काठमाडौं- निजामती कर्मचारी अस्पतालमा बिरामीलाई चाहिने १५२ प्रकारका औषधि अभाव रहेको पाइएको छ।
सेवाग्राहीबाट माग भएका १५२ प्रकारका औषधि फार्मेसीमा उपलब्ध नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
क्यान्सर प्रतिरोधी, मुटुसम्बन्धी, उच्च रक्तचाप, उच्चतहको एन्टिबायोटिकलगायत अत्यावश्यक औषधि नभएको अस्पताल फार्मेसीले उल्लेख गरेको छ।
यस्तै अस्पतालले २१३ प्रकारका सर्जिकल आइटमको आपूर्ति गर्न लागत अनुमान तथा बोलपत्रको सूचना प्रकाशन गरेकोमा १५२ आइटम, अंकोलोजी मेडिसिनतर्फ १३८ प्रकारका औषधि खरिद गर्न बोलपत्रको सूचना प्रकाशन गरेकोमा ५० आइटम मात्र र अन्य ३५० प्रकारका औषधि खरिद गर्न बोलपत्र आह्वान गरेकोमा २३९ को मात्र सम्झौता भएको छ।