काठमाडौं- क्यान्सर सम्बन्धी सचेतना फैलाउने उद्देश्यले तयार पारिएको लोक तथा दोहोरी गीत सार्वजिनक गरिएको छ। महिलाका निम्ति महिला मञ्च नेपालले विभिन्न सचेतनामूलक गीत सार्वजनिक गर्ने क्रममा यसपल्ट क्यान्सरमा केन्द्रीत भएको हो।
उक्त भागका लागि पाटन अस्पतालमा कार्यरत डा अरुण शाहीले कलाकारहरुलाई क्यान्सर बारे जानकारी दिएका थिए। उक्त जानकारीलाई आधार बनाएर कलाकारहरुले गीत गाएका हुन्। उनले स्टुडियोमै पुगेर अभियानमा ऐक्यबद्धता जनाउनु भएका हुन्।
उनले जीवनशैली मर्यादित, अनुशासित र खानपान स्वस्थ भएमा ९० प्रतिशत क्यान्सरबाट जोगिन सक्ने बताए। केही क्यान्सर वंशाणुगत हुने बताउँदै नियमित चेकजाँचले त्यसबाट पनि जोगिन सकिने बताए।
श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।
मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न संगीतलाई माध्यम बनाइएको संस्थापक अध्यक्ष तथा संस्थाकी निर्देशक सिर्जना पुनमगरले बताइन्। ‘श्रमिकको मान्यता र पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि हामीले संगीतलाई माध्यम बनाएका हौं,’ उनले भनिन्। सचेतनामूलक १०० गीतको योजना, व्यवस्थापन र समन्वय डिबी खड्का, सविता पोखरेल र वर्षा लुईंलेटले गरेका हुन्।
उक्त अभियानमा संस्थाकै सांस्कृतिक समूहमा रहेका र अन्य गरी २५ भन्दा बढी गायक गायिकाको संलग्नता रहेको थियो। अभियान अन्तर्गत रेकर्ड भएका गितमा नियमित कलाकारका रुपमा रेवती पौडेल, तारा थापा, देवी आले, रोमु भुजेल, मिना बुढाथोकी, रत्न श्रेष्ठ, शर्मिला विसी, टेकराज भण्डारी, धिरज कोईराला, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवी कुमारी बस्नेत, सागर बिसी, सिमा थापा, शान्ति घर्ती, रमिला बुढामगर, श्याम राना, रेजिना परियार, रन्जिता वि।क, राममाया थापा, टिका पुन लगायतको स्वर रहेको छ।