चिकित्सा विज्ञान, पोषण, सरसफाई, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु पछिल्लो एक शताब्दिमा करिव दोब्बर भएको छ। तर रोग एवं औषधीरहित उत्पादनशिल आयु (हेल्थस्पान) भने सो अनुसार बढेको छैन।केही दशक अघीसम्म बुढ्यौलीका रोगका रुपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरु हिजोआज युवावस्थामै सामान्य भैसकेको छ। जस्ले व्यक्तिको जीवनको गुणस्तर, उत्पादन र उत्पादकत्वमा ह्रास ल्याएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका करिव दुई तिहाइ मानिसको मृत्यु नसर्ने रोगबाट हुन्छ। जसको करिव आधा मृत्यु अल्पायुमा हुन्छ। सन २०१९ को तथ्यांक अनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो , जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट , ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ। यी नसर्ने रोगहरु जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन, जुन स्वास्थ्य प्रतिकुल आहार, विहार, विचार र व्यवहारको कारणले लाग्दछ।
पोषण विज्ञानमा ‘वि आर ह्वाट वि इट’ भनिन्छ। आयुर्वेद विज्ञान (चरक संहिता) मा ‘आहारसम्भव वस्तु रोगाश्च आहारसम्भवाः’ अर्थात आहारले नै स्वस्थ जीवन र रोग दुवैको निर्धारण गर्दछ भनिएको छ। आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्रेट्सले ‘लेट फुड वि द मेडिसिन’ अर्थात आहार नै औषधि हो भनेका छन्।खाद्य पदार्थको औद्योगिकीरण र व्यापारिकरणसँगै बढ्दो प्रशोधित आहारको उपलब्धता र उपयोगले विश्वभरी नै नसर्ने रोग महामारीको रुपमा फैलिएको छ। विशेषगरी प्रशोधित वनस्पतीजन्य तेल, चिनी, मैदा , ट्रान्स फ्याट र नुन एवं यिनीहरुबाट निर्मित तयारी ठोस एवं पेय आहार सेवन नसर्ने रोगको मुख्य कारण हो भनी वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ। आरोग्यको लागि आहारको चर्चा गर्दा निम्न तीन प्रश्नमा केन्द्रित हुन जरुरी देखिन्छ।
१. के खाने? (आहारको स्रोत)
करिव दुई करोड वर्षको इतिहास भएको मानव समुदायले ढुङ्गे युग, कृषि युग हुदै आजको औद्योगिक एवं प्रविधीको युगसम्म आइपुग्दा आहारको स्रोत फरेष्ट (जंगल), फिल्ड (जमिन) हुदै फ्याक्ट्री(उद्योग) भएको छ। यसरी आहारको स्रोतमा परिवर्तन आउँदा आहारमा यी चार वायोकेमिकल परिवर्तन भएको पाइन्छ।
१.निम्न ग्लाइसेमिक इन्डेक्सबाट उच्च ग्लाइसेमिक इन्डेक्सयुक्त
२.ओमेगा ३ र ६ को अनुपात १ः१ बाट १ः२०,
३.सोडियम र पोटासियको अनुपात १ः१ बाट १०ः१
४.एन्टि इन्फ्लामेटरी (सुजन प्रतिरोधी)बाट इन्फ्लामेटरी(सुजनकारक)।
