खोटाङका गणेश राई एक्कासी कान नसुन्ने भए । राजधानीका नाम चलेका नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञलाई देखाए । तर, उनले दिएको औषधिले राई नछोएपछि न्युरो फिजिसियनकहाँ पुगे । न्युरो फिजिसियनले इएनटी विशेषज्ञकहाँ रेफर गरे । पछिल्ला विशेषज्ञले राईको रोग पहिचान गरेको दाबीसहित भनिदिए– यसको उपचार छैन, जानुस् ।
खासमा राई अन्यत्र उपचार सम्भव हुन्छ, हुँदैन, विकल्प के हुन सक्छ भन्ने विषयमा धीत मारेर डाक्टरसँग कुरा गर्न चाहन्थे । तर, उनको कुरै नसुनी अर्को बिरामी बोलाए । उनी निन्याउरो अनुहार बोकेर बाहिर निस्किए ।
चितवनका ७० वर्षीय रामचन्द्र वाग्लेलाई घुँडा, दुख्ने, अनिद्रा, अरुचि, मुख सुक्नेजस्ता थुप्रै समस्या छन् । चितवनका नाम चलेका डाक्टर सबैले हेरिसके । काठमाडौंका नामी डाक्टरलाई पनि देखाइसके । तर, उनको वास्तविक समस्या पत्ता लाग्न सकेको छैन ।
‘न के रोग भएको हो भन्न सक्छन् न मेरो कुरा सुन्छन्,’ उनले भने, ‘नेपालमा जान्ने डाक्टर नै छैनन् ।’
वाग्ले हत्तपत्त अस्पताल जानै चाहँदैनन् । छोराहरुले जबर्जस्ती पु¥याउँदा पनि निको होला जस्तो लाग्दैन । ‘बुबा विश्वासै गर्नुहुन्न,’ छोरा सुदनले थपे, ‘डाक्टरले समय दिएर कुरा बुझाइदिए पो विश्वास हुन्थ्यो र !’
खोटाङका राई र चितवनका वाग्लेका समस्या लिएर स्वास्थ्य खबरपत्रिका टिम फिजिसियन डा. जगदीशप्रसाद अग्रवालकहाँ पुग्यो । डा. अग्रवालले जवाफ दिए, ‘यो बिरामीका कुरा डाक्टरले नसुन्दा र बुझाउन नसक्दाको नतिजा हो ।’
घण्टौं लाइन बसेर, पैसा तिरेर जाँदा पनि डाक्टरले हेर्दै–हेर्दैनन्, समय दिँदैनन्, राम्ररी हेर्दैनन् । अधिकांश बिरामीका यस्तै गुनासा छन् डाक्टरसँग । केही डाक्टरहरु रोगबारे जानिसकेपछि अनावश्यक कुरा गरेर समय कटाउन आवश्यक नभएको तर्क गर्छन् । तर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा.अर्जुन कार्की कस्तो मान्छेलाई रोग लाग्यो भनेर थाहा पाउनु कुन रोग लाग्यो भनेर थाहा पाउनुजत्तिकै महत्वपूर्ण हुने बताउँछन् ।
‘कहाँ बस्ने, कस्तो आर्थिक हैसियतको, कुन सामाजिक र व्यवसायिक परिवेशको मानिस हो भन्ने थाहा पाउन पनि उत्तिकै जरुरी छ,’ उनले थपे, ‘बिरामीका पीडा खोतलेर आफैँले अनावश्यक पीडा भोग्नुपर्छ भन्ने सोच राख्ने र पेशाको जिम्मेवारी पटक्कै नभएकाहरुले मात्र त्यस्तो तर्क गर्छन् ।’ बिरामीको परामर्शलाई छोटो समयमा टुंग्याउनु भनेको रोगलाई अधकल्चो छाड्नु भएको उनको भनाइ छ । नेपालका अधिकांश डाक्टरले बिरामीलाई पर्याप्त समय दिँदैनन् । त्यसो त कतिपय अस्पतालमा हुने भीडका कारण थोरै समयमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता पनि छ । तर, नचाहेर वा नजानेर बिरामीलाई पर्याप्त समय दिने प्रचलन नभएको डा.अग्रवाल औंल्याउँछन् । आखिर बिरामीलाई डाक्टरले कति समय दिनुपर्छ त ? यसको ठ्याक्कै जवाफ पाउन सजिलो छैन । यसमा बिरामीको अवस्था, डाक्टरसँग कतिऔं पटक भेट भएको हो, कस्तो रोग हो भन्नेजस्ता थुप्रै कुराको भूमिका हुन्छ ।
