काठमाडौं- यही फागुन २० गते नेपाल फार्मास्युटिकल्स एसोसिएसनको निर्वाचन हुँदैछ। निर्वाचनको तयारीमा उम्मेदवारहरु जुटिरहेका छन्। एसोसिएसनको नेतृत्वका लागि तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्तले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। अध्यक्षका तीनै जना उम्मेदवारसँग हामीले कुराकानी गरेका छौँ। उनीहरुलाई तपाईको उम्मेदवारी किन ? र, तपाईको एजेण्डा के के छन् ? भन्ने प्रश्न गरेका थियौँ:
एनपीएलाई समावेशी, क्रियाशील र भिजिवल बनाउँछु : डा रोभस कुसुम सुवेदी
नेपाल फार्मास्युटिकल्स एसोेसिएसन (एनपीए) पुरानो संस्था हो। सबै फार्मासिस्टहरुलाई समेटेर, समावेशी भएर अघि बढ्ने फार्मेसी पेशाका मुद्दाहरु उठान गर्ने, सुधार गर्ने अवधारणाका साथ यो संस्थाको स्थापना भएको हो। तर संस्था क्रियाशील र एकजुट हुन सकेन। छुट्टै संस्थाहरु खुल्ने क्रम भयो। मुख्य संस्था क्रियाशील नहुँदा नै विभिन्न हाँगाविगाहरु पलाउन थाले। मुख्य संस्था क्रियाशील नहुँदा नै फार्मेसी पेशा र फार्मासिस्टहरुको एकजुट आवाज उठ्न सकेन। एकजुट हुन नसक्दा नै सुधार हुनुपर्ने पक्षहरुको सुधार हुन सकेन। औषधि र फार्मेसीको क्षेत्रमा हुनुपर्ने नीतिगत सुधार पनि हुन सकेन। यी विषयहरु प्रदेश र स्थानीय तहमा उठ्नुपर्ने बेलामा केन्द्रमै यो कुराहरु स्पष्ट भइरहेको छैन।
फार्मेसी पेशामा पनि सेक्युरिटी हुन्छ। दीर्घकालीन स्थायित्व हुन्छ भन्ने जसरी यो सशक्त हुनुपर्ने थियो। त्यो नभएको अवस्थामा मैले मेरो तर्फबाट केही योगदान दिन सक्छु की भन्ने सोचाईका साथ नेतृत्वमा आउन खोजेको हुँ। औषधि उद्योग, शैक्षिक संस्था, सामुदायिक फार्मेसी यी सबै क्षेत्रमा पेशागत सुरक्षादेखि व्यावसायिकताको विकासका लागि कुनै एक निकायले पहल गर्नुपर्छ। र, त्यो पहल एनपीएले गर्नुपर्ने हो। सरोकारवाला, नियमन निकाय र सर्वसाधारणबीच एउटा पुलको काम गर्न पनि एनपीएको भूमिका छ। त्यही भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ। र, यो आवश्यकता पनि छ। संस्था धेरै लथालिङ्ग भयो अब यसलाई क्रियाशिल बनाएर अघि बढाउनुपर्छ भन्ने सुझाव आयो। म पनि एक फार्मासिस्ट भएको नाताले मैले पनि यो संस्था र फार्मेसी क्षेत्रमा योगदान गर्न सक्छु भनेर आएको हुँ। मैले कसैलाई भन्न खोजेको होइन। तर यो संस्था धेरै नै क्रियाशिल हुनुपर्ने हो भन्ने मेरो बुझाई र तर्क हो।
चुनावमा गएपछि जित हार अवश्य पनि हुन्छ। जोखिम छ। तर जोखिम छ भन्दैमा म डराए भने परिवर्तन कसरी हुन्छ। धेरै ठूला ठूला कुरा गर्दिन। तर म आएको खण्डमा यो संस्थालाई समावेशी, क्रियाशिल र भिजिबल बनाउने प्रयास रहन्छ।
फार्मासिस्टको हक हितका मुद्दाहरु उठाउँछु : ललित मोहन पन्त
