धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित राम्रो भरोसा फार्मेसीलाई औषधि पसल पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइयो। फागुन ८ गते प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा औषधि पसल अनुगमनका क्रममा सो फार्मेसीमा औषधि सञ्चालक थिएनन्।
संचालक नभेटिएपछि ‘व्यवसायी अनुपस्थितिमा पसल सञ्चालन गरेको र पहिलेको अनुगमनको निर्देशन अटेर गरेको’ भन्दै ‘पसल रद्द गर्न वा व्यवसायी परिवर्तन गर्न’ टोलीले निर्देशन दियो। तर, अझै पनि सो फार्मेसी सञ्चालनमा रहेको छ।
बिहिबार सो फार्मेसीमा औषधि खरिद गर्नेको भिड रहेको थियो। फार्मेसी सञ्चालकले अर्को मान्छेलाई राखेर सेवा प्रदान गरिरहेका थिए।
सो फार्मेसी योगेश पन्तको नाममा रहेको छ। उनको दर्ता नम्बर ‘ए ७५९४’ हो। तर, फार्मेसीमा भुवन भट्ट भेटिन्छन्।
राम्रो भरोसा फार्मेसीझै सयपत्री फार्मेसी र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित बसन्त फार्मेसीमा पनि व्यवसायी अनुपस्थितिमा सञ्चालनमा रहेको थियो। टोलीले दुवै फार्मेसीलाई ‘पूर्ण रुपमा बन्द गर्न र सक्कल प्रमाणपत्रसहित औषधि व्यवस्था विभाग नेपालगञ्जमा उपस्थित हुन’ निर्देशन दियो। तर, यी फार्मेसी पनि अहिले धमाधम सेवा प्रदान गरिरहेका छन्।
बसन्त फार्मेसीले दर्ता नभएको औषधि सञ्चय गर्नुका साथै बिलमा पनि नम्बर नभएकोे पाइएको थियो। दर्ता नभएका कुनै पनि फार्मेसीले औषधि बिक्री वितरण तथा सञ्चय गर्न नपाउने व्यवस्था रहेको छ। तर अनुगमन टोलीले पूर्ण रुपमा बन्द गर्न भनेर गएको भोलीपल्ट देखि नैै यी फार्मेसी संचालन भइरहेका छन्। अवैध र गैरकानूनी रुपमा फार्मेसीहरु सञ्चालन भइरहँदासमेत सम्बन्धित निकायले थप कारबाही गर्न सकेको छैन। प्रशासनले चेतावनी दिने र बन्द गर्न निर्देशन दिँदै आएपनि कारबाहीको दायरामा भने ल्याउन नसक्दा धनगढीमा सञ्चालनमा रहेका औषधि पसल नियमन हुन सकेका छैन।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी भन्छन्–‘अयोग्य व्यक्ति फार्मेसीमा बस्दा चिकित्सकले सिफारिस गरेको भन्दा पनि फरक औषधि दिन सक्ने जोखिम बढ्छ। जसले गर्दा बिरामी ठिक हुने भन्दा पनि थप असर व्यहोर्नुपर्ने हुन्छ।’ उनले फार्मेसी सञ्चालक नभएपछि त्यहाँ भएका व्यक्तिले आफूखुसी महँगोमा औषधि बिक्री गर्ने बताए। उनले भने–‘पैसा कमाउने उद्देश्यले सञ्चालनमा ल्याइएका फार्मेसीहरुका कारण आम उपभोक्ता मारमा पर्छन्। यसका लागि औषधि व्यवस्था विभागले अनुगमनलाई नियमित गर्नुपर्छ।’
कैलाली अस्पतालका सञ्चालक जनक जोशीले औषधि व्यवस्था विभागले नियमित अनुगमन नगर्दा फार्मेसीमा बिकृति बढ्दै गएको बताए। उनले भने–‘विभागको शाखा प्रदेशमा छैन। नेपालगञ्जमा रहेको शाखामा पनि जनशक्ति छैन्। यसका कारण यहाँ शहर केन्द्रित फार्मेसी तथा क्लिनिकमा अनुगमन हुन्छ। शहर भन्दा पनि दुर्गम गाउँमा सञ्चालनमा रहेका क्लिनिक तथा फार्मेसीमा वेथिति बढीरहेको छ।’