काठमाडौं– खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी जलेर घाइते भएका छन्। गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन्।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको बताइएको छ।
दुवै जनालाई तत्काल उपचारका लागि कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्याइएको थियो। आगोले जलेर नेता भण्डारीको शरीरको ३० प्रतिशत भागमा असर पुर्याएको अस्पतालले जनाएको छ। यस्तै, उनकी आमाको भने करिब ७० प्रतिशत भागमा असर पुर्याएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता भण्डारी र उनकी आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। बिहान १:३२ बजे सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शर्माले आफू अस्पताल पुगेर फर्किएको जनाएका छन्।