काठमाडौं- नेपाल एपीएफ अस्पतालले सार्वजनिक खरिद नियमावली विपरीत औषधिजन्य सामाग्री खरिद गरेको पाइएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ। त्यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ (१क) अनुसार २५ लाख रुपैंया सम्म लागत अनुमान भएको औषधिजन्य मालसामान सोझै खरिद गर्न सकिने व्यवस्था छ।
तर नेपाल एपीएफ अस्पतालले सो सीमा नाघेर २ करोड २ लाख ६५ हजारका विभिन्न औषधि तथा औषधिजन्य सामाग्री ११ आपूर्तिकर्ताबाट सोझै खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
अस्पतालको लागि आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू प्रतिस्पर्धात्मक विधिबाट खरिद गर्नुपर्ने महालेखाको सुझाव छ।
यस्तै अस्पतालमा ३ लाख ४४ हजार अमेरिकी डलर मूल्यको सिटिस्क्यान मेसिन १ थान र २७ लाख ७५ हजार रुपैयाँ मूल्यका रक्तचाप मनिटरिङ्ग लगायत ६ प्रकारका स्वास्थ्य उपकरण उपयोगविहीन अवस्थामा रहेको पाइएको छ।
अस्पतालले वर्ष सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार, पूर्व कर्मचारीतर्फ १ लाख २६ हजार ९८६ र सर्वसाधारणतर्फ १३ हजार ७८५ समेत १ लाख ४० हजार ७७१ जनालाई बहिरङ्ग, शल्य चिकित्सा, एक्सरे, प्रयोगशाला परीक्षणलगायत विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
अस्पतालले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार, पूर्व कर्मचारीलाई सबै सेवा र औषधि निःशुल्क उपलब्ध गराएको छ।