काठमाडौं - काठमाडौं उपत्यकाका १३ हजार ६२२ औषधि पसलले मात्र औषधि व्यवस्था विभागमा नवीकरण गरेको पाइएको छ।
महालेखापरीक्षकको हालै सार्वजनिक ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा उपत्यकाभित्र १५ हजार ५६० औषधि पसल दर्ता छन्। जसमध्ये १३ हजार ६२२ पसलले मात्र नवीकरण गरेको पाइएको हो। नवीकरण नगराउने बिक्रेतालाई कानून बमोजिम कारबाही गरिनुपर्ने महालेखा परीक्षकको सुझाव छ।
यस्तै, यो वर्ष १८८ जना फर्मासिस्ट (औषधि बिक्रेता) निलम्बनमा परेका छन्। दुई वटा उद्योगको उत्पादन समेत बन्द गराएको प्रतिवेदनमा उल्लेख छ।
विभागले यो वर्षसम्म दर्ता भएका ३३ हजार ४७४ औषधि बिक्रेता र १८७ स्वदेशी उद्योग तथा २७० औषधि आयातकर्तामध्ये ३ हजार ६६३ औषधि बिक्रेता र ७२ स्वदेशी उद्योगको अनुगमन गरेको थियो। ६३४ औषधिको नमूना परीक्षण, ३२ उद्योगको प्रयोगशाला पनि परीक्षण गरिएको छ।
उक्त अनुमगनका आधारमा १८८ औषधि बिक्रेतालाई निलम्बन गरिएको प्रतिवेदनमा उल्लेख छ। दर्ता भएका फर्मको तुलनामा न्यून संख्यामा मात्र अनुगमन भएको पाइएको छ।