धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित आरएस फार्मेसीको अनुगमन गर्न कैलाली प्रशासनको नेतृत्वमा टोली जाँदै थियो। अनुगमन टोली नपुग्दै फार्मेसी सञ्चालक पसल बन्द गरेर अन्यत्र गए।
यही फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा जाँदा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ।
धनगढीका ३३ वटा फार्मेसी तथा क्लिनिकको अनुगमन गर्दा नौ वटा फार्मेसी बन्द रहेको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदनमा भनिएको छ–‘नौ वटा पसल अनुगमनका बखत बन्द रहेका थिए।’
अनुगमनका बखत रहेका क्लिनिक तथा फार्मेसीहरु कमजोरी भेटिने डरले बन्द गरेर राख्ने गरेको फार्मेसी सञ्चालकहरु नै बताउँछन्।
आरएस जस्तै आकस्मिक अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित एसियन, धनगढी १ को तुलसी, कुशल फार्मेसी बन्द रहेको थियो।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कामना मेडिसेल्स, भुवन ड्रग एण्ड हेल्थ जोन सेन्टर, दृष्टि मेडिकल हल, बालकृष्ण मेडिकल हल र मनोज मेडिकल हल बन्द थिए। खुल्ला रहेका फार्मेसी तथा क्लिनिकमा दर्ता नभएको, अनुमति प्राप्त नभएका औषधि सञ्चय गरेको, अनुमति प्राप्त नभएका औषधि बिक्री गरेको, व्यवसायीको अनुपस्थितिमा पसल सञ्चालन गरेको लगायतका त्रुटी टोलीले फेला पारेको थियो।
औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्रकुमार शाहले बजार अनुगमनमा जाँदा कर्णाली पुलबाटै गाडिको फोटो फार्मेसी सञ्चालकहरुसम्म पुगिसक्ने र त्यो थाहा पाएपछि उनीहरु बन्द गरेर बस्ने गरेको देखिएको बताए। उनी भन्छन्–‘फार्मेसी सञ्चालकबीच ठूलो सञ्जाल छ। चिसापानीमा गाडि देख्नेबित्तिकै अनुगमन टोली आएको एक अर्काभित्र खबर गर्छन्। अनि फार्मेसी पुग्दा बन्द हुन्छ।’
उनले अनुगमन टोलीलाई फार्मेसी सञ्चालकले सहयोग गर्नुभन्दा बढी असहयोग गरिरहेको बताए।
उनले भने–‘फार्मेसीमा चिकित्सकको सिफारिस बिना औषधि खुलेआम बिक्री गर्ने, दर्ता नभएका औषधि सञ्चय गर्ने तथा बिक्रीवितरण गर्ने, अयोग्य व्यक्तिलाई फार्मेसीमा राख्ने जस्ता बिकृति देखिएका छन्। यसले आम उपभोक्तानै मारमा परिरहेका छन्।’
उनले औषधि व्यवस्था विभागको कार्यक्षेत्र ठुलो भएकाले बजार अनुगमनमा स्थानीय प्रशासन र स्थानीय तहले पनि सहयोग गर्नुपर्ने बताए।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले औषधि व्यवस्था विभागको शाखा प्रदेशमा नहुँदा फार्मेसी तथा क्लिनिकमा हुने बिकृति नियमन हुन नसकेको बताए। उनले भने–‘यही प्रदेशमा विभागको कार्यालय स्थापना भए फार्मेसी तथा क्लिनिकको अनुगमन गर्न थप सहज हुन्छ। यसले यहाँ बढीरहेका बिकृतिमा कमी ल्याउन पनि मद्दत गर्छ।’