फार्मासिस्टको हक हितका मुद्दाहरु उठाउनुपर्ने टड्कारो आवश्यकता छ। तर एनपीएको नेतृत्वका लागि उठ्नु भएका उम्मेदवारहरुमा त्यो फार्मासिस्ट प्रतिको त्यो मोह देखेको छैन। त्यसैले पनि म अध्यक्षको रुपमा उठेको हुँ। हामीले गएको वर्ष विधान संशोधन गर्यौँ। विधान संशोधनप्रति एनपीएलाई विकेन्द्रित गर्ने कुरा ग¥यौँ। सात वटा प्रदेश र डिप्लोमा सहितको कमिटि बनाउने हामीले परिकल्पना ग¥यौँ। परिकल्पना गर्ने व्यक्तिले नै त्यसलाई पुरा गर्न सक्छ भनेर मैले उम्मेदवारी दिएको हुँ। म र मेरो टिमले मुख्य गरी तीन वटा कुरा उठाएका छौँ। पहिलो काम हो, पेशागत हकहितका लागि आवाज उठाउने र आवाज बुलन्द गर्ने। यसलाई हामी एकदमै सशक्त रुपमा उठाउँछौँ। पेशाकर्मीहरु ठाउँ ठाउँमा पीडित छन्। उनीहरुको तलबका कुरा छन्। कामका कुराहरु छन्। मार्केटिङ, उद्योग, शैक्षिक संस्थाहरु, कम्युनिटी फार्मेसीमा काम गर्ने फार्मासिस्टहरुको यावत समस्याहरु छन्। र, ती हकहितका कुराहरु हामीले उठाउँछौँ।
दोस्रो काम हो, नीतिगत तहमा काम गर्ने। नीतिले सबै नीतिगत विषयहरु समेट्ने भएकाले हामीले नीतिगत तहमा काम गर्ने हो। औषधि ऐन परिमार्जन गर्ने कुराहरु उठिरहेका छन्। अस्पताल फार्मेसी निर्देशिका छन्। नेपाल फार्मेसी काउन्सिल छ। यी यी ठाउँहरुमा काम गर्नुपर्ने जरुरी छ। र, हामी यही नीतिगत तहमा काम गर्छौ।
र, तेस्रो काम हो, दर्ता भएका फार्मासिस्ट र सहायक फार्मेसी क्षमता वृद्धि गर्ने। फार्मासिस्टहरुको प्राविधिक ज्ञानलाई अपडेट गर्नुपर्ने आवश्यकता छ। उहाँहरुलाई तालिम लिने, क्षमता बढाउन विभिन्न तालिमहरुको आयोजना गर्ने योजना छ। मुख्य गरी हामीले यी तीन वटा काम गर्ने सोचेका छौँ। यो बाहेक पनि एकीकृत रुपमा अन्य क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने, सहकार्य गर्न आवश्यक छ। यही सहकार्य गर्ने पनि हामीले योजना बनाएका छौँ।
भएका ऐन, कानूनलाई कार्यान्वयन गराउँछु : फुलगेन साह
यो देशमा स्वास्थ्य ऐन छ। फार्मेसी सम्बन्धि ऐनहरु पनि छन्। यो देशमा सबै ऐन कानून सबै छ। फार्मेसी पेशा र फार्मासिस्टको हकहितका लागि पनि धेरै राम्रा प्रावधानहरु कानूनी रुपमा छन्। तर कार्यान्वयन भने कतै छैन। यो अवस्थामा हाम्रो एनपीए संस्था बलियो र प्रभावकारी हुन आवश्यक छ।
एनपीए आफैँमा बलियो संस्था हो। तर नेतृत्वले समय दिन नसकेर हो की, स्टेक होल्डरहरुसँग आवश्यक सहकार्य गर्न नसकेर हो की समस्या भएको हो जस्तो मलाई लाग्छ। त्यसैले एनपीएमा म निर्वाचित भएर गए भने दिनको तीनदेखि चार घण्टा समय दिएर यसको आवश्यकता के छ, कुन ऐनले के भन्छ र ऐनले भनेका प्रावधानहरु कार्यान्वयन गर्न मेरो पहल रहन्छ। मेरो मुख्य एजेण्डा भनेकै भएका कानूनलाई व्यवहारिक रुपमा लागू गराउनु हो। जसबाट देश, जनता र पेशाकर्मी लाभान्वित होस्।