काठमाडौं- ट्रमा सेन्टरमा कार्यरत डा जनिथ सिंहमाथि प्रहरीद्वारा भएको आक्रमणको विरोध गर्दै आयुर्वेद चिकित्सक संघले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
आयुर्वेद चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। संघको विरोध कार्यक्रम अन्तर्गत आइतबार देशभरका आयुर्वेद चिकित्सकहरुले कालोपट्टी बाँधेर सेवा दिएका छन्।
संघले दोषिमाथि कारबाही लगायतका माग पुरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने जानकारी विज्ञप्ति मार्फत दिएको छ। डा सिंहमाथि आक्रमणको सर्वत्र विरोध भइरहेको छ। नेपाल चितित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिहं लगायत अन्य स्वास्थ्यकर्मी माथी मिति २०७९/१०/२७ गते प्रहरीले गरेको दुर्व्यवहारको नेपाल आयुर्वेद चिकित्सक सङ्घ घोर भर्त्सना गर्दछ।
विषम परिस्थितिमा पनि बिरामीको सेवालाई केन्द्रमा राखेर अटलरुपमा अहोरात्र आफ्नो पेसागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीहरु माथी पटक-पटक कुटपिट लगायतका घटनाहरु दिनानुदिन हुँदै जानु निकै लज्जास्पद भएकाले यस्ता घटनाका दोषीहरुको छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक सङ्घ माग गर्दछ ।
नेपाल चिकित्सक सङ्घको विरोध कार्यक्रमको समर्थन गर्दै २०७९/१०/२९ गते आइतबारका दिन सम्पूर्ण आयुर्वेद चिकित्सकद्वारा कालो पट्टि बाँधेर बिरोध सहित सेवाप्रवाह गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउदै सोहि अनुसार गर्न गराउनु हुन सम्पूर्ण आयुर्वेद चिकित्सकहरुमा हार्दिक अपिल गर्दछौँ | चिकित्सक एवं स्वास्थ्यकर्मीको माग सम्बोधन नभएमा संघले अन्य बिरोधका कार्यक्रम निरन्तर जारि राख्ने र बहिरंग सेवा समेत बन्द गर्न बाध्य हुनेछ | नेपाल आयुर्वेद चिकित्सक सङ्घ चिकित्सक एवं स्वास्थ्यकर्मी माथि हुने यस्ता अमानवीय तथा गैर कानुनी घटनाको घोर विरोध गर्दै सो घटनामा घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ |
स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको सुरक्षा सम्बन्धमा नेपाल सरकार तथा सम्बन्धित निकायहरू जिम्मेवार हुन तथा सेवा ग्राहीको सेवा गर्ने सुरक्षित वातावरण सिर्जना गर्न समेत नेपाल आयुर्वेद चिकित्सक सङ्घ अपिल गर्दछ |
डा. कोपिला अधिकारी
महासचिