काठमाडौं- बिरामीहरुको अत्यधिक भीड हुने विभागमध्ये एक हो, वीर अस्पतालको चेस्ट युनिट। ६ वर्षअघि धेरैमा १० देखि १५ जना बिरामी पुग्ने यो युनिटमा अहिले चाप वर्षेनी बढ्दै छ। इन्टरनल मेडिसिन विभाग अन्तर्गतको उक्त युनिटमा हाल दैनिक एक सयदेखि डेढ सयसम्म बिरामी उपचारका लागि पुग्छन्।
वीर अस्पतालमा ग्याष्ट्रोइन्ट्रोलोजी, न्यूरोलोजी, इण्डोक्राइन, प्याथोलोजी लगायतका विशेषज्ञ सेवाहरु पहिलेदेखि सञ्चालित थियो। तर छातिरोग सम्बन्धीका बिरामीहरु धेरै भएपनि छुट्टै चेस्ट युनिट भने थिएन। विशेषज्ञ चिकित्सक पनि थिएनन्। १३३ वर्ष (वि.स १९७४) पुरानो वीर अस्पतालमा यो चेस्ट युनिटको स्थापना ६ वर्ष अघि (सन् २०१७) मात्र भएको थियो। त्यो बेला डा अशेष ढुंगाना भारतबाट एमडी र डीएमको अध्ययन सकाएर नेपाल फर्किएका थिए। त्यो बेला पनि डा भूपेन्द्र कुमार बस्नेत अस्पतालको निर्देशक थिए।
भारतबाट नेपाल फर्किएपछि डा ढुंगानाले वीर अस्पतालमा मेडिकल अधिकृतको रुपमा ज्यालादारीमा काम गर्न सुरु गरे। ६ वर्ष अघि वीर अस्पतालमा छातिरोग सम्बन्धी उपचारका लागि ओपिडी पनि थिएन। ओपिडी क्लिनीकमा आफु एक मात्र चिकित्सक रहेको डा ढुंगाना बताउँछन्। उनी भन्छन्, ‘हामीले सुरुमा छातिको ओपिडी सुरु गर्यौँ। म एक्लै थिएँ। मसँग जुनियर डाक्टरहरु पनि हुनु हुन्थेन। त्यो बेला एक जना मात्र डाक्टर भएकाले धेरै बिरामी भर्ना गर्न सकिँदैन थियो।’
हप्ताको तीन दिन छातिको क्लिनीक सुरु भयो। छातिको रोग भएका बिरामीहरुलाई अलग भर्ना गर्न सुरु गरियो। ओपिडीसँगै स्पाइरोमिटर अर्थात् फुकेर गर्ने जाँच गरी दुई वटा मात्र जाँच थियो। ब्रोन्कोस्पकोपि भने उपकरण बिग्रिएका कारण बन्द थियो।
बिरामीको संख्या विस्तारै बढ्दै गएपछि चेस्ट युनिटमा सेवाहरु पनि थपिदै गए। वीर अस्पतालमा पहिलो पटक इण्डोब्रोक्योनल अल्ट्रासाउण्ड भित्र्याएको डा ढुंगाना बताउँछन्। यो अल्ट्रासाउण्डले छाति भित्र लुकेर रहेका गाठा गुठ्ठीहरु पत्ता लगाउँछ। यो सेवा सुरु गरेपछि काठमाडौं बाहेक अन्य जिल्लाहरुबाट पनि रेफरल बिरामीहरु आउन थालेको डा ढुंगानाले बताए।
नयाँ–नयाँ प्रविधि भित्र्याउने तयारी गरिरहँदा जनशक्ति थप्नु अर्को महत्वपूर्ण पाटो थियो। डा ढुंगानासँग अर्का छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ पनि यही युनिटमा जोडिए। यो सँगै इबर्स, थोरास्कोपी र ब्रोनोस्कोपी पनि सुरु भयो। त्यो बेला मेडिकल थोरास्कोपी सेवा एक÷दुई वटा निजी अस्पतालमा मात्र उपलब्ध थियो। आफुहरुले सरकारी अस्पतालमा यो सेवाको सुरुवात गरेको डा ढुंगाना दाबी गर्छन्।
‘ब्रोनस्कोप नयाँ किनेर ब्रोनोस्कोपी सेवा सुरु गर्यौँ। विस्तारै यो सेवा लिने बिरामीहरुको लोड पनि बढ्न थाल्यो की हामीले हप्ताको दुई दिन १०÷१० वटा गर्दा पनि नधान्ने अवस्था आयो। जबकी पहिले मुश्किलले हप्तामा दुई चार वटा ब्रोनोस्कोपी हुन्थ्यो।’ उनले भने।
पल्मोनरी फङ्गसन्स टेस्ट (पिएफटी) अन्तरत दम रोगी र फोक्सो सम्बन्धी रोग भएका बिरामीको परीक्षण गर्ने सुविधा पनि थप गरिएको उनले बताए। निद्रा सम्बन्धी र घुर्ने समस्याको परीक्षणका लागि स्लीप ल्याबको सुरुवात पनि वीर अस्पतालमा गरिएको छ। यो परीक्षण बाहिरका निजी अस्पतालमा १२ देखि १५ हजार रुपैयाँ शुल्क लाग्छ। तर वीर अस्पतालमा भने तीन हजार रुपैयाँमै निद्रा सम्बन्धी समस्याको परीक्षण गर्न सकिन्छ।
बिरामी धेरै जनशक्ति थोरै
६ वर्ष अघि वीर अस्पतालको चेस्ट युनिटमा १० देखि १५ जना बिरामी मात्र उपचारका लागि पुग्ने गर्थे। ती बिरामीहरु पनि रेफरल मात्र हुन्थे। बिरामीको चापसँगै अस्पतालले छाति रोग सम्बन्धी सेवाहरुलाई पनि बढाउँदै लगेको छ।
चेस्ट विशेषज्ञ क्लिनीक भने आइतबार, मंगलबार र शुक्रबार गरी हप्ताको तीन दिन सञ्चालन हुने गर्दछ। ब्रोनस्कोपी सोमबार र बिहीबार, बुधबार थोरास्कोपी सेवा दिने गरेको छ। स्लीप परीक्षण आइतबार र सोमबार गर्दै आएको छ। यी सेवाको अवधि आवश्यकता अनुसार बढाउँदै लैजाने अस्पतालको तयारी छ। तर बिरामीको चाप अनुसार जनशक्ति थोरै भएकाले सेवाको अवधि बढाउन समस्या भएको ढुंगाना बताउँछन्।
भन्छन्, ‘जनशक्ति नपुग्ने भएर पनि हामीले कतिपय सेवाहरु हप्ताको सातै दिन गर्न सकेका छैनौँ।’
यस युनिटको लागि स्वीकृत दरबन्दी पाँच जना चिकित्सकको मात्र छ। तर बिरामीको चाप अनुसार यो दरबन्दी निकै कम भएको डा ढुंगानाले बताए। हाल यो युनिटमा डा ढुंगाना र श्रेष्ठ सहित डा कमलराज थापा, डा दीपाकुमार श्रेष्ठ र रिताम्बरा ओली गरी पाँच जना विशेषज्ञ चिकित्सक छन्।
चेस्ट युनिट अन्तर्गत अझै पनि धेरै विशेषज्ञ सेवाहरु विस्तार गर्दै लैजानुपर्ने उनले बताए। निद्रा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि छिट्टै नै स्लीपको क्लिनीक सुरु गर्ने योजना छ। यसका लागि छलफल समेत भइरहेको उनले बताए।
सेवासँगै विशेषज्ञ चिकित्सक पनि उत्पादन
बिरामीलाई सेवासँगै चेस्टको डीएमको अध्ययनलाई पनि निरन्तरता दिँदै लैजाने उनले बताए। केही समयअघि डीएमको अध्ययन वीर अस्पतालमा भएपनि त्यसले निरन्तरता पाउन सकेको थिएन। हाल दुई वर्षदेखि भने यहाँ डीएमको पढाई भइरहेको छ। हाल तीन जना डीएम गरिरहेका रेजिडेण्ट चिकित्सक वीर अस्पतालमा छन्।
‘अर्को वर्ष फेरी दुई जना आउनु हुन्छ।’ उनले भने, ‘पहिलो ब्याजमा एउटा सिट मात्र पाएका थियौँ। दोस्रो ब्याजमा दुई वटा सिट पाएका थियौँ। त्यसैले प्रत्येक वर्ष हामीले दुई जना डिएम उत्पादन गर्छौ।’
वीर अस्पतालको चेस्ट युनिटमा आउने बिरामीमध्ये सबैभन्दा धेरै दम रोगका बिरामी छन्। टिबी, फोक्सोको क्यान्सर, छाति सम्बन्धी संक्रमण लगायतका बिरामीहरु वीर अस्पताल पुग्ने गर्छन्। धेरै ठाउँमा निदान हुन नसकेका र जटिल किसिमका बिरामीहरुलाई उपचार गर्न सफल भएको ढुंगाना बताउँछन्।
छुट्टै विशेषज्ञ आइसीयू
वीर अस्पतालको चेस्ट युनिटले आफ्नो सेवालाई थप विशिष्टीकृत गर्दै लगेको छ। करिब सात महिना अघि मात्र वीर अस्पतालले पाँच शय्याको रेस्पीरेटरी आइसीयू समेत सञ्चालनमा ल्याएको छ। डा ढुंगाना यो विशेषज्ञ आइसीयू भएको बताउँछन्।
‘आइसीयू भनेको जनरल मात्र हुन्छ। छाति सम्बन्धी रोगका बिरामीको लागि मात्र हामीले पाँच शय्याको आइसीयू बनाएका छौँ।’ उनले भने, ‘यो आइसीयूको अकुपेन्सी सधै सय प्रतिशत हुन्छ।’
विशेषज्ञ रेस्पीरेटरी आइसीयू सेवा अन्य अस्पतालमा कतै नभएको डा ढुंगाना बताउँछन्। रेस्पीरेटरी आइसीयू सहित अन्तरंग, बहिरंग, एड्भान्स पिएफटी सेवा, ब्रोनस्कोपी र स्लीप ल्याब सेवाहरु चेस्ट युनिट अन्तर्गत सञ्चालन भइरहेका छन्।
वीर अस्पतालले सर्वसुलभ शुल्कमा यी सेवाहरु उपलब्ध गराउँदै आएको छ। निजी अस्पतालमा ब्रोनस्कोपी गर्दा १० देखि १२ हजार रुपैयाँ शुल्क लाग्ने तर वीर अस्पतालमा एक हजार रुपैयाँमै हुने गरेको उनले बताए। उनका अनुसार थोरास्कोपी गरेको १५ सय रुपैयाँ शुल्क छ। बाहिर यसको शुल्क १० हजार रुपैयाँसम्म पर्छ। निजी स्वास्थ्य संस्थामा भन्दा वीर अस्पतालमा सेवाहरु सस्तो र सुलभ शुल्कमा उपलब्ध गराउँदै आएको उनले बताए।