डा.अग्रवाल थप्छन्, ‘बिरामीको नजरमा आफ्नो पीडा धैर्यपूर्वक सुनेर सजिलोसँग बुझ्नेगरी चिकित्सा विज्ञानले सुझाएको कुरा भन्नु नै असल डाक्टरको पहिचान हो ।’ डा. कार्कीको शब्दमा अधिकांश डाक्टरले बिरामीलाई आधारभूत प्रश्न मात्रै सोध्नका लागि दिँदै आएको समय पर्याप्त छैन । डा.अग्रवाल र मन्दिरा शाहीले आईओएममा ‘एमडी/एमएसका विद्यार्थीमा सञ्चार सीप’ सम्बन्धमा गरेको अध्ययनमा बिरामीसँग लिइने मेडिकल अन्तर्वार्तासम्बन्धी सीप सन्तोषजनक नरहेको देखाएको थियो । आईओएमका १ सय ६२ एमडी/एमएस विद्यार्थीमध्ये ३० जनामा उक्त अध्ययन गरिएको थियो । डा.अग्रवालका अनुसार देशका अधिकांश मेडिकल स्कुलमा सञ्चारसम्बन्धी सीप तालिम कार्यक्रम समावेश गरिएको छैन ।
यद्यपि एमबीबीएसको पाठ्यक्रममा सन् २००९ देखि ‘मोडल अन कम्युनिकेसन स्कील्स’ समावेश गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा भएका अध्ययनहरुले पनि डाक्टरहरु बिरामीसँग सोधीखोजी भन्दा रेडियोलोजिकल र प्रयोगशालाजन्य परीक्षणको विकल्पमा जाने गरेको देखाएका छन् । जुन क्लिनिकल समाधानको सूत्र भए पनि बिरामीलाई निरोगी भएको महसुस गराउने तरिका होइन । विज्ञहरु पनि कम समय दिएर गरिने फितलो कुराकानीको असर निकै नराम्रो हुने बताउँछन् । रोगबारे व्याख्या गर्ने, सुन्ने र सहानुभूति दिँदा बिरामीको उपचारमा ठूलो प्रभाव पार्छ । अझै अर्काे अध्ययनले ६० प्रतिशत मामिलामा बिरामीले डाक्टरलाई भेटेर फर्किएपछि पाएका निर्देशनलाई गलत रुपले बुझ्ने गरेको देखाएको छ । औसत डाक्टरहरुले बिरामीले पहिलोपटक आफ्ना कुरा राख्दा करिब १८ सेकेण्डमात्रै सुन्ने गरेको देखाएको छ । स्वतन्त्र रुपमा बोल्न दिने हो भने बिरामी डाक्टरको अर्को प्रश्न नआउँदासम्म एक मिनेट मात्रै बोल्छन् ।
‘एक मिनेट पनि बिरामीलाई बोल्न नदिएर कसरी एकअर्काका कुरा बुझ्न सकिन्छ ?’ डा. अग्रवाल थप्छन्, ‘डाक्टर–बिरामीबीच जति धेरै प्रश्न–उत्तर भयो, उति नै ग्याप घट्ने र विश्वास बढेर उपचार प्रभावकारी हुने हो ।’ डाक्टरहरुका अनुसार अन्तर्राष्ट्रिय अभ्यासमा एक जना बिरामीका लागि कम्तीमा पनि १५ देखि २० मिनेट समय दिनुपर्छ ।
