काठमाडौं– गत सोमबार टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजार भन्दा धेरैको ज्यान गएको छ।
मृतकको संख्या लगातार बढिरहेको छ। यसैबीच आइतबार मध्यराति टर्कीको कहरामनमारसमा फेरि ४ दशमलव ७ रेक्टरस्केलको पराकम्प गएको छ। टर्कीमा ६ फेब्रुअरीमा गएको भूकम्पछि लगातार साना पराकम्पहरु गइरहेका छन्।
अन्टाक्या सहरमा शवहरुको थुप्रोमा मानिसहरुले आफ्ना आफन्तहरुको खोजी गरिरहेका छन्। ६ दिनपछि यहाँ शवलाई बाहिर निकाल्न थालिएको छ। शवहरुको पहिचान गर्न समस्या भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यस्तै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस घेब्रियसले सिरियामा ११० टन मेडिकल सप्लाइ दिने घोषणा गरेका छन्। भूकम्प प्रभावित सहरमा भवन निर्माण कम्पनीविरुद्ध कडा छानबिन सुरु गरिएको छ। टर्कीमा ११३ भवन निर्माणकर्तालाई पक्राउ गरिएको छ।
टर्कीमा २९ हजार ६०५ भन्दा बढीको मृत्यु भइसकेको छ। यता सिरियामा पनि चार हजार ५७४ मानिसको मृत्यु भएको बताइएको छ। यस्तै टर्कीको ८ वटा प्रान्तमा लुटपाटमा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरिएको बताइएको छ। जसमध्ये ४२ जना हताय प्रान्तका रहेका छन्।