काठमाडौं- स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म २० प्रतिशत नागरिक मात्र जोडिएका छन्। स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भएपनि हालसम्म २० प्रतिशत अर्थात ५९ लाख ८८ हजार नागरिक मात्र सहभागी भएका छन्।
२०७८ सम्म सहभागी ४५ लाख ७२ हजार ९८९ मध्ये २०७९ मा २९ लाख ८६८ ले मात्र बीमा नवीकरण गराएका छन्। बीमा योजना कार्यक्रममा २०७९ सम्म ६ अर्ब ५६ करोड ८० लाख प्रिमियम प्राप्त भएकोमा २०७९ मा २ अर्ब ४५ करोड ३७ लाख थप भई यो ९ अर्ब २ करोड १७ लाख प्राप्त भएको छ।
बीमितले स्वास्थ्य सेवा लिएको बिल भरपाईको आधारमा बोर्डले गत वर्ष ९ अर्ब ९२ करोड ७ लाख समेत गरी हालसम्म २४ अर्ब ३१ करोड ७१ लाख शोधभर्ना भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा १५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको देखिएकोले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने देखिएको महालेखाको तथ्यांङकमा उल्लेख छ।