यही चैत्र १७ गते शुक्रबार राती ११ बजेतिर ५ वर्षकी सानी छोरीको कान दुख्यो। मसँग पहिला पनि कान दुखेको अवस्थामा लैजाँदा डाक्टरले दिनुभएको फ्लेक्सन झोल औषधि थियो। जुन मैले बच्चालाई खुवाएँ र १८ गते शनिबार बिहान मैले हाम्रो परिवारको स्वास्थ्य बीमा भएको अस्पताल भक्तपुर अस्पतालमा छोरीलाई लिएर गएँ। त्यहाँ इमर्जेन्सीमा मात्रै डाक्टर हुनुहुन्थ्यो। उहाँले हेर्नुभयो। त्यसपछि शनिबार ओपिडी संचालन नहुने भएकोले अन्यत्र लैजान उहाँले रिफर गर्नुभयो। सोहीअनुसार म भक्तपुरकै जडिबुटीमा अवस्थित विपी नेत्र प्रतिस्ठान, बाल आँखा, कान नाक घाँटी अस्पताल गएर उपचार गराउन हिँडे।
करिब ८ बजेतिर त्यस अस्पतालमा पुग्दा अस्पतालमा इमर्जेन्सी सेवा नै नभएको जानकारी प्राप्त भयो। मलाई अनौठो लाग्यो कि इमर्जेन्सी सेवा नै नभएको पनि अस्पताल हुन्छ र? त्यस अस्पतालको वरिपरिका बासिन्दालाई कति भरोसा होला कि मेरो नजिकै अस्पताल छ भनेर। त्यसपछी त्यहाँ आधिकारिक व्यक्ति नभएको कारणले म त्यहाँबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गएँ। त्यहाँ पुग्दा बच्चाको इमर्जेन्सी खुल्ला थियो। त्यहाँ जाँच गराउन डक्टर पनि हुनुहुन्थ्यो तर मलाई टिकट लिनको लागि पठाइयो। तर ३०० रुपैयाँ तिरेर पहिला टिकट लिनुपर्छ भनियो मैले स्वास्थ्य बीमामा कुनै पनि शुल्क नलाग्नु पर्ने कुरा पनि गरेँ। स्वास्थ्य बीमामा त कुनै पनि शुल्क लाग्दैन भनिएको छ। मलाइ बीमा काउन्टर जान सुझाइयो।
त्यसपछि म स्वास्थ्य बीमाको काउन्टरतर्फ लागेँ। त्यहाँ कर्मचारी नै भेटिनु भएन १५ मिनेट पर्खिन भनियो तर आधा घन्टापछि मात्रै एकजना कर्मचारी आउनुभयो। उहाँसँग पनि मेरो वादविवाद भयो स्वास्थ्य बीमा गरेको व्यक्ति पैसा तिरेर टिकट लिनुपर्ने विषयमा।बीमामा इन्ट्री हुन नै पहिला ३०० रुपैयाँ तिरेर टिकट लिनुपर्छ। मैले त सेवा लिनुपर्ने नै थियो। त्यसैले मैले बाध्य भएर तीन सय रुपैयाँको टिकट काटेर आएपछि मात्रै स्वास्थ्य बीमाको काउण्टरमा मेरो बच्चाको टिकट बन्यो करिब १ घण्टामा।
नेपाली तथा विदेशीको भरोसा भएको देशकै प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा किन बीमामा इन्ट्री हुन ३०० रुपैयाँ तिरेर टिकट लिनुपर्छ र? अनि किन १ घण्टा लाग्छ टिकेट लिने समय? यदि सिकिस्त बिरामी भएको मान्छेको टिकेट लिने समय सम्ममा त मृत्यु पनि हुनसक्ने रहेछ। सौचालय गएको हात धुने पानी, साबुन नै छैन। करिब ८ जना बच्चाहरुको जाँच गर्दा स्वास्थ्यकर्मीहरुले १ पटक पनि हात धोएको पाइन। इन्फेक्सन रोकथामको बृहत पाठ पक्कै पढाइन्छ।
त्यसपछि म टिकट लिएर बच्चाको इमरजेन्सी वार्डमा गएँ। बल्ल बच्चाको सेवा सुरुवात भयो। इमर्जेन्सीमा सेवा पाउन एक घण्टा पर्खिनुपर्छ यो कतिको जायज हो? विज्ञहरुले बुझ्नुहोला र सम्बन्धित अस्पतालहरुले आफूले प्रदान गरिरहेको सेवा कतिको सहज, कति सरल र कतिको छिटोछरितो भएको छ भनेर हेर्ने जिम्मा त्यस अस्पतालका सञ्चालक अथवा निर्देशकहरूको पनि होइन र?
