काठमाडौं- कुनै पनि रोगको शल्यक्रिया गर्दा बिरामीलाई दुखाईको महसुस नहोस् भन्ने उद्देश्यले एनेस्थेसिया प्रयोग गरिन्छ। एनेस्थेसिया भनेको शल्यक्रियाका क्रममा बिरामीलाई लठ्ठाउनु वा बेहोस बनाउनु हो।
बिरामीलाई बेहोस गराई सकेपछि अक्सिजन र भेन्टिलेसनको सहयोग चाहिन्छ। त्यसको लागि फोक्सोमा ट्युब अर्थात् पाइप छिराउनु पर्दछ। त्यो ट्युब फोक्सोमा छिराउने तीन तरिकाहरु छन्। मुख र नाकबाट ट्युब छिराउने वा घाँटीमा प्वाल पार्ने। घाँटीमा प्वाल पारेर ट्युब छिराउने प्रक्रिया।
एनेस्थेसियाको प्रयोग शरीरको कुन भागको शल्यक्रिया गरिदैछ त्यसमा निर्भर गर्दछ। साधारणतया शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पार्नुपर्ने हुन्छ। जसलाई जेनरल एनेस्थेसिया भनिन्छ। त्यो बाहेक स्पाइनल (ढाडबाट सुई लगाउने) र लोकल एनेस्थेसिया (चिर्नुपर्ने अथवा टाका लगाउनुपर्ने स्थान) लगायतका अन्य विधि हुन्छन्।
शल्यक्रियाका क्रममा बिरामीलाई बेहोस बनाएपछि उसले आफैं श्वासप्रश्वास गर्न सक्दैन। उनीहरुको श्वासप्रश्वासमा कुनै पनि किसिमको अवरोध आउन नदिन कृत्रिम तरिकाले श्वासप्रश्वास गराउनु पर्दछ।
शल्यक्रिया गर्दा बिरामीलाई बहोस बनाएपछि मुख, नाक र घाँटीबाट ट्युब छिराएर श्वासप्रश्वास गराइने त्रिवि शिक्षण अस्पतालका एनेस्थेसियोलोजिस्ट डा नविन्द्रराज विष्ट बताउँछन्। यी मध्ये सबैभन्दा धेरै भइरहेको अभ्यास मुख र नाकबाट ट्युब छिराएर गराइने श्वासप्रश्वासको प्रक्रिया हो।
बिरामीलाई बेहोस बनाउँदा फोक्सोमा अक्सिजन जान सहयोग गर्ने र भेन्टिलेसनका लागि लागि साधारणतया मुखबाट ट्युब छिराई फोक्सोसम्म पुर्याइन्छ। तर यो सबै अवस्थामा सम्भव नहुने डा विष्ट बताउँछन्।
‘कुनै पनि बिरामीलाई सुरुमा बहोस हुने औषधि दिन्छौं। बिरामीको होस विस्तारै जान्छ। होस गइसकेपछि बिरामी आफैंले श्वास फेर्न सक्नु हुन्न’ उनले भने, ‘हामीले कृत्रिम रुपमा अक्सिजन दिन्छौँ।’
कुन अवस्थामा पारिन्छ घाँटीमा प्वाल?
बिरामी बेहोस भएपछि कृत्रिम रुपमा दिइने अक्सिजनको निश्चित प्रक्रियाहरु हुन्छन्। डा विष्टका अनुसार पहिले मुखमा फेस मास्क राखिन्छ। र, फोक्सोमा ट्युब राख्नुपर्ने भएकाले ट्युब मुखबाट छिराइन्छ।
ट्युब सफल रुपमा छिराइसकेपछि बिरामीलाई भेन्टिलेटरमा राखेर शल्यक्रिया सुरु गरिन्छ। तर कुनै बेला मुख र नाक दुवैबाट ट्युब छिराउन सकिने अवस्था हुँदैन। त्यो बेला शरीरमा अक्सिजनको कमी हुन सक्ने भएकाले आपतकालीन अवस्थामा मात्र घाँटीमा प्वाल पारेर ट्युब छिराउनुपर्ने डा विष्टले बताए।
उनले भने, ‘मुखबाट ट्युब हाल्न सकेनौं या ब्याक गर्न खोज्दा पनि सकेनौं भने त्यो बेला बिरामीलाई बचाउन क्षणिक समय पनि एकदमै महत्वपूर्ण हुन्छ। यो अवस्थामा अन्तिम उपाय भनेको घाँटीमा प्वाल पार्नुपर्छ।’
मुटुबाट फाल्ने रगतको २० प्रतिशत हिस्सा मस्तिष्कमा पुग्ने गर्दछ। यदी मस्तिष्कले ३ देखि ८ मिनेटभित्रमा अक्सिजन नपाए मस्तिष्कका कोषहरु मर्न थाल्छन्। त्यो अवस्था आउन नदिन र बिरामीको जीवन बचाउनका लागि आपतकालीन अवस्थामा मात्र घाँटीमा प्वाल पारिने डा विष्ट प्रष्ट्याउँछन्।
घाँटीमा प्वाल पार्ने प्रक्रियालाई चिकित्सकिय भाषामा ‘क्रिकोथाइराटोमी’ र ट्र्याकियोस्टोमी भनिन्छ। यी दुवैको प्रक्रिया एउटै हुन्छ र उद्धेश्य भनेको बिरामीको जीवन जोगाउनु हो।
शल्यक्रियाका क्रममा आपतकालीन अवस्थामा तत्कालै (केही सेकेन्डभित्र) घाँटीमा प्वाल पारेर श्वासप्रस्वास प्रक्रिया अगाडि बढाउने प्रक्रियालाई ‘क्रिकोथाइराटोमी’ भनिन्छ। यो प्रक्रिया एकदमै आपतकालिन अवस्थामा गरिन्छ।ट्र्याकियोस्टोमी भने मुख वा नाकबाट पाइप छिराउन नमिल्ने अवस्थाका बिरामीको शल्यक्रियाका क्रममा योजना बनाएर गर्ने गरिन्छ।
घाँटीमा पारिएको प्वालबाट ट्यूब छिराएर श्वासप्रस्वास गराउने प्रक्रिया अर्थात ‘क्रिकोथाइराटोमी’मा उक्त ट्युब सामान्यतया ७२ घण्टासम्म राखिन्छ। तर बिरामीको अवस्था र आवश्यकता अनुसार ७२ घण्टाभन्दा बढी पनि ट्युब राख्नुपर्ने हुन्छ। ट्र्याकियोस्टोमी राखिएको ट्युब भने बिरामीको अवस्था हेरेर केही हप्ता वा वर्षौसम्म पनि राख्न सकिन्छ।
आपतकालीन अवस्थामा मात्र घाँटीमा प्वाल पारिने भएपनि चिकित्सकले कुनै बेला योजनावद्ध रुपमा पनि घाँटीमा प्वाल पार्ने प्रक्रिया अपनाउने गर्छन्। तर त्यो बिरामीको शारीरिक र स्वास्थ्य अवस्थामा पनि निर्भर गर्दछ।
डा विष्ट यो अवस्थालाई यसरी बुझाउँछन्, ‘पहिले नै मुखबाट ट्युब हाल्न सकिँदैन। घाँटीमा ठूलो ट्युमर छ। जलेको छ। मुख र नाकमा घाउ छ भने यो अवस्थामा घाँटीमा पहिले नै प्वाल (ट्र्याकियोस्टोमी) पारेर शल्यक्रिया सुरु गर्छौं।’
