काठमाडौं- चीनमा बर्ड फ्लुको दुर्लभ प्रकार एच३एन८ बाट पहिलो पटक मानिसको मृत्यु रेकर्ड गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चीनकी एक महिला यो संक्रमणबाट मर्ने पहिलो व्यक्ति बनेकी छिन्।
मानवजातिमा दुर्लभ मानिने यो स्ट्रेन मानिसहरू बीच फैलिएको देखिएको छैन। तर, डब्लुएचओले मंगलबार राती रिपोर्ट जारी गर्दै भनेको छ, ‘ग्वाङडोङको दक्षिणी प्रान्तस्थित ५६ वर्षीय महिला एवियन इन्फ्लुएन्जाको सब–टाइप एच३एन८ संक्रमित बनेकी छिन्। उनी एच३एन८ बाट संक्रमित हुने तेस्रो व्यक्ति हुन्।
ग्वाङडोङ प्रान्तको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गत महिनाको अन्त्यमा तेस्रो संक्रमणको सूचना प्रवाह गरेको थियो। तर, महिलाको निधनको विवरण सार्वजनिक गरेको थिएन। डब्लुएचओले भनेको छ, 'संक्रमित महिला पहिलेदेखि नै आन्तरिक रोगसँग लडिरहेकी थिइन। उनी जीवित कुखुरासँग सम्पर्कमा आएपछि यो अवस्था बनेको हो।' चीनमा ‘बर्ड फ्लु’ समान्य मानिन्छ। किनभने यहाँ ‘एभियन फ्लु’ को भाइरस पोल्ट्री र जंगली पक्षींमा अत्याधिक फैलिरहेको हुन्छ।
मृत महिलाले ‘वेट मार्केट’ को भ्रमण गरेकी थिइन
डब्लुएचओका अनुसार संक्रमित महिलाले वेट मार्केट (चीन र दक्षिणपूर्वी एसियामा ताजा मासु, माछु र अन्य उत्पादन बेच्ने बजार) को भ्रमण गरेकी थिइन। वेट बजारबाट प्राप्त सूचनाअनुसार यहाँ एन्फ्एन्जा ए (एच३) को सकारात्मक रिपोर्ट प्राप्त भएको थियो। डब्ल्युएचओले सुझाव दिँदै भनेको छ, ‘यो नै संक्रमणको श्रोत हुनसक्छ। यद्यपि एच३एन८ मानवमा दुर्लभ छ। यो पक्षींमा सामान्य मानिन्छ।’
संक्रमित महिलाबाट कसैलाई नसरेको दावी
डब्लुएचओले संक्रमित महिलासँग सम्पर्कमा आएका व्यक्तिमा कुनै समस्या नदेखिएको बताएको छ। उसले आफ्नो बयानमा भनेको छ, ‘उपलब्ध जानकारी अनुसार यस्तो लाग्छ, यो भाइरस एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सहजै फैलिने क्षमता हुँदैन। त्यसैले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा मनुस्यमा फैलिने जोखिम न्युन छ। यद्यपि एवियन इन्फ्लुएन्जा भाइरसको निगरानी महत्वपूर्ण छ। किनभने यसको विकास हुनसक्ने र महामारीको कारण बन्नसक्ने क्षमता जिवितै छ।’