चिनी, मैदा,प्रशोधित तैल र अन्नको अधिक प्रयोगले यो अवस्था गराएको हो। जसले कोषिका तहमा दीर्घ सुजन (क्रोनिक इन्फ्लामेसन), अक्सिडेटिभ स्ट्रेस, इन्सुलिन रेसिस्टान्स, माइटोकोन्ड्रियल डिस्फङसन,गट डिस्बायोसिस, ग्लाइकेसन, मेम्बे्रन इनस्टाबिलिटी र इपिजिनेटिक चेन्ज गराउदछ , जुन सम्पूर्ण नसर्ने रोगहरुको वास्तविक कारण हो। यो मुख्यतः प्रशोधित आहारको कारणले हुन्छ र सही आहार सेवनबाट मात्र सुधार गर्न सकिन्छ। हालसम्म औषधिहरुबाट कोषिका तहमा हुने यी परिवर्तनहरु खासै सुधार गर्न सकिएको छैन। नसर्ने रोगहरुमा औषधी सेवनबाट लाक्षणिक लाभ मात्र हुने र लामो समयसम्म सेवन गर्नुपर्ने कारण पनि यही हो।
पछिल्लो समय भएका वैज्ञानिक अध्ययन अनुसन्धानले आहारको संगठन (कार्बोहाइड्रेट, प्रोटिन र फ्याट) भन्दा आहारको स्रोतले स्वास्थ्य निर्धारण गर्न बढी भुमिका खेल्ने देखाउछ। संसारकै स्वस्थ मुटु भएका मानिसको रुपमा प्रमाणित बोलेभियाको अमेजन क्षेत्रका आदिवासीहरुले ७२ प्रतिशत कार्बोहाइड्रेट, १४ प्रतिशत प्रोटिन र १४ प्रतिशत फ्याट सेवन गर्दछन्। त्यसैगरी तान्जानियाका हाड्जा आदिवासीहरुले ६५ प्रतिशत कार्बोहाइड्रेट, २५ प्रतिशत प्रोटिन र ११ प्रतिशत फ्याट सेवन गर्दछन्। त्यसैगरी मुटु एवं स्वास्थ्यका लागि उपयुक्त ठानिएको मेडिटेरियन डाइटमा ४३ प्रतिशत कार्बोहाइड्रेट, १३ प्रतिशत प्रोटिन र ४२ प्रतिशत फ्याट हुन्छ भने धेरै शताब्दि मानव वस्ने जापानको ओकिनवाको परम्परागत आहारमा ८५ प्रतिशत कार्बोहाइड्रेट, ९ प्रतिशत प्रोटिन र ६ प्रतिशत फ्याट हुन्छ। कृषि युगमा प्रवेश गर्नुअघी मानव पुर्खाले ६५ प्रतिशत वनस्पतीजन्य र ३५ प्रतिशत जनावरजन्य स्रोतबाट ४५ प्रतिशत कार्बोहाइड्रेट, ३४ प्रतिशत प्रोटिन र २१ प्रतिशत फ्याट सेवन गरेको देखिन्छ। हाल मेटाबोलिक डिजिजहरुमा प्रभावकारी देखिएको लो कार्ब डाइटमा ५ प्रतिशत कार्बोहाइड्रेट, २५ प्रतिशत प्रोटिन र ७० प्रतिशत स्वस्थकर चिल्लो हुन्छ। हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले स्वास्थ्यको लागि कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको उपयुक्त अनुपात तयार गर्न मुसामा अध्ययन गर्दा आहारको स्रोत प्राकृतिक हुदा जस्तो अनुपात पनि स्वस्थकर पाइयो भने आहार प्रशोधित हुदा हाल सिफारिस गरिएको अनुपातले पनि कार्डियोमेटाबोलिक डिजिज गराउने पाइयो। उपयुक्त आहारहरुमा कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको अनुपात फरक हुदा पनि स्वस्थकर हुनुको कारण स्रोत प्राकृतिक हुनु, उच्च मात्रामा फाइवर र भिटामिन सि लगायत माइक्रोन्युट्रियन्ट पर्याप्त हुनु हो, जुन आधुनिक आहारमा छैन्।
