काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन्।
गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने बहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।
फागुन १ गतेदेखि विकास आयोजनाहरुको अनुगमन र निरिक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको एक छलफलमा प्रधानमन्त्री प्रचण्डले यो घोषणा गरेका हुन्।
छलफलका क्रममा प्रचण्डले विकास आयोजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए।
'मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ,' उनले भने, 'गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो।'
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।
'यो सुदूरपश्चिम र सिङ्गो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो', प्रधानमन्त्री दाहालले भने, 'नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने सबैले विश्वास लिएका छौँ।'
गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका काम दाहाल पहिलो र दोस्रोपटक प्रधानमन्त्री भएको बेला अघि बढेका थिए।