नेपालमा चिकित्सा संहिताको राम्रो अनुगमन नहुँदा डाक्टरले बिरामीलाई दिने समय निकै थोरै हुने गरेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत नेसनल सेन्टर फर हेल्थ प्रोफेसनल्स एजुकेसनका कार्यकारी निर्देशकसमेत रहेका प्रा. डा. अग्रवालको भनाइ छ । ‘नेपालमै भएका अध्ययनले पनि डाक्टरसँगको सञ्चारबाट अधिकांश बिरामी सन्तुष्ट नभएको तथा बिरामीको तनावको ५० प्रतिशत कारणसम्म डाक्टर पुग्न नसकेको देखाएको छ,’ डा.अग्रवालले भने ।
आम रुपमा डाक्टरहरु कम्तीमा एउटा बिरामी १० मिनेटको समय दिनैपर्नेमा सहमत छन् । तर, नेपालमा अधिकांश विशेषज्ञ डाक्टरको सन्दर्भमा यो कुरा लागू हुँदैन । बिहानदेखि राति अबेरसम्म क्लिनिकमा व्यस्त हुने केही डाक्टरले जाँच्ने बिरामीको सूची हेर्दा पनि थाहा हुन्छ । नामको पछाडि दौडिने प्रवृत्तिका कारण पनि डाक्टरले बिरामीका अपेक्षा पूरा गर्न सक्दैनन् । ‘बिरामी वा आफन्तले जानकारी माग्दा तपार्इं डाक्टर कि म भनेर हप्काउने चलन छ । डाक्टरले त बिरामीले बुझ्ने भाषामा जानकारी दिने संस्कारको अभाव छ,’ प्रा.डा.अग्रवाल भन्छन्, ‘यो डाक्टरमा सञ्चार सीप नभएको दृष्टान्त हो ।’
समय नदिने, राम्रोसँग वार्तालाप नगर्ने, कुनै विषयलाई सजिलो गरी बुझाउन नखोज्ने बानीलाई चिकित्सा शिक्षाविद्हरु सञ्चारसीपको अभावको संज्ञा दिन्छन् । सञ्चारसीपभित्र बिरामीका पीडा सुन्ने बानी, सहानुभूति देखाउने र समस्या लेख्ने कला, उपचारका क्रममा साथीजस्तो व्यवहार, नराम्रा समाचार कसरी सुनाउने र सम्भावित दुर्घटनाबारे कसरी मानसिक रुपमा तयार पार्ने भन्ने जस्ता कुरा समेटिन्छन् ।
‘विभिन्न वर्ग, समुदाय, भाषा, परिवेशबाट आएका मानिससँग कसरी व्यवहार गर्ने भन्ने कुराले उपचारमा धेरै फरक पार्छ,’ डा.अग्रवालले भने, ‘तर, डाक्टरहरु बिरामीको कुरा सर्सती सुन्छन् र औषधि लेखिदिन्छन् र भन्छन् निको नभए आउनू ।’ निजीमा धेरै बिरामी हेरेर धेरै पैसा कमाउने चलनदेखि सरकारीमा बिरामीको अत्यधिक चापका कारण डाक्टरलाई भ्याइनभ्याई हुन्छ ।
बिरामीलाई बढी समय दिनुपर्छ भन्ने कुरामा पूर्ण रुपमा विश्वास नगर्ने डाक्टरहरु कति यो विषय प्राविधिक भएको भन्दै बिरामीको समस्या बुझ्न र बिरामी पक्षलाई सन्तुष्ट र आश्वस्त नपारेसम्म समय दिनुपर्ने दाबी गर्छन् । डाक्टरले प्रभावकारी ढंगले उपचार गर्ने हो भने सामान्यतः दैनिक २५/३० जना बिरामीलाई परामर्श दिनुपर्ने सल्लाह विज्ञहरुको छ । यो पनि गम्भीर नठानिएका रोगमा लागू हुन्छ । तर, नेपालमा अधिकांश नाम चलेका डाक्टरहरू दुवै सिफ्ट ओपिडी गर्ने र दिउँसोको समयमा शल्यक्रिया एवं अध्यापनको समेत जिम्मेवारी लिन्छन् । त्यसै कारण बिरामी पक्ष उपचारबाट सन्तुष्ट नहुने, उपचारको सल्लाह, प्रेस्क्रिप्सन र शल्यक्रियासमेत फरक पर्ने हुन्छ । नाम चलेका डाक्टरले दिनमा ५० देखि ७० जनाको हाराहारीमा बिरामी हेरेका उदाहरण पनि छन् ।
के हो मेडिकल सञ्चार सीप ?