आधुनिक आहार एवं पाक संस्कृतिमा चिनी , रिफाइन्ड (सिम्पल) कार्बको प्रयोग बढी छ, जुन हाम्रो पुर्खाले सेवन गरेको थिएनन्। यस्ता उच्च ग्लाइसेमिक इन्डेक्सयुक्त आहार सेवनबाट शरीरमा धेरै ग्लुकोज पैदा हुन्छ र रगतमा पुग्छ। उक्त उच्च ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट बढी इन्सुलिनको उत्पादन (हाइपरइन्सुलिनेमिया) हुन्छ। इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउनुको साथै बढी (खर्च नभएको)ग्लुकोजलाई फ्याटमा रुपान्तरण गरी पेटमा (इक्टोपिक फ्याट¬)भण्डारण गर्दछ। हाइपरइन्सुलिनेमियाको अवस्था रहिरहेमा कालान्तरमा इन्सुलिनप्रति कोषहरुको प्रतिक्रिया देखाउन छोड्छ अर्थात इन्सुलिन रेसिस्टान्स हुन्छ। हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टान्सले फ्याटी लिभर, मोटोपना, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, पिसिओडी, मुटुजन्यरोग , क्यान्सर, अल्जाइमर्स,थाइरोइड डिसअर्डर, प्रोस्टेटको बृद्धि आदि रोगहरु गराउदछ। अतः चिनी , मैदा, सेतो चामल, हाइ फ्रुक्टोज कर्न सिरपजस्ता उच्च ग्लाइसेमिक इन्डेक्सयुक्त पदार्थबाट निर्मित ठोस एवं पेय आहार सेवन नियमित र धेरै गर्नु उल्लेखित रोगहरु निम्त्याउनु हो।
सन १९५० को दशकबाट मुटुरोग (हर्ट एटेक)बढ्दै जादा त्यसको कारणको रुपमा चिल्लो (स्याचुरेटेड फ्याट र कोलेस्टेरोल) लाई प्र्रश्तुत गरियो। विशेषगरी एनसेल किजको सेभेन कन्ट्रि स्टडी र फे्रमिङहम हर्ट स्टडीबाट स्याचुरेटेड फ्याट, कोलेस्टेरोल र मुटुरोगको सम्बन्ध स्थापित गरियो। त्यही अनुरुप सन १९७७ मा न्यून चिल्लो (न्यून स्याचुरेटेड फ्याट ) युक्त आहार सिफारिस गरिएको अमेरिकी डायटरी गाइडलाइन आयो र मानिसहरुको आहारबाट चिल्लो व्यापक रुपमा कटौती भयोा , जस्को स्थान चिनी ,प्रशोधित वनस्पती तेल ( पोलिअनस्याचुरेटेड फ्याट) र प्रशोधित आहारले लियो। फलतः समस्या झन तिव्र रुपमा बढ्दै गयो। पछिल्लो २ दशकदेखी भएका बैज्ञानिक अध्ययन अनुसन्धानहरुले हर्ट एटेक लगायतका कार्डियोमेटाबोलिक डिजिजको कारणको रुपमा चिनी, उच्च उमेगा ६ युक्त प्रशोधित बनस्पतीजन्य तेल र प्रशोधित आहारलाई जिम्मेवार देखाएका छन्। चिल्लोहरुमा ट्रान्स फ्याट सवैभन्दा नराम्रो मानिन्छ, जस्ले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) बढाउछ र राम्रो कोलेस्टेरोल (एचडिएल)घटाउछ। पुनः तताइएको तेल र बनस्पती घ्यु ट्रान्स फ्याटको प्रमुख स्रोत हो , जुन खाद्य उद्योग र (अधिकांश) होटेलहरुले प्रयोग गर्दछन्।