काठमाडौं- खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनको आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन्। दुवै जनालाई तत्काल उपचारका लागि कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्याइएको थियो।
अस्पतालका एक चिकित्सकले दिएको जानकारी अनुसार विस्फोटपछिको आगोले नेता भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भागमा जलन भएको अवस्था छ। भण्डारीको अनुहार, हात र खुट्टामा बढी जलन छ। यस्तै उनकी आमाको भने करिब ७० प्रतिशत भागमा असर पुर्याएको छ।
कीर्तिपुर अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा किरण नकर्मीका अनुसार वयस्क मानिसमा १५ देखि २० प्रतिशत बढी जल्ने बित्तिकै गम्भीर जलन मानिन्छ। त्यसले जलेको ठाउँमा मात्रै नभई अन्य अङ्गहरू फोक्सो, मिर्गौला, मुटुमा पनि असर गर्छ। त्यो भन्दा कम भएमा सामान्य जलन भनिन्छ। बच्चा र वृद्धहरुको लागि १० प्रतिशतभन्दा बढीलाई गम्भीर जलन मानिन्छ।
नेपालमा ४० प्रतिशतभन्दा बढी जलन भएको अवस्थामा भने बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए। तर कीर्तिपुर अस्पताल २०१७ मा ५५ प्रतिशत जलेको मानिसलाई समेत बचाउन सफल भएको थियो।
भण्डारी र उनको आमाको अवस्था बुझ्न कांग्रेस नेता कीर्तिपुर अस्पतालमा पुगेका छन्। भण्डारीका आफन्त, नेताहरु र अस्पतालका चिकित्सकहरुबीच उनीहरुलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल भइरहेको छ।