मेडिकल सञ्चार सीप भन्नाले डाक्टरले बिरामीसंग प्रभावकारी रुपमा गर्ने सञ्चार कलालाई जनाउँछ । यसमार्फत् डाक्टरले मेडिकल सूचना जम्मा गर्छन् । फिजिसियनहरुको अन्तरव्यक्ति सञ्चार कलाले उपयुक्त डायग्नोसिस र उपचारका लागि सूचनामात्र दिँदैन, डाक्टर–बिरामी सम्बन्धमा पनि सकारात्मक भूमिका निर्वाह गर्छ ।
डाक्टरसँगको प्रभावकारी सञ्चारले बिरामीलाई सन्तुष्टि दिलाउँछ । बिरामीले आफ्ना कुरा स्पष्टसँग भन्ने मौका पाउँदा डाक्टरलाई पनि रोग पत्ता लगाउन मद्दत गर्छ । यसका साथै उपचार र अस्पताल बसाइको अवधि घटाउँछ । यस्तै, मालप्राक्टिससम्बन्धी मुद्दामामिला घट्नुका साथै उजुरी तथा गुनासा पनि घट्छन् ।
बिरामी–डाक्टर सम्बन्धका आधारभूत तत्व
१. बिरामीलाई फिजिसियनसँग आफ्ना रोगका बारेमा सूचना लिने, फाइदा, खतरा तथा उपयुक्त विकल्पबारे छलफल गर्ने अधिकार हुनेछ ।
२. फिजिसियनको सिफारिसअनुसार आफ्नो उपचारसम्बन्धी निर्णय गर्ने अधिकार बिरामीमा हुनेछ ।
३. बिरामीमा आफ्ना आवश्यकताप्रति शिष्टाचार, सम्मान, आत्मसम्मान, उत्तरदायी तथा समयमै ध्यानाकर्षण गराउने अधिकार हुनेछ ।
४. बिरामीलाई गोपनीयताको अधिकार हुनेछ । फिजिसियनले बिरामीको स्वीकृतिविना ऊसँग सम्बन्धित गोप्य सूचना सार्वजनिक गर्नुहुँदैन ।
५. बिरामीलाई आफूले लिएको स्वास्थ्य सेवालाई निरन्तरता दिने अधिकार हुनेछ । जतिसुकै लामो समय लागेपनि फिजिसियनहरुले आफूले दिएको उपचार बीचैमा रोक्नुुहुँदैन ।
६. बिरामीलाई उपलब्ध स्वास्थ्य सेवा लिने अधिकार हुनेछ ।
(सन् १९९२ को जुनमा प्रकाशित रिपोर्ट ‘फण्डामेन्टल इलेमेन्ट्स अफ दी पेसेन्ट–फिजिसियन रिलेसनसिप’ नामक रिपोर्टमा आधारित)
यसरी बन्छ डाक्टर–बिरामी सम्बन्ध सुमधुर
– बिरामीसँग उनीहरुका रोगका बारेमा कुरा गर्दा सहानुभूति दर्शाएर उनीहरुको अवस्था र भावना बुझेको छु भन्ने देखाउनुपर्छ ।
१. बिरामी भिजिट गर्दा बाहिरबाट आउने अवरोध र हल्ला कम गर्नुहोस् ः भिजिट अवधिभर मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् । बाहिरबाट आउने हल्ला कम गर्न ढोका बन्द गर्नुहोस् (यद्यपि यसका लागि बिरामीको स्वीकृति लिनुपर्छ ।)
२. सक्रिय रुपमा बिरामीका कुरा सुन्नुहोस् । बिरामीले शाब्दिक रुपमा या गैरशाब्दिक रुपमा के भन्छन् भनेर ध्यान दिएर कुरा सुन्नुपर्छ ।
३. ठोस प्रतिक्रिया दिनुहोस् । बिरामीको भावना पहिचान गर्न र स्पष्ट पार्न खोज्नुहोस् र भन्नुहोस्– तपाईंलाई कस्तो लागेको छ…’ या ‘मेरो विचारमा…’
४. आफ्ना कमजोरी सच्याउने र तपाईंका प्रतिक्रियामाथि विचार थप्ने मौका बिरामीलाई दिनुहोस् र सोध्नुहोस्– मैले केही छुटाएँ त ?
