काठमाडौं- अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ओपन आइज नेपालले कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गर्ने अस्पताललाई रु ११ लाख सहयोगस्वरुप उपलब्ध गराएको हो। जीवनान्त डायग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीको निदान प्रक्रियाको रुपमा इमेजिङ (सीटीस्क्यान र एमआरआई) का लागि सहयोगस्वरुप रु तीन लाख उपलब्ध गराएको छ। ओपन आइज नेपालले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सिड्नी अष्ट्रेलियासँगको सहकार्यमा आगामी चार वर्षसम्म रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ।
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस हरेक वर्ष फेब्रअरी १५ मा क्यान्सर पीडित बालबालिका र किशोरकिशोरीको सचेतना र समर्थन गर्न मनाइन्छ। रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो । यो रोग पाँच वर्षमूनिका बालबालिकामा धेरै देखिन्छ। १५ हजार नवजात शिशुमध्य एक जनामा रेटिनोब्लास्टोमा समस्या देखिन्छ।
यस रोगको समयमा उपचार नभए आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्दछ। यो रोग शरीरको अन्य भागमा पनि फैलिएर मृत्युको जोखिमसमेत हुने चिकित्सक बताउँछन्। ओक्युप्लास्टी र ओकुलर ओन्कोलोजी विभागका प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापितले विकसित देशको तुलनामा यो रोगबाट हुने मृत्युदर नेपालमा धेरै भएको बताए। उनका अनुसार नेपालमा हरेक वर्ष ५० जनामा रेटिनोब्लास्टोमा हुनेगर्छ। यस रोगका ९९ प्रतिशत बिरामीले समयमा उपचार नपाए मृत्युको जोखिम हुन्छ। समयमा पहिचान नहुने समस्याका कारण नेपालमा यस रोगका बिरामीको मृत्युदर धेरै छ।