चिकित्सकले पहिले नै योजनावद्ध रुपमा घाँटीमा प्वाल पार्दैछ भने आफन्त र बिरामीलाई अगाडि नै जानकारी गराउँछन्। तर आपतकालीन अवस्थामा भने केही मिनेट पनि महत्वपूर्ण हुने भएकाले ‘क्रिकोथाइराटोमी’मा खबर गर्ने अवस्था नहुने उनले बताए। नेपालमा मात्र नभई विश्वका अन्य देशहरुमा पनि यही अभ्यास हुने गरेको उनले सुनाए। ट्युबको आकार घाँटीको बनावट र उमेर अनुसार फरक हुन्छ।
बिरामीको ज्यान जोगाउन गरिने आपतकालीन प्रक्रिया
त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपाने सामान्यतया शल्यक्रियाका क्रममा घाँटीमा प्वाल पार्नु एउटा आपतकालीन प्रक्रिया भएको बताउँछन्।
यो जीवन रक्षाका निम्ति गरिने प्रक्रिया हो। र, यो प्राय सबै चिकित्सकहरुलाई आफ्नो मेडिकल तालिमका क्रममा सिकाइएको हुन्छ। यो कुनै पनि बिरामीको जीवन रक्षाका लागि आपतकालीन अवस्थामा गरिने एउटा महत्वपूर्ण पाटोमा पर्ने उनले बताए।
घाँटीमा प्वाल पारिने कारणहरुलाई डा न्यौपाने बुँदागत रुपमा प्रस्तुत गर्छन्:
१. शल्यक्रिया गर्नुपर्ने बिरामीको मुख खोल्न मिल्दैन। पाइप हाल्न सक्ने अवस्था हुँदैन भने घाँटीमा प्वाल पार्नुपर्ने हुन्छ।
२. मुखको क्यान्सर भएका बिरामीहरु। उनीहरुको मुखको नै शल्यक्रिया गर्नुपर्ने भएकाले अगाडि नै योजना बनाएर घाँटीमा प्वाल पार्नुपर्ने हुन्छ।
३. टाउको चोटपटक लागेका बिरामीहरु। जसलाई एक/डेढ महिनासम्म भेन्टिलेटरमा राख्नुपर्ने छ भने घाँटीमा प्वाल पार्नुपर्ने हुन्छ।
४. लामो समयदेखि भेन्टिलेटरमा रहेका बिरामी पनि यस अन्तर्गत पर्दछन्। फोक्सोमा संक्रमण छ भने उनीहरुको फोक्सो माथिबाट ट्युब छिराएर सफा गर्न सकिँदैन। यसको लागि घाँटीमा प्वाल पारी ट्युब छिराएर सफा गर्नुपर्ने हुन्छ।
डा योगेश भन्छन्, ‘कुनै पनि बिरामीलाई बेहोस बनाउँदा श्वासप्रश्वासका लागि सबैभन्दा पहिले मुखबाट ट्युब हाल्छौं। तर कोहीको मुखबाट अप्रेशन गर्नुपर्ने छ भने नाकबाट ट्युब हालिन्छ। अथवा मुख र नाकबाट हाल्न सकिएन भने घाँटीमा प्वाल पारेर हाल्ने हो।’
डा न्यौपानेका अनुसार घाँटीमा प्वाल पारेर ट्युब हाल्नु सामान्य रुपमा गरिदैन। यो आपकालीन अवस्थामा मात्र गरिन्छ। आपतकालीन अवस्थामा कुनै पनि चिकित्सकले यो प्रक्रिया गर्न सक्नु भनेको उसको कमजोरी नभई दक्षता भएको उनको भनाइ छ।
‘कहिले काँही सबै ठिकै भएको बिरामीमा शल्यक्रियाका क्रममा समस्या आउन सक्छ। त्यो बेला बिरामीको आफन्तसँग कुरा गर्दा ढिला हुन सक्छ। त्यसैले यो भनेको आपतकालीन अवस्था हो। जसमा चिकित्सकले आफ्नो विवेक लगाएर गर्नुपर्ने प्रक्रिया हो’ उनले भने।
अन्य विषयका शल्यक्रियामा यो आपतकालीन अवस्था भएपनि नाक, कान, घाँटीको विभागमा यो आम अभ्यास प्रक्रिया भएको डा न्यौपाने बताउँछन्।