिक्षा आयोगमाथि निरन्तर प्रहार भइरहेको बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समय चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
'लामो संघर्षपछि २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएको हो र त्यसै अन्तर्गत चिकित्सा शिक्षा आयोग स्थापना भएको हो। स्थापना भएयता आयोगले चिकित्सा शिक्षा सुधारका लागि निरन्तर काम गरिरहेको छ,' केसीले भनेका छन्, 'मेडिकल माफियाहरुले निरन्तर आयोग र त्यसका पदाधिकारीहरुमाथि निराधार भ्रम फैलाउने र आक्रमण गर्ने गर्दै आएका छन्।'
उनले पछिल्लो समय राजनीतिक दलका विद्यार्थी संगठनका नाममा आयोग परिसरमा गुण्डागर्दी र आगजनी भएको भन्दै त्यस्तो दण्डनीय अराजकताका लागि विधिको शासन भएको राज्यमा कुनै छुट हुनु नहुने बताएका छन्। तत्काल त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनअनुसार दण्डित गर्न उनले जिल्ला प्रशासन र नेपाल प्रहरीको ध्यानाकर्षण गराएका छन्।
यसैबीच आयोगले कार्यविधि पुर्याएर रितपुर्वक साझा प्रवेश परीक्षा सञ्चालन गरेकोमा बारम्बार त्यसलाई लिएर विभिन्न पक्ष अदालतमा जाने र शिक्षण संस्थाहरुको रुटिन नै खल्बलिने गरी मुद्दामामिला हुने अवस्थाप्रति पनि उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
'न्यायालयमा यस्ता विषय प्रवेश गरेपछि तिनको गम्भीरता बुझेर समयमै संवेदनशीलतापुर्वक फैसला दिनु न्यायालयको कर्तव्य बन्छ। न्यायालयले पनि छिट्टै यस्ता विषयलाई विषयविज्ञहरुको विज्ञतालाई सम्मान गर्दै किनारा लगाउनेछ भन्ने हाम्रो विश्वास छ,' उनले भनेका छन्।
साथै यस अगाडि आफूहरुसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न पनि उनले माग गरेका छन्। हाल उनी बिरामीको उपचारका लागि म्याग्दीमा छन्।