त्यसपछि डाक्टरले बच्चाको कानको जाँच गर्नुभयो र केही औषधि लेखिदिनुभयो। म औषधि लेखिएको पुर्जी लिएर अस्पतालको फार्मेसीमा गएँ। फार्मेसीमा लामो लाइन थियो र म पनि लाइनमा बसे। करिब ४५ मिनेट जति भएपछि मेरो पालो आयो मैले पुर्जी दिएँ। त्यस पुर्जीमा चारवटा औषधीको नाम लेखिएको थियो। फार्मासिस्टले चारै वटा औषधि छैन भन्नुभयो। त्यसमाथि बच्चाको औषधि हामीसँग आएकै छैन भन्ने जवाफ दिनुभयो।
सरकारी अस्पताल त्यसमा पनि शिक्षण अस्पताल देशभरिका जनताहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन खोलिएको अस्पतालमा ५ वर्षको बच्चाको लागि सिफारिस गरिएका चारैवटा औषधीहरु नहुनु कतिको जायज हो? यस्तो अवस्था यदि छ भने के यस्तो औषधीहरु उपलब्ध छैन भन्ने जानकारी पाउनु पर्दैन? के यसमा सेवा लिन आउने व्यक्तिको कमजोरी छ? स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले आफूसँग भएको स्वास्थ्यसम्बन्धी उपकरण, औषधि, सेवा छ वा छैन भन्ने कुरा सुसूचित गराउनु पर्छ कि पर्दैन? लामो लाइनमा पर्खाइपछि आफ्नो पालो आएपछि बल्ल त्यो सूचना थाहा पाउनु कतिको न्यायसंगत छ? यो र यस्तै धेरै सेवाग्राहीहरुले मसँग गुनासो पनि गर्नुभयो।
सेवामा पहुँच पुग्दैमा सेवा गुणस्तरीय छ भन्न सकिँदैन त्यस्का विभिन्न आयामहरु हुन्छन्। सेवा छिटो हुनु, सेवा सुसूचित हुनु, सेवा छरितो र सरल हुनु पनि पर्दछ। समग्रमा मैले के पाएँ भने यी अस्पतालहरुमा उत्तरदायित्वको कमी छ। उदाहरणको लागि जडिबुटी स्थित विपी नेत्र प्रतिस्ठान, बाल आँखा, कान नाक घाँटी अस्पतालमा इमर्जेन्सी सेवा नै नहुनु के यो उत्तरदायित्वको उदाहरण हो?
दोस्रो, स्वास्थ्य बीमा गरेको व्यक्तिले शुल्क तिरेर पहिले टिकट लिनुपर्छ, पुर्जी लिनुपर्छ भन्ने कुरा कुनै एउटा निश्चित सेवा दिने अस्पतालले स्वयम् निर्णय गर्न पाउँछ?
