काठमाडौं- संचालनको लामो समयपछि तिलगंगा आँखा प्रतिष्ठान दर्ता प्रक्रियामा गएको छ। नेपाल आँखा कार्यक्रमको कार्यकारणी समितीको निर्णय अनुसार तिलगंगा आँखा प्रतिष्ठान नामक १०० बेडको विशेषज्ञ आँखा अस्पताल दर्ताको लागि आवश्यक कागज पत्रसहित गत चैत्र २ मा पत्र पेश गरेको प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले जानकारी दिइन्।
स्वास्थ्य मन्त्रालयको आँखा स्वास्थ्य उच्च स्तरीय समितीलाई पत्र लेख्दै प्रतिष्ठानले अस्पताल दर्ताको लागि केही समय आवश्यक पर्ने भएकोले सो समयसम्मका लागि सहजिकरण गर्न आग्रह गरेको छ।
संस्थाले यस अघिनै तय गरिएका आँखा शिविर संचालन तथा प्रतिष्ठानमा दैनिक रुपमा करिब १२०० बिरामीको उपचार तथा शल्यक्रिया सुचारु गर्न अति आवश्यक उपकरण, तालिम तथा कामको लागि भिषा सिफारीस, लेन्स बनाउन चाहिने अति आवश्यक कच्चा पदार्थको अभावले नियमित सेवा संचालनमै असर पर्न जान लागेको भन्दै अस्पतालको स्विकृती प्राप्त नहुन्जेलको लागि आवश्यक सहजिकरणको लागि अनुरोध गरेको हो।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान २०५२ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आँखा स्वास्थ्य सेवामा काम गर्दै आइरहेको छ। तिलगंगा आँखा प्रतिष्ठान एपेक्स बढी फर आई हेल्थको सदस्यको रुपमा काम गर्दै आइरहेका थियो।