धनगढी- डडेल्धुरा आलीताल गाउँपालिका वडा नम्बर ३ की लक्ष्मी बोहराको पेट दुख्ने समस्या भएपछि धनगढीको केजी अस्पताल पुगिन्।
अस्पताल भर्ना हुँदा उनको पित्तथैलीमा पत्थरी देखिएको थियो। चिकित्सक दिपक सिंहले सजिलै शल्यक्रिया गर्न सक्ने भन्दै अस्पताल भर्ना गराए।
तर लक्ष्मीको पित्तथैलीमा रहेको पत्थरी निकाल्न पेटमा प्वाल पारेपछि जोखिमपूर्ण हुने भन्दै चिकित्सकहरुले त्यसै छाडेक छन्। यही ५ गते अस्पताल भर्ना भएकी बोहराको उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्न नसक्ने भन्दै छाडेको छोरा लक्ष्मणले बताए।
लक्ष्मीलाई बिहीबार साँझ अप्रेशन थियटरमा लगिएको तर डाक्टरले पेटमा प्वाल पारेपछि शल्यक्रिया गर्न नसकिने भन्दै औषधि दिएर घर लैजान भनेका थिए।
‘अस्पतालले आमाको यहीँ उपचार भइहाल्छ। अन्त लैजानुपर्दैन भनेर मैले अप्रेशन गर्न मानेको हुँ, तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन, यो भन्दा अगाडि रिस्क छ भनेर घर लगेर जाउ। दुई महिनापछि काठमाडौं वा अरु ठाउँको राम्रो अस्पतालमा देखाऊ भन्नुभयो’, बोहराले भने।
अधुरै अप्रेसनपछि अहिले समस्या भइरहेको लक्ष्मीले बताइन्। उनले भनिन –‘अप्रेसन गर्छु भनेर थियटरमा लगेको थाहा छ। मैले त अप्रेसन भइसकेको होला भन्ने सोचेको थिएँ तर, अहिले पनि पेट दुखिरहेको छ। तीन ठाउँ प्वाल पारेको छ। स्वास्थ्यमा थप समस्या आएको छ।’
बोहराले आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा समस्या देखिए अस्पतालले जिम्मेवारी लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन्।
उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका व्यवस्थापक सर्जन डा सिंहले दूरबिन विधिबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए।
‘उहाँ पेट दुख्ने समस्या लिएर आउनुभएको थियो। पित्तथैलीमा पत्थरी देखिएपछि उहाँहरुकै सहमति लिएर दूरबिन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौं तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिम हुने भएकाले औषधि दिएर ७÷८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौं’, डा सिंहले भने।
बिरामीकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा लैजाँदा हुन्छ कि हुदैन भनेर जिज्ञासा राखेपछि काठमाडौं वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए।
‘उहाँहरुले नै जिज्ञासा राखेपछि हामीले व्यवहारिक रुपमा उहाँलाई लैजाँदा हुन्छ भनेर सल्लाह दिएका हौं। तर तत्काल ज्यानको जोखिम हुने भएकै कारण (शल्यक्रिया) गर्न नसकिने भनिएको हो। यसमा अन्यथा केही होइन’, डा सिंहले भने।