पहिले पोलिअनस्याचुरेटेड फ्याटयुक्त बनस्पती तेल राम्रो भनी प्रचार गरिएको भएपनि तिनीहरु प्रशोधित रुपमा उपलब्ध हुने र उमेगा ६ को मात्रा उच्च हुने भएकाले हाल मुटुलगायत नसर्ने रोगको ड्राइभरको रुपमा चिनिन्छ। मानव पुर्खाहरुको आहारमा उमेगा ३ र ६ को अनुपात १ः१ र शरीरमा उमेगा ६ करिव १० प्रतिशत मात्र रहेकोमा हाल आहारमा यो अनुपान १ः२० भन्दा बढी र शरीरमा करिव २५ प्रतिशत रहेको छ। उमेगा ६ बाट शरीरमा प्रोस्टाग्लान्डिन २, प्रोस्टाग्लान्डिन इ २, प्रोस्टाग्लान्डिन १२, थ्रोम्बोक्सेन ए २ , ल्युकोट्राइन बि ४ , ल्युकोट्राइन सि ४ ल्युकोट्राइन इ ४ आदि जस्ता इन्फ्लामेटरी केमिकल्सहरु बन्दछ, जस्ले रक्तनली एवं शरीरमा सुजन, रक्तनली साँघुरो बनाउने, प्लेटलेट एकिकृत गर्नेजस्ता कार्यहरु गर्दछ , जुन मुटुरोग कारण हो। जबकी उमेगा ३ बाट रिजोल्भिन , प्रोक्टेटिन, प्रोस्टाग्लान्डिन वि ३ , प्रोस्टाग्लान्डिन डि ३ , प्रोस्टाग्लान्डिन इ ३, थ्रोम्बोक्सेन ए ३ जस्ता केमिकल्सहरु बन्दछ , जस्ले उमेगा ६को विपरित कार्य गरी मुटु, स्नायु र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्दछ। विश्व स्वास्थ्य संगठनले स्वस्थकर आहारमा उमेगा ३ र ६ को अनुपात १ः१.२५ तोकेको छ। यो अनुपात घ्युमा १ः१.५, तोरीको तेलमा १ः२, सूर्यमुखी तेलमा १ः१०, ओलिभ तेलमा १ः१२, मकैको तेलमा १ः४६, भटमासको तेलमा १ः१६,घास खाएको (चरेको)जनावरको मासुमा १ः७ र अन्न (दाना)खाएको जनावरको मासुमा १ः१५ हुन्छ।नरिवल तेलमा भने मिडियम चेन फ्याटी एसिड बढी हुन्छ, जुन स्वस्थकर हुन्छ। अतः नेपाली परिवेशमा चिल्लोको रुपमा घ्यु र तोरीको तेल (कोलमा परम्परागत तरिकाले पेली निकालिएको, प्रशोधित हैन )सवैभन्दा उपयुक्त र स्वस्थकर देखिन्छ।
हाल परम्परागत एवं अर्गानिक खेती प्रणाली ( रैथाने बिउबिजन र प्रांगारिक मल प्रयोग हुने ) लोप हुदै गएको छ भने आधुनिक खेती प्रणाली(हाइब्रिड बिउबिजन, केमिकल फर्टिलाइजर र किटनाशक विषादि प्रयोग हुने) व्यापक रुपमा बढ्दो छ। आधुनिक खेती प्रणाली उत्पादन र उत्पादकत्वको हिसावले बढ्दो खाद्य माग धान्न उपयुक्त भए पनि स्वास्थ्यको हिसावले उपयुक्त देखिदैन्। यसर्थ औद्योगिक र आधुनिक खेती प्रणालीका उत्पादनहरु बीच पनि स्वस्थकर सही विकल्प छनोट गर्न जान्नु आवश्यक छ , जस्तै चिनीको सट्टा खुदो (गुड), सेतो नुनको सट्टा सिधेनुन, सेतो चामलको सट्टा खैरो चामल (ब्राउन राइस ), प्रशोधित अन्नको सट्टा पूर्ण अन्न (होल ग्रेन), मैदाको सट्टा परम्परागत पिठो, दुधको सट्टा दहि र मोहि, प्रशोधित तेलको सट्टा परम्परागत रुपमा कोलमा पेली निकालिएको तेल, फ्याक्ट्रिको सट्टा फिल्ड र फरेष्टको आहार , बधुवा र अन्न खाएको जनावरको मासुको सट्टा चरेको र घास खाएको जनावरको मासु, पोखरीको माछाको सट्टा खोला नदिको माछा आदि।
२. कती खाने? (आहारको परिमाण)
