काठमाडौं– डा प्रकाश क्षेत्री सानै छँदा बुबा मिर्गौला रोगको बिरामी थिए। चिकित्सकले बुबाको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिए। त्यतिबेला नेपालमा मिर्गौलो प्रत्यारोपणको सुविधा थिएन।
विसं २०६५ सालदेखि मात्र नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भयो। प्रत्यारोपणको सुविधा नभएकै कारण परीक्षण र उपचारका लागि प्रकाशको परिवार भारत जान बाध्य थियो।
भारतमै बुबाको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
मिर्गौलाको उपचारका लागि परिवारले भोगेको पीडा सानो थिएन। त्यतिबेलैदेखि उनले अठोट गरे– मिर्गौला रोग विशेषज्ञ बन्ने र पोखरामै प्रत्यारोपणको सेवा सर्वसुलभ बनाउने।
‘चाँर पाँच कक्षा पढ्थेँ, बुवाको मिर्गौला प्रत्यारोपण शिलशिलामा म पनि परिवारसँगै भारत जान्थेँ। त्यो बेला हामीले भागेको समस्या देखेर मलाई डाक्टर बन्ने इच्छा भयो,’ उनले भने।
पोखरामै छुट्टै नेफ्रो युरो ट्रान्सप्लान्ट भवन बनाउने सपना
कास्कीको देउरालीमा जन्मिएका डा क्षेत्री परिवारको जेठो छोरा हुन्। सानै उमेरदेखि पढाइमा अब्बल थिए उनी।
डा क्षेत्री हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ कन्सल्टेण्ट सर्जन एवम् युरोलोजिस्टको रुपमा कार्यरत छन्। प्रतिष्ठानमै मिर्गौला रोगको सबै किसिमको उपचार सर्वसुलभ रुपमा उपलब्ध गराउने सपना उनको छ।
प्रतिष्ठानमै छुट्टै नेफ्रो युरो ट्रान्सप्लान्ट भवन बनाउने प्रयास उनले गरिरहेका छन्। यसका लागि अस्पताल र अन्य निकायसँग छलफल गरिरहेको प्रकाश बताउँछन्।
‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सुविधा सम्पन्न मिर्गौलाको भवन होस्। नेफ्रो युरो ट्रान्सप्लान्टको सबै सेवा यही भवनमा गरियोस्,’ उनी आफ्नो सपना सुनाउँछन्।
प्रतिष्ठानभित्र छुट्टै भवन बनाउनका लागि प्रदेश सरकारसँग पनि सहयोग मागिरहेको उनी बताउँछन्।
अन्य ठाउँ जस्तै पोखरामा पनि मिर्गौलाको डायलाइसिस र प्रत्यारोपण गर्ने बिरामी धेरै छन्। त्यसकारण पनि पोखरामा छुट्टै भवन बनाउन आवश्यक रहेको उनी बताउँछन्।
पोखरामै मिर्गौला प्रत्यारोपणको सुविधा भएकाले भारत लगायत अन्य देशमा जानुपर्ने बाध्यता त अहिले छैन। ‘निःशुल्क आफ्नै ठाउँमा, आफ्नै घरको खाना खाएर मिर्गौलाको प्रत्यारोपण गर्न पाउनु खुसीको कुरा हो,’ उनी भन्छन्।
प्रतिष्ठानले हाल मासिक रुपमा एकदेखि दुई जनाको मिर्गौला प्रत्यारोपण गर्छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणको सहयोगमा प्रतिष्ठानले प्रत्यारोपण गर्दै आएको छ।
डा प्रकाशको उद्देश्य छ, ‘अब हप्तामा एक जनाको मिर्गौला प्रत्यारोपण गर्न सकियोस्।’
मिर्गौलाको डायलाइसिस र प्रत्यारोपण सेवालाई सर्वसुलभ बनाइनुपर्ने जोड डा प्रकाशको छ। ‘काठमाडौं केन्द्रित मात्र हैन, यो सेवा उपत्यका बाहिर पनि विस्तार गर्नुपर्छ,’ उनी भन्छन्।
पहिलो जागिर डडेल्धुरामा
विद्यालयस्तरको शिक्षा उनले पोखराबाटै लिए। बेलायतमा एमबीबीएस गरेका उनले एमडी महाराजगञ्ज चिकित्सा क्याम्पस आइओएम र एमसीएच युरोलोजी न्याम्स वीर अस्पतालबाट गरे।
उनकोे पहिलो जागिर २०६४ सालमा डडेल्धुराको जोगबुढा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको रुपमा थियो। पहिलो जागिर गर्दाका अविष्मरणीय स्मृति छन् डा प्रकाशसँग। सुरुमा त गाउँको नाम सुन्दा लाग्यो, ‘ओहो विकट ठाउँ पो हो कि !’ जानुअघि उनले त्यो ठाउँमा बाटो र बिजुलीको सुविधाबारे जान्न चाहे।
बाटो र बिजुली दुवैको समस्या नभएको थाहा पाएपछि उनी डडेल्धुरा पुगे। त्यहाँ पुगेपछि उनले डडेल्धुरा आफूले सोचेजस्तो विकट पाएनन्।
जागिरको क्रममा सुदूरपश्चिमप्रति उनको प्रेम बढ्दै गयो।
प्राथमिक स्वास्थ्य केन्द्रबाट ०६७ सालमा उनले मेडिकल अधिकृतको रुपमै डडेल्धुरा जिल्ला अस्पतालमा काम गरे। अध्ययनको शिलशिलामा महाराजगञ्ज चिकित्सा क्याम्पस काठमाडौंमा फर्किनुपरेको थियो। अध्ययन सकाएपछि ०७० सालमा उनी फेरि डडेल्धुरामै फर्किए। यो पटक उनी फरक जिम्मेवारीका साथ फर्किएका थिए। डडेल्धुराको जिल्ला अस्पताल पनि उपक्षेत्रीय अस्पतालको रुपमा परिणत भइसकेको थियो। निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा पुगेका उनी चिकित्सकसँगै प्रशासनिक जिम्मेवारीमा पनि थिए। उनलाई काम गर्न भने गाह्रो थिएन।
‘पहिले पनि त्यहाँ काम गरिसकेको थिए। त्यहाँको जनताले चिन्नुहुन्थ्यो र माया गर्नुहुन्थ्यो। त्यसकारण झनै सहयोग पुग्यो,’ उनी भन्छन्।
त्यहाँ नौ महिना काम गरेपछि उनी सेती अञ्चल अस्पतालमा सरुवा भए। सेतीमा डेढ वर्ष सेवा गरेपछि ०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे।
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षेनी उत्कृष्ट सेवा दिने स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्ने गरेको छ। स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले यस वर्षको एक लाख रुपैयाँ राशीको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डा क्षेत्रीलाई पुरस्कृत गर्यो।
आफूले पुरस्कारको अपेक्षा नगरे पनि सरकारले कामको मूल्यांकन गरेकोमा उनी खुसी छन्। ‘सपना अनुसारनै मैले काम गरिरहेको थिएँ। पुरस्कारले अझै केही गर्नुपर्छ भन्ने हौसला बढाउँदो रहेछ,’ डा प्रकाश भन्छन्।