– सामान्य पाँच चरणका प्रक्रिया प्रयोग गरेर आफ्नो काउन्सिलिङ र सुन्ने कलामा विकास गर्नुहोस् ।
१. तपाईंको जीवनमा के भइरहेको छ ?
२. यस (रोग) बारे तपाईंले कस्तो अनुभव गरिरहनुभएको छ ?
३. तपाईंले सबैभन्दा बढी दुःख पाउनुभएको अवस्था कुन हो ?
४. त्यो समस्यालाई कसरी सामना गरिरहनुभएको छ ?
५. त्यो अवस्था तपाईंका लागि धैरै समस्या भयो होला हगि ?
यी पाँचवटै तरिकालाई बीएटीएचई भनिन्छ । जसको अर्थ हुन्छ , ब्याकग्राउण्ड अर्थात् पृष्ठभूमि, एफेक्ट (असर), ट्रबल (समस्या), ह्याण्डलिङ (सञ्चालन) र इम्पाथी (सहानुभूति)।
– कल्चरल्ली रेस्पोन्सिभ केयर प्रदान गर्न तयार हुनुहोस् ।
– बिरामीले कुनै वैकल्पिक उपचार प्रयोग गरे–नगरेको बारेमा सोध्नुहोस् ।
– बिरामीको जीवनशैलीबारे छलफल गर्नुहोस् ।
– बिरामीसँग कुरा गरिरहेका बेला उनीहरुले भनेका कुरा नोट गर्ने अभ्यास गर्नुहोस् ।
– लेख्नेमात्र होइन, बिरामीको सुविधाका लागि आवश्यक पर्ने विषय नर्सलाई पनि भन्नुहोस् ।
– रिपोर्टमा मात्र भर नपरी सम्भव भए एक्स–रे पनि हेर्नुहोस् ।
– बिरामीसम्बन्धी डायरी तयार पार्नुहोस् । यसले तपाईंको सिकाइमा पनि सहयोग गर्छ ।
(अमेरिकन एकेडेमी अफ फेमिली फिजिसियन डिभिजन अफ मेडिकल एजुकेसनको निर्देशिकामा आधारमा)
पर्याप्त समय नदिँदा गलत उपचार
डा.जगदिशप्रसाद अग्रवाल
वरिष्ठ न्यूरो फिजिसियन, त्रिवि शिक्षण अस्पताल
हरेक क्षेत्रमा भन्दा चिकित्सा क्षेत्रमा पनि सञ्चारसीपको निकै महत्व हुन्छ । सही उपचार, सही निदानदेखि रोग निको हुनुमा पनि सञ्चारसीपको महत्वपूर्ण भूमिका हुन्छ । रगतको नमुना लिनदेखि फार्मेसी तथा शल्यक्रियामा पनि बिरामीलाई राम्ररी बुझाउँन समय दिनुपर्छ । खासगरी अस्पतालमा हुने अधिकांश तोडफोडका घटना पनि बिरामी वा बिरामी पक्षलाई राम्ररी बुझाउँन नसक्दा हुन्छन् । राम्ररी बुझाउँन सकेमा बिरामीको अस्पताल बसाई घटाउँन सकिन्छ ।
उदाहरणका लागि शल्यक्रिया गरिएको बिरामीलाई ७ दिनपछि टाँका काट्नुपर्छ, अरु हामीले गर्नुपर्ने केही छैन भनेर भनिदियो भने उनीहरु आफैँले उसो भए अस्पताल किन बस्ने त भन्छन् । पक्षघात भएको बिरामीलाई सुधार नहुँदै चिकित्सकले डिस्चार्ज गर्ने कुरा ग¥यो भने बिरामी पक्षले निको नै भएको छैन कसरी डिस्चार्ज हुने भन्छन् । तर पक्षघात निको हुन समय लाग्छ, घरमा बसेर फिजियोथेरापी गर्दै औषधि खाने हो, अस्पतालमा गर्ने केही छैन, नआत्तिनुस् भन्ने हो भने अस्पताल किन बस्नुपर्छ र डाक्टरसाप भन्छन् ।
राम्रोसँग समय दिने र सञ्चार गर्ने चिकित्सकलाई बिरामी पक्षले पनि क्षमा दिन्छन् । उसले गल्ति नै गरिहाल्यो भनेपनि प्रयास गरेकै हो भनेर चित्त बुझाउँछन् । बुझाउँन डराउँने, भागेर हिड्ने चिकित्सकले कुटाई खाने सम्भावना बढी हुन्छ ।
