काठमाडौं - नेपाल जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रूणा झाले स्वास्थ्य क्षेत्रमा रहेको विकृति क्यान्सरभन्दा पनि घातक भएको बताएकी छिन्। एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपालद्वारा शुक्रबारदेखि काठमाडौंमा आयोजित दशौँ राष्ट्रिय कन्फेरेन्समा उनले स्वास्थ्य क्षेत्रको विकृति क्यान्सर रोगभन्दा पनि डरलाग्दो र हानिकारक भएको बताइन्।
कार्यक्रममा उनले अरबौँको अस्पताल खोल्ने व्यवस्थापनलाई प्रश्न समेत गरेकी छन्। "अरबौँ लगानीमा स्थापना भएका अस्पतालले कमिसन आउने र लगानी पनि गर्न नपर्ने गरी प्रयोगशालाको काम बाहिर नमुना पठाएर टार्न खोज्ने हो भने सरकारले त्यस्ता अस्पताल खोल्नमा कडाइ गर्नुपर्छ", उनले भनिन्।
उनले प्याथोलोजिस्टको दरबन्दी प्रत्येक जिल्ला अस्पताल सम्म पुराउनुपर्ने, केन्द्र तहमा क्यान्सर हेर्ने विशिस्ट प्रयोगशाला हुनुपर्ने र परिक्षणको लागी बाहिर जाने नमुना सक्दो कम गर्नु पर्नेमा जोड दिएकी छिन्।
शुक्रबारबाट सञ्चालन भईरहेको दुई दिने राष्ट्रिय कन्फेरेन्सको पहिलो दिन सभासद तथा स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्राडा चन्दा कार्कीले स्वास्थ्यकर्मीको जस्तो इमान्दरिता सबै क्षेत्रमा आवश्यक रहेको बताइन्। स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानको खाँचो रहेकोमा उनको जोड थियो।
प्याथोलोजिमा विकास आधुनिक चिकित्सामा मार्गनिर्देशन नारा रहेको उक्त कार्यक्रममा क्यान्सर सम्बन्धी मात्र ९३ वटा शैक्षिक पत्र प्रस्तुत गरिएको थियो। साथै राष्ट्रिय र अन्तराष्टिय विज्ञ प्रोफेसरहरुले रगत, छाला, मस्तिष्क, हड्डी लगायतमा देखिने क्यान्सरको विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा वरिष्ठ प्याथोलोजिस्ट डा इश्वरी लाल श्रेष्ठलाई सम्मान गरिएको छ। प्याथोलोजिस्टको उचित दरबन्दी कायम गर्ने र आधुनिक तरिकाले प्रयोगशालाको परीक्षण नेपालमै गर्ने तर्फ उचित ध्यान दिन नसकेको विज्ञहरुको गुनासो छ।