संसारका सबै व्यक्ति सुख र शान्तिको खोजीमा दौडिरहेका छन्। दिनप्रतिदिन हामीहरु जे काम गर्छौं त्यसको एउटा उदेश्य हो सुख,शान्ति,स्वास्थ्य र सम्बृद्धि। विश्वका सबै देशहरुको मान्यता शान्ति स्थापना हुनुपर्छ भन्ने नै छ। तर त्यो शान्ति अहिलेसम्म भेटिन सकेको छैन। त्यसैले यहाँ शान्तिको लागि योगको महत्व माथि चर्चा गर्न खोजिएको छ।
एउटा परिवारलाई आत्मियताका साथ जोड्न शान्तिको आवश्यकता पर्दछ। शान्तिको लागि काम, क्रोध, लोभ, मोह,भय र त्रासबाट मुक्त हुनुपर्छ। यी नकरात्मक तत्वहरुबाट बच्न अष्टाङ्ग योगको महत्व वर्तमान समयमा अझ धेरै बढेको पाईन्छ। एउटा देशमा शान्ति भयो भने त्यसको प्रभाव अर्को देशमा पर्दछ। अहिले विश्वका थुप्रै देशहरुमा विज्ञानको चरम उपयोगद्वारा जसरी भौतिक सुखको परिकल्पना गरिँदैछ। त्यसले शरीर र आत्मामा केही शान्ति त थपिएको छ तर मनको शान्ति अपुरै मानिन्छ। शरीर ,आत्मा र मनको एकिकृत संयोजन नै शान्ति हो। जसले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चिन्तनमा समेत सकारात्मक उर्जाको प्रवाह गरिरहेको हुन्छ जसलाई हामी स्वास्थ्यको परिचय भनेर अध्ययन गर्ने गर्दछौं।
भगवान गौतम बुद्धले जसरि धेरै वर्षको कठोर तपस्याबाट शान्तिको सन्देश विश्व परिवेशलाई दिनुभयो, अवश्य पनि हो। त्यहाँ योग र ध्यानको संयोग थियो। अहिले जसरि आम मानव सभ्यतामाथि अशान्ति, अस्वस्थता र मनको विचलन जस्ता नकारात्मक प्रवाहका तरङ्गहरु तरंगित हुदैछन् यी सबैको कारक तत्व नैतिक शिक्षाको ह्रास र योग शिक्षाको सचेतनामा आएको कमि हो। यसलाई आधार मानेर हामीले मानव जातिका कमीकमजोरीको अध्ययन गर्न खोज्यौ भने महर्षि पतंजलिको अष्टाङ्ग योगलाई व्यहारमा लागू गर्दै अगाडि बढ्नु पर्दछ। यम, नियम , आशन, प्राणायाम, प्रत्याहार,धारणा, ध्यान र समाधीको क्रमबद्ध रुप अष्टाङ्ग योग हो।
१ यम- अष्टाङ्ग योगको पहिलो अंग यम हो। जसभित्र हामीले अहिंसा, सत्य, अस्तेय, ब्रह्माचर्या, अपरिग्रहलाई यी बुँदाहरुको व्याहारिक अभ्यास गर्दछौं।
(क) अहिंसा– कोहि कसैलाई मन बचन तथा कर्मले दु:ख नदिनु अहिंसा हो। अहिंसाको पालनाले मनको विचलन र चन्चलता हट्दछ।
(ख) सत्य- बोली र व्यवहारको एकरुपता नै सत्य हो।
(ग) अस्तेय- चोरी नगर्नु, भ्रष्टाचारको घेराबाट बाहिर रहदै अनुसासित जीवन बिताउनु नै अस्तेय हो।
(घ) अपरिग्रह- दैनिक जीविका चलाउन सरल जीवनयापनको अनुशासित रुप नै अपरिग्रह हो।अपरिग्रहको पालनाले समाज र देशमा भैरहेको भ्रष्टाचार न्यूनीकरणमा कमि आउनेछ।
(ङ) ब्रह्माचर्या- कामवाशनमा अनुशासित जीवनचर्या नै ब्रह्माचर्या हो।
२.नियम- शौच,सन्तोष, तप,स्वाध्याय, ईश्वर-प्रणीधान यी ५ वटा नियमको व्याहारिक अध्ययन नै नियम हो।