हामीले आइओएममा सन् १९७८ देखि नै एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीलाई बिरामीसँग कुरा गर्न र सोध्न सिक्नु भनेर हिस्ट्री लिन लगाउँथ्यौ । मैले आफै पनि सन् २००४ मा इन्टर्नमाझ र दुई वर्षअघि रेजिडेन्टको कम्युनिकेशन सीपको अध्ययन गरेको थिएँ । तिनीहरुको क्षमता र सीप झन् कमजोर छ । नयाँ आउँदै गरेका चिकित्सक पनि बिरामीलाई पर्याप्त समय दिने खालका छैनन् ।
हामीले सञ्चार सीपसम्बन्धी कुरालाई परिमार्जित पाठ्यक्रममा राखेका छौं । यस विषयमा आइओएममा तालिम पनि भइरहन्छ । एउटा बिरामीले आफ्ना कुरा १ मिनेटमा भनिसक्ने भएपनि डाक्टरहरु १८ सेकेन्ड पनि सुनिदिदैंनन् । धेरै डाक्टरहरु बिरामीको भीड लाग्छ भनेर पर्याप्त समय दिन सकिन्न भन्छन् । पटक्कै समय नदिएर सय जना बिरामीलाई असन्तुष्ट र गलत उपचार गर्नुभन्दा १० जना बिरामीलाई पर्याप्त समय दिएर सही उपचार दिनु राम्रो हो ।
कुरा सुन्न भन्दा कुन औषधि लेख्दा फाइदा हुन्छ भन्ने प्रवृत्ति
अनुपम पोखरेल, मनोचिकित्सक, अष्ट्रेलिया
बिरामी जाँच्दा चिकित्सकले दिने समय निकै महत्वपूर्ण हुन्छ । बिरामीसँग राम्रो अन्तक्र्रियाका लागि चिकित्सकले कति समय दिनुपर्छ र दिन्छन् भन्ने बहस संसारभर नै छ । समय दिनुपर्ने कारण बिरामीसंग राम्रो अन्तक्र्रिया होस् भनेर नै हो । खासगरी चिकित्सक र बिरामीबीच सूचना आदानप्रदानका लागि समय महत्वपूर्ण कुरा हो । बिरामीले पनि आफ्ना सूचना चिकित्सकलाई दिनुपर्छ र चिकित्सकले पनि बिरामीको कुरा सुनेर आफ्ना कुरा स्पष्ट पारिदिनुपर्छ ।
रोग पहिचान गर्ने माध्यम सूचना नै हो । त्यो सूचना लिने समय १० या ३० मिनेट जति पनि हुन सक्छ । यो अवस्थाअनुसार निर्देशित हुन्छ । सामान्यतः चिकित्सकले बिरामीको हिस्ट्री र उसको जीवनशैलीबारे सोध्नुपर्छ र त्यसपछि बिरामीलाई उपचारबारे न्यूनतम कुरा बताउनुपर्छ । यसका लागि समय लाग्ने हो । यदि मानसिक रोगको उपचारका लागि आएको बिरामी हो भने कम्तिमा आधा घण्टा चाहिन्छ ।
फलोअपका लागि दोस्रो या तेस्रो भेट हो, सबै सूचना छ भने र पेस्क्रिप्सनमा पर्याप्त हिस्ट्री लेखिएको छ भने कम सूचना दिए पनि हुन्छ । नेपालमा २÷४ अक्षर लेख्ने चलन छ । उपयुक्त समय पनि नदिने र सही तरिकाले रेकर्ड नराख्दा फलोअपमा पनि बढी समय चाहिन्छ ।
नेपालका केही डाक्टरमा बिरामीका कुरा सुन्नतिर भन्दा पनि कुन औषधिको नाम लेख्दा फाइदा हुन्छ भन्ने प्रवृत्ति छ । अहिले अष्ट्रेलियामा बिरामीलाई कम समय दिएको गुनासो आएपछि सरकारले नयाँ नीति बनाउँदै छ । यसमा कम समय दिएमा इन्सुरेन्सको पैसा पनि कम दिने भन्ने प्रस्ताव गरिएको छ ।