अमेरिकी डायटरी गाइडलाइन २०१० को माइप्लेट रिकोमेन्डेसन अनुसार थाली (लगभग १० इन्चको)को आधा भाग फलफूल र तरकारी , एक चौथाइ अन्न र एक चौथाइ प्रोटिन हुनुपर्छ। आयुर्वेदको मतानुसार आमाशयको आधा भाग ठोस आहार , एक चौथाइ तरल आहार सेवन गरी एक चौथाइ भाग रिक्त छोड्नुपर्दछ। आहार सेवनको समयमा निस्कनेविभिन्न हर्मोनहरु जस्तै घ्रेलिन, कोलेसिस्टोकाइनिन, लेप्टिन आदिले अघाएको वा पेट भरिएको सन्देश दिमागमा पुर्याउदछ जुन पेट भरिएको २० देखि ३० मिनेटपछि मात्र दिमागमा पुग्दछ।यसर्थ पेट पुरा भरिएको अनुभूती हुनुभन्दा पहिले नै आहार सेवन बन्द गर्नुपर्दछ।आयुर्वेद एवं योग विज्ञानमा मिताहार अथवा थोेरै मात्रामा (क्यालोरी रेस्ट्रिक्सन )आहार सेवन गर्न भनिएको छ। पोषण विज्ञानको अनुसार शारीरिक गतिविधीको ख्याल गरी आवश्यक क्यालोरी (औसत २००० देखी २५०० क्यालोरी प्रतिदिन)उपलब्ध हुने गरी आहार सेवन गर्नुपर्दछ। क्यालोरी खर्च दिनमा बढी हुने भएकाले विहान र मध्यान्नको आहारबाट दुइ तिहाइ भन्दा बढीक्यालोरी पूर्ती हुने गरी सेवन गरी साझको आहार हलुका र सुपाच्य बनाउनुपर्दछ। स्टेप सर्भे २०१९ को तथ्यांक अनुसार नेपालमा ९६.६ प्रतिशत मानिसले आवश्यक मात्रामा सागपात र फलफूल ( ५ सर्भिङ वा ४०० ग्राम प्रतिदिन.) सेवन गर्दैनन् भने दैनिक ५ ग्राम भन्दा कम सेवन गर्नुपर्ने नुन ९.१ ग्राम सेवन गर्दछन्। सागपात र फलफूल भिटामिन , मिनरल्स र फाइबरको प्रमुख स्रोत हो , जस्ले शरीरमा अक्सिडेटिभ स्ट्रेस घटाई नसर्ने रोगबाट बचाउने र रोग प्रतिरोधात्मक क्षमता बढाई जिवाणुसंग लड्न सघाउछ।अतः स्वस्थ जीवनको लागि इन्द्रणी रङ समावेश हुने गरी सागपात र फलफूल प्रतिदिन ४०० ग्राम खान आवश्यक छ।
३. कहिले खाने? (भोजनको समय)
पछिल्ला अध्ययन अनुसन्धानहरुले आहार के, कति खाने भन्दा कहिले खाने बढी महत्वपूर्ण हुने देखाएको छ। जर्नल अफ क्लिनिकल इन्डोक्राइनोलोजी एण्ड मेजाबोलिज्म, २००५ मा प्रकाशित एक अनुसन्धान अनुसार मानिसमा भोक लगाउने घ्रेलिन हर्मोन २४ घण्टामा ३ पटक , बिहान ८ बजे, मध्यान्न १२ देखी १ बजेसम्म र साझ ५ देखी ६ बजेसम्म बढी स्राव हुने देखिएको छ , जसको प्रभाव २ घण्टासम्म रहन्छ। अतः यही हर्मोनल घडी अनुसार आहार सेवन गरेमा मेटाबोलिक हेल्थ स्वस्थ रहन्छ। साथै प्यान्क्रियाजबाट इन्सुलिनको स्राव र कोषहरुको इन्सुलिन सेन्सिटिभिटी अपह्रान्न पछी क्रमशः घट्दै जान्छ। जैविक घडी (सिर्काडियन क्लक) अनुसार रातीको ९ बजेबाट मेलाटोनिनको स्राव बढ्दछ जस्ले निन्द्रा लगाउदछ र शरीरका अंगहरु आराम अवस्थामा जान्छन। राती १०ः३० बजेबाट पेट एवं आन्द्राहरुको गतिविधीमा कमी आउछ। अतः रातीको आहार सकभर ९ बजे वा ढिलोमा १०ः३० बजेसम्म पचिसक्ने गरी सेवन गर्नुपर्दछ। यसरी हेर्दा रातीको आहार हलुका र ६ बजेदेखी ७ बजेभित्र लिनु उपयुक्त देखिन्छ। जर्नल अफ इन्टरनल मेडिसिन, २०१९ मा प्रकाशित एक अध्ययन अनुसार मेटाबोलिक सिन्ड्रोम (मोटोपना, उच्च रक्तचाप, मधुमेह र डिस्लिपिडेमिया )को मुख्य कारण सिर्काडियन क्लकको पालना नहुनु हो। पोषण बैज्ञानिक गेर्डा पोटले बेलायतमा ५००० भन्दा बढी मानिसको आहार सेवन गर्ने र सुत्ने समयको अध्ययन गर्दा सधै एकै समयमा आहार सेवन नगर्ने र राती नसुती काम गर्ने मानिसहरुमा क्रोनिक फ्यटिक सिन्ड्रोम, पेटको रोग, मोटोपना, डाइबेटिज र मुटुसम्बन्धि रोग बढी हुने पाएका थिए। यसैगरी फिजियोलोजी एण्ड बिहाभिअर जर्नल, २०१४ मा मोटोपना लगायतका मेटाबोलिक डिजिज र आहार सेवनको समयको सम्बन्ध रहेको तथ्य स्पष्ट पारिएको छ। एकै प्रकारको आहार मुसाहरुको एक समुहलाई सिर्काडियन क्लक अनुसारको समयमा र अर्को समुहलाई सिर्र्काडियन क्लक प्रतिकुल समयमा ४ हप्तासम्म सेवन गराउदा सिर्काडियन क्लक अनुकुल आहार सेवन गर्ने मुसाहरु मेटाबोलिकल्ली स्वस्थ पाइए भने प्रतिकुल समयमा सेवन गर्ने मुसाहरु मोटो एवं मेटाबोलिकल्ली अस्वस्थ पाइयो। एडभान्स इन न्यूट्रिसन जर्नल, २०२२ मा प्रकाशित एक मेटा एनालाइसिस अध्ययन अनुसार अर्ली क्रोनोटाइप (राती छिटो खाना खाई छिटै सुत्ने र बिहान छिटै उठ्ने) मानिसहरुमा भन्दा लेट क्रोनोटाइप (राती ढिलो खाना खाई ढिलो सुत्ने र बिहान ढिलो उठ्ने ) मानिसहरुमा डायबेटिज ३० प्रतिशत, क्यान्सर १८ प्रतिशत र डिप्रेशन ८६ प्रतिशत बढी हुने पाइएको छ। यसैगरी जर्नल अफ क्लिनिकल इन्डाक्राइनोलोजी एण्ड मेटाबोलिज्म, २०१५ मा प्रकाशित एक अध्ययनले अर्ली क्रोनोटाइप मानिसहरुमा भन्दा लेट क्रोनोटाइप मानिसहरुमा मेटाबोलिक सिन्ड्रोम ७४ प्रतिशतले बढी हुने देखाएको छ।जर्नल अफ हुम्यान न्यूट्रिसन एण्ड डाडटेटिक्स, २०१३ मा प्रकाशित अनुसन्धान अनुसार साझ ५ बजेपछी दिनभरीको क्यालोरीको ३३ प्रतिशत भन्दा बढी सेवन गर्नेहरु मानिसहरुमा सोही समयमा ३३ प्रतिशत भन्दा कम क्यालोरी लिने मानिसहरुको तुलनामा मोटोपनाको समस्या २ गुणा हुन्छ।जैविक घडी अनुसार आहार सेवन गर्दा १० देखी १२ घण्टाको फिडिङ विन्डो र सोही बराबरको फास्टिङ विन्डो हुन्छ वा छोटो अवधीको इन्टरमिटेन्ट फास्टिङ हुन्छ। फास्टिङको अवधीमा शरीरमा हुने फिजियोकेमिकल परिवर्तनले मेटाबोलिक डिजिज लाग्नबाट बचाउनुको साथै फास्टिङ अवधी लामो बनाएमा निको पार्न समेत सहयोग गर्दछ।
अन्तमा निष्कर्शमा भन्नुपर्दा रिजनल, सिजनल र ओरिजिनल आहार आवश्यक मात्रामा बिहानको ८ बजे, मध्यान्न र साझ सूर्यास्तको समयमा सेवन गर्नु स्वस्थ जीवनको आधार हो। नसर्ने रोगको महामारी बढीरहेको परिप्रेक्ष्यमा सिर्काडियन क्लकको पालन गरी स्वस्थ आहार , पर्याप्त व्यायाम र विश्रामको साथै तनाव व्यवस्थापन गर्नु रोगको रोकथाम र उपचारको लागि अत्यन्त जरुरी छ। यसो गरेमा मात्र मानिसको लाइफस्पान र हेल्थस्पान बराबर भई आरोग्य प्राप्ति हुनेछ।