काठमाडौं– अहिले सामाजिक सञ्जालमा सरकारी विद्यालयको पोसाक लगाएका बालबालिकाले फुको चिउरा शर्टको फेरोमा राखेर खाएको एक भिडियो ‘भाइरल’ भइरहेको छ। उक्त भिडियो हो चितवन जिल्लाको राप्ती नगरपालिकाको कालीटार आधारभूत विद्यालयको।
चितवन क्षेत्र नम्बर १ का सांसद हरी ढकाल विद्यालयको निरीक्षणका क्रममा मंगलबार पुगेका थिए। त्यसक्रममा उनले विद्यालयमा विद्यार्थीको दिवा खाजामा फुको दुई मुठ्ठी चिउरा दिएको फेला पारे। त्यसपछि उनी लगातार तेस्रो दिनसम्म पुग्दा उही फुको चिउरा फेला पारेपछि विद्यालयका कर्मचारीहरूसँग सोधपुछ गर्दै गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे। जुन भिडियो अहिले भाइरल भइरेको छ।
प्रतिनिधि सभाका सदस्यले नै उक्त भिडियो सार्वजनिक गरेपछि हामीले उनीसँग टेलिफोन सम्पर्क गर्यौं। कुराकानीका क्रममा विद्यार्थीहरूहरुले विद्यालयले फुको चिउरा र जाउलो मात्र दिने गरेको सुनाएका बताए।
साथै, उक्त विद्यालयमा २०० सय विद्यार्थी रहेको सांसद ढकालले जानकारी दिए। सो विद्यालय चितवनको सबैभन्दा विकट क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा छ। जुन ढकालको निर्वाचन क्षेत्रमा पर्छ।
‘चुनाव जितेसँगै त्यस क्षेत्रमा बत्ती पुर्याउने मेरो पहिलो योजना थियो। त्यस क्षेत्रमा वैशाख १ गते बत्ती बाल्ने लक्ष्य भएकाले कामको सिलसिलामा पुगेको थिएँ। त्यस क्षेत्रका स्वास्थ्यचौकी, विद्यालयदेखि सम्पूर्ण क्षेत्रको अनुगमन गरेँ’, सांसद ढकालले भने, ‘अनुगमनकै क्रममा उक्त विद्यालयमा आँखा अगाडि लगातार तीन दिनसम्म विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा दुई मुठ्ठी फुको चिउरा दिएको भेटेँ।’
सरकारले लामो समयदेखि विकट क्षेत्रका विद्यार्थीलाई नियमित विद्यालयमा आउन भनेर दिवा खाजाको व्यवस्था गरेको छ। उक्त खाजा पौष्टिक तथा स्वास्थ्यवर्द्धक हुनुपर्ने प्रावधान छ। विद्यालयले सांसद ढकालले बताए।
‘त्यहाँका विद्यार्थी त्यति चिउरा पाउने आशाले पनि विद्यालय आउने रहेछन्। त्यो चिउरा मात्र खाजा त पौष्टिक आहारा भएन नि! बिचरा ती कुपोषण भएका चेपाङ बालबालिकालाई पोषणयुक्त खाजा खुवाउन पो सरकारले दैनिक १५ रुपैयाँ दिएको हो। फुको चिउरा खुवाउन त होइन नि!’, ढकालले स्वास्थ्यखबरसँग भने, ‘त्यही चिउरामा पाँचकेजी चना ल्याएर पकाएर चना मिसाएर दिएको भए हुन्थ्यो। दुई मुठ्ठी फुको चिउरा विद्यार्थीलाई कति समयदेखि दिएको हो। मैले डेटासहित मागेको छु।’
यता, विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले टाइमटेबल अनुसार दिवा खाजा खुवाउने गरेको दाबी गरे। उनले सांसद ढकाल अनुगमनमा गएको बेला चिउरा भुजाको पालो परेको उल्लेख गरे।
