धनगढी- जग हालिएको छ। पिल्लर ठड्याइएको छ तर, तयार छैन। वरपर ईट्टा तथा सरियाहरु थुपारिएको छ वडीकेदार गाउँपालिका वडा नम्बर २ मा अल्पत्र अवस्थामा रहेको १० शय्या आधारभुत अस्पतालको दृष्य हो।
आर्थिक वर्ष २०७७/७८ असोजमा निर्माण सम्झौता भएको सो भवनको काम चालु आर्थिक वर्षको मसान्तसम्म रहेको थियो तर, निर्माण कम्पनिले काम नगर्दा भवन अल्पत्र बनेको स्थानीयहरु बताउँछन्।
बडीकेदारस्थित अस्पतालमात्र होइन् सुदूरपश्चिम प्रदेशमा संघिय सरकारबाट बनिरहेका आधारभुत अस्पतालका कामहरु समयमै सम्पन्न हुन सकेका छैनन्। केपी ओली सरकारले १७ मंसिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थिए।
जसलाई दुई वर्षभित्रमा बनाइ सक्ने बताइएको थियो। तर, समयावधि नाघ्दा समेत कुनै पनि अस्पताल पुरा भएका छैनन्। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा ३१ वटा १० शय्याका अस्पताल र २३ वटा १५ शय्या अस्पताल निमार्ण गर्ने भनिएको छ। त्यसमध्ये डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको १० शय्याको अस्पताल अन्तिम चरणमा पुगेको जनाइएको छ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा ५, १० र १५ अस्पताल निर्माण गर्ने भन्दै १० शैय्याका सात, १० शैय्याका ११ र पाँच सयका चार वटा आधारभुत अस्पताल बनाउने कार्य अघि बढाएको थियो।
बडीकेदार गाउँपालिका वडा नम्बर २ की वडा सदस्य तारा नाम्जालीले स्वास्थ्य भवन समयमा बन्न नसकेको बताईन्। उनले भनिन –‘स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने अवस्था रहेको छ। निर्माणाधिन भवन समयमै सम्पन्न भएको भए यहाँका स्थानीयहरुलाई सहज हुने थियो।’
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराज भट्टले चौकीको भवन निर्माण मसान्तसम्म भईसक्नुपर्नेमा विविध कारणले सम्पन्न हुन नसकेको बताए। उनले असोजमा सम्झौता भएपनि जग्गा विवादका कारण केही समय काम हुन नसकेको बताए।
उनले अहिले निर्माण कम्पनिले थोरै काम गरेर सम्पर्कविहिन बनेको बताए। उनले भने –‘बहुवर्षिय योजना हो। मसान्तसम्म काम हुन नसकेपछि अर्को मसान्तसम्मका लागि म्याद थप गरिएको छ।’
निर्माण कम्पनिले भवन निर्माण गर्न पेश्की स्वरुप एक करोड रकम लिएको बताए। उनका अनुसार सो चौकी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट निर्माण हुन लागेको हो।