काठमाडौं- सर्पदंश औषधि उत्पादन गर्ने एक निजी कम्पनीले सरकारसँग १५ करोड रुपैयाँ अनुदान माग गरेको छ।
एन्टी-स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालि सुनसरीले उद्योगका लागि आवश्यक पर्ने भन्दै उक्त अनुदान रकम माग गरेको हो।
कम्पनीका अध्यक्ष लक्ष्मी प्रसाद फुँयालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै उद्योगका लागि आवश्यक पर्ने क्लिन रुम इक्यूपमेन्ट तथा मेशिनरी ल्याब इक्यूपमेन्टका लागि रकम अभाव भएको भन्दै उक्त कार्यका लागि पन्ध्र करोड ६ लाख तीस हजार चार सय रुपैयाँ उपलब्ध गराउन माग गरेका हुन्।
'हाल कम्पनीले सर्पदंश औषधी उत्पादन गर्नका लागि आवश्यक पर्ने ६९०० स्क्वायर फिटको भवन निर्माण कार्य गरेको साथै आवश्यक सर्प तथा घोडाका लागि समेत ठाउँ तयार पारेको र तत्काल सर्पदंश औषधि उत्पादन सुरु गर्न उक्त रकम आश्यक परेको हो,' मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ।
उक्त कम्पनी र स्वास्थ्य मन्त्रालयबीच कम्पनीबाट उत्पादन हुने औषधि खरिद लगायतका विषयमा सम्झौता भएको थियो। २०७९ असोज २ गते कम्पनीका अध्यक्ष फुँयाल र मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्ययले सम्झौतामा हस्ताक्षर गरेका थिए।
७ बुँदे सम्झौतामा वित्तिय सहुलियत तथा छुटको व्यवस्था सरकारले दिने भनिएको छ। तर कम्पनीले भने सिधै सरकारसँग आर्थिक सहयोग माग गरेको छ। कम्पनीबाट सिधै रकम माग भएपछि मन्त्रालय यस विषयमा छलफलमा जुटेको छ।
सम्झौतामा सरकारले कम्पनीबाट उत्पादित औषधि खरिद गर्ने, अन्य सहजीकरण गर्ने लगायतका विषय रहेको छ। सम्झौतामा आर्थिक अनुदान दिने विषय भने उल्लेख छैन। तर कम्पनीले भने आर्थिक अनुदान उपलब्ध गराउन भनेको छ।
यसअघि झलनाथ खनालको नाममा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल नाम परिवर्तन गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान)ले पनि सरकारसँग १९ करोडभन्दा बढी रकम लगेर खर्च गरिसकेको छ। तर प्रतिष्ठानले भेनम उत्पादनका लागि भने कुनै उपलब्धि भने हासिल गरेको छैन।
हेरौं एन्टी-स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिले अनुदान माग गरेको पत्र र सरकारसँग गरेको सम्झौता पत्र