तेस्रो, हरेक स्वास्थ्य सेवा दिने स्थानहरुमा कर्मचारीहरूको अनवरत उपलब्धता गराउन जिम्मेवार हुनुपर्छ कि पर्दैन? स्वास्थ्य बीमा को टिकट लिन को लागि एक घण्टा समय व्यतित गर्नुपर्छ भने इमर्जेन्सी सेवा लिन आएको बिरामी त्यतिन्जेल भित्रमा मृत्युवरण पनि गर्ला। यसमा को उत्तरदायी हुने? अर्को कुरा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फार्मेसीमा ५ वर्षको बच्चाको लागि सिफारिस गरिएका चारवटा औषधीमध्ये सामान्य फ्लेक्सन नामको झोल औषधि पनि नहुनु अस्पतालको गैरजिम्मेवारीपना होइन। कि अस्पतालको फार्मेसीबाट ५ वर्षको बच्चाको लागि औषधि उपलब्ध छैन भन्ने सूचना टाँस्नको लागि धेरै रकमको आवश्यकता पर्छ?
स्वास्थ्य संस्था अथवा अस्पतालको व्यवस्थापन समितिका सदस्यहरु अथवा ठूलाठूला पदमा रहनु भएका व्यक्तिहरुले पनि आफ्ना नातेदारहरु बिरामी हुँदा यस्तै किसिमको सेवा प्रवाह हुन्छ? यसमा म सेवाग्राहीको केही कमजोरी छ? के अस्पतालका व्यवस्थापकहरु ठूला-ठूला पदमा रहेकाहरूले पनि बेलाबेलामा आफूले सञ्चालन गरेको सेवाहरु कतिको छिटोछरितो छ भनेर स्वमूल्यांकन गर्नुहुँदैन? शिक्षण अस्पतालमा त विद्यार्थीहरु, प्राध्यापक अन्य कर्मचारीहरु पनि हुनुहुन्छ नियमित रुपमा गुणस्तरको परीक्षण हुनुपर्दैन? कि यो सिकाउने मात्रै ठाउँ हो ब्यवहारमा लागू गर्नु पर्दैन हो?
मैले देख्दा यी अस्पतालहरुमा मानव श्रोत साधनको कमी भएको जस्तो लाग्दैन। खाली जिम्मेवारी बोध नभएको महसुस भयो। देशको राजधानीमा भएको सुविधासम्पन्न विश्वविद्यालयको एउटा शिक्षण अस्पतालमा यस्तो अवस्था छ भने दुरदराजमा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सेवा लगायत स्वास्थ्य बीमाको अवस्था कस्तो होला भनेर नजरअन्दाज गर्न सकिन्छ। अहिले सुधार नगरी कैले गर्ने, कसले गर्दिन्छ सुधार? म आफैंले सुधार गर्ने हो भनेर हरेक पदमा बसेका व्यक्तिहरुले सुधारको पहल नगरे अथवा आफ्नो व्यवहार परिवर्तन नगरी सुधार कसले गर्दिने हो? सेवाग्राहीले सुधार गर्दिने हो र?
यस्तो अवस्थाहरु कति अस्पतालहरुमा अथवा स्वास्थ्य संस्थाहरुमा होला? कतिपय निजी सामुदायिक स्वास्थ्य संस्थाहरूले छिटो, छरितो र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको पनि पाइएको छ। जसलाई सरकारको कुनै आर्थिक सहयोग छैन। तर सरकारले उपलब्ध गराएको आर्थिक व्यवस्थापनमा स्वास्थ्य सेवा प्रभाह गर्न सुलभ तरिकाले सरल तरिकाले छिटो भरपर्दो र पहुँच योग्य स्वास्थ्य सेवा पुर्याउन सरकारी निकाय किन पछि परेको छ। करिब ६ वर्षदेखि म सरकारी अस्पतालहरुबाट बाक्लै सेवा लिईरहेको छु। तर यस्पालि 'प्यासेन्ट एक्सपेरीयन्स अफ केयर' को हिसाबले म धेरै नै असन्तुष्ट भएँ।
स्वास्थ्य क्षेत्रका सम्पूर्ण नीति निर्माता, विज्ञहरु, अस्पतालका व्यवस्थापकहरु, राजनीतिकर्मीहरु हरेकको ध्यान जान असाध्यै ढिला भइसकेको छ। यी कुराहरुलाई मध्यनजर गर्दै आगामी दिनमा स्वास्थ्य सेवामा चमत्कारिक सुधार भएको अपेक्षा राख्दछु।