(क) शौच- शौचको अर्थ सफा हो जसरी पानीद्वारा शरीर शुद्ध गरिन्छ। सत्य-बोलीले मनको शुद्धता, शिक्षा र सामाजिक कार्यबाट आत्माको शुद्धि गर्न सकिन्छ।
(ख) सन्तोष- आफूसँग रहेको वुद्धि विवेक र साधनहरुको परिचालनबाट जे प्राप्त हुन्छ त्यसैमा खुसी रहनु नै सन्तोष हो।
(ग) तप- जन्मपछि मृत्युसम्म अनेक किसिमका आरोह, अवरोह र बाधा अट्चन आइरहन्छन, द्वन्दहरु भइरहन्छन, यी द्वन्दहरुबाट सफलता हासिल गर्नु नै तप हो।
(घ) स्वाध्याय- स्वयम आफ्नो अध्ययन,मनको अध्ययन र आत्माको अध्ययन नै स्वाध्याय हो।
(ङ) ईश्वर प्रणीधान- अध्यात्मिक चिन्तनमा एकाकार रहँदै इश्वरीय उर्जा प्राप्त गर्नु ईश्वरप्रणीधान हो।
३. आशन- आफूलाई आनन्द र सुख हुने खालको बसाई आशन हो। जस्तै: पद्माशन, बज्राशन, शिद्दाशन, सुखाशन आदि। आशनमा बस्दा मेरुदण्ड सीधा ज्ञानमुद्रा,ध्यानमुद्रा र खुसीसाथ बस्नुपर्दछ।
४. प्राणायम- आशनको पूर्णतापछि श्वासप्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रण गर्नु प्राणायम हो।श्वासलाई बाहिर छोडेर केहि समय स्थिर हुनु। स्वासलाई भित्र छातिमा भरेर केहि समय रोक्नु यी प्राणायमका विधि हुन्।
५. प्रत्याहार- शब्दको संयोग कान, स्पर्श संयोग छाला, रुपको संयोग आँखा, रसको संयोग जिब्रो र गन्धको संयोग नाकसँग हुने गर्दछ। यी पाँच इन्द्रियहरूको छुट्टाछुट्टै स्वार्थले हाम्रो मनमा बिचलन आइरहेको छ। माथि वर्णन गरिएका यम, नियम, आशन, प्राणायाम र प्रत्याहारको व्यवहारिक अभ्यासले जब हाम्रो मन नियन्त्रण हुन्छ त्यसपछि इन्द्रियहरुका आ-आफ्ना महत्वकांक्षी भावहरु समेत नियन्त्रणमा आई पुरै शरीरभित्र सकारात्मक सन्देशको भाव प्रकट हुन्छ।
६.धारणा- मनलाई कुनै एक निश्चित विषयमा केन्द्रिकृत गर्नु धारणा हो। जसरी प्रत्याहारको अभ्यासद्वारा इन्द्रियहरूलाई आफ्ना स्वार्थहरुबाट विमुख गरि मनसँगै एकाकार गरिन्छ भने धारणाले ति इन्द्रिय र मनको संयोगलाई कुनै एक विषयमा दोहोर्याउने काम गरिरहेको हुन्छ।
७.ध्यान- धारणाको अभ्यासले ध्यानको ज्योति जगाउँछ। जसरी धारणामा कुनै निश्चित स्वार्थका विषयबाट मनलाई निस्वार्थको भावमा प्रवेश गराईन्छ। त्यसैगरी ध्यानमा ईश्वरीय शक्तिका अतिरिक्त अन्य विषयको स्मरण गरिँदैन। त्यसैले ईश्वरीय शक्तिमा आनन्द र शान्तिमय स्वरूपमा मग्न हुनु ध्यान हो।
८. समाधी- ध्यानको व्यवहारिक अभ्यासपछि जब व्यक्ति हरेक किसिमका दु:ख भावले मुक्त हुन्छ त्यो नै समाधि हो। यद्यपि हाम्रो उदेश्य समाधि नभएर सुख,शान्ति,सम्वृद्धि र स्वस्थ देश निर्माणमा योगको महत्वको व्यवहारिक अभ्यासको सचेतना आम नागरिकसम्म पुर्याउनु हो।
(लेखक योग अभियन्नता हुन्।)