काठमाडौं– सभामुख देवराज घिमिरेले खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा किरण नकर्मीसँग सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
उनले सांसद भण्डारीका आमाछोराको उपचारमा कमि हुन नदिन र संवेदनशील हुन पनि अस्पताल र चिकित्सकको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ। सभामुख घिमिरेले दुवै जनाको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
हाल उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। तर, अस्पतालमा उपलब्ध श्रोत, साधनले उनीहरूको उपचार सहज नहुने देखिएकोले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र लैजान अस्पताले सिफारिस गरिसकेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकार र जलन उपचार विभाग प्रमुख डा किरण नकर्मीले भण्डारी आमाछोरालाई यथाशीघ्र देशबाहिरका सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका हुन्।
ग्यास सिलिण्डर पड्किएर आगो लाग्दा नेता भण्डारीको शरीरमा २५ देखि ३० प्रतिशत जलन भएको छ। उनको अनुहार, दुवै हात र दुवै गोडाहरूमा जलन भएको छ। उनकी आमाको शरीरको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ। साथै, दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको अस्पतालले जनाएको छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल हुनुलाई गम्भीर अवस्था मानिन्छ।
बुधबार बेलुकी काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए।