काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरुहरुको जिम्मेवारी हेरफेर गरेका छन्। मन्त्री गिरीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याउने निर्णय गरेका छन्।
अर्याल सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रकी निर्देशकको जिम्मेवारीमा थिईन्। उनलाई मन्त्रालय ल्याइए पनि सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको जिम्मेवारी अहिलेसम्म कसैलाई दिइएको छैन।
मन्त्री गिरीले समन्वय महाशाखामा अर्याललाई ल्याउँदा त्यहाँ रहेका डा सञ्जय ठाकुरको काज फिर्ता गरिदिएका छन्। काज फिर्ता भएपछि ठाकुर आफ्नो दरबन्दी रहेको वीर अस्पताल फिर्ता भएका छन्।
आइतबार नै कोशी अस्पतालको निमित्त मेसुमा डा रविनमान सिंह नियुक्त गरिएको छ। यसअघिका मेसु डा लक्ष्मीनारायण यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन्।