‘कहिले अण्डा, चना, केराउको तरकारी, कहिले भुजा चिउरा, कहिले जाउलो बनाएर दिने गरेका छौँ। यो लगातार तीन दिनसम्म चिउरा भुजा दिनु परेको कारण चाहिँ हाम्रो बिरामी भएर दाउरा लिन जान नसक्दा भएको हो’, उनले भने, ‘अब बच्चाहरूलाई दाउरा बोक्न लगायो भने फेरि मिडियाहरूले किन बच्चालाई बोकाएको भन्न आइपुगिहाल्छन्। त्यसकारण त्यो परेको हो। त्यतिखेर माननीयज्यूले हाम्रो कुरा सुन्न नै खोज्नु भएन।’
सांसद ढकालले विद्यालयको अवस्थाबारे बुझ्न नखोजेको उनको आरोप छ। साथै, सांसद ढकालले विद्यार्थीलाई दैनिक चना अण्डा खुवाउन भनेको तर, सरकारले दिएको १५ रुपैयाँले दैनिक चना अण्डा खुवाउन सम्भव नहुने प्रधानाध्यापक श्रेष्ठले बताए।
‘सरकारले जम्मा १५ रुपैयाँ दिन्छ। त्यसले हामीले हप्ताको ६ दिनै चना अण्डा खुवाउन सक्दैनौं। यहाँ भण्डारादेखि खाद्यान्न लिएर जानु पर्छ। विद्यालयसम्मको ढुवानी खर्च प्रतिकेजी सात रुपैयाँदेखि आठ रुपैयाँसम्म लाग्छ। त्यसमा पकाउँदा नुन भुटुन, मसलासम्म त्यही १५ रुपैयाँबाट खर्च गर्नुपर्ने हुन्छ’, श्रेष्ठले स्वास्थ्यखबरसँग भने, ‘चना अण्डा खुवाएको बेलामा ३० रुपैयाँसम्म पर्न जान्छ। अर्को दिन चिउरा भुजा खुवाउँदा अलि कम खर्च भएर सरकारबाट आएको पैसाले पुग्ने गरेको छ।’
स्थानीय स्तरमा पाउने खाजा विद्यार्थीले खान नमान्दा बाहिरबाट ल्याइएका खाजा खुवाउन बाध्य भएको उनी सुनाउँछन्। ‘हामीले पहिला मकै भटमास भुटेर, पिँडालु उसिनेर खाजा दिने गरेका थियौँ। तर, विद्यार्थीहरूले यस्तो त हाम्रो घरमा पाइन्छ भनेर खान मानेनन्’, प्रधानाध्यापक श्रेष्ठले भने, ‘एक दिन खाएपछि अर्को दिन आधा खाएर फाल्ने गरे। अण्डा चना, चिउरा भुजा जस्ता खाजा मन पराएर खाने गरेको पायौँ। त्यसपछि स्थानीय स्तरका खाजा खुवाउन छाडेका हौँ। तर, जंगफुड खुवाएका छैनौँ। अर्गानिक चिउरा भुजा खुवाएका छौं।’
उक्त विद्यालय क्षेत्र पर्ने वडाका वडाध्यक्ष अशोक प्रजाले विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा फुको चिउरा मात्र नभएर दिन अनुसार फरक–फरक खाजा चिउरा भुजा, चना, जाउलो, लिटो दिँदै आएको दाबी गरे।
‘हामी अनुगमन गएको बेलामा दैनिक फरक–फरक खाजा मिलाएर दिने गरेका थिए। माननीयज्यू आएको बेलामा एक दिन फुको चिउरा दिएको पाउनु भएछ’, उनले भने, ‘यसअघि एकसाता पहिला म अनुगमनमा गएको थिएँ। त्यतिबेला चिउरा मात्र नदिनु, पोषणयुक्त खाजा खुवाउनु भनेको थिएँ।’
वडाध्यक्ष प्रजाले आफूहरू महिनामा एक पटक विद्यालयको अनुगमनमा जाने गरेको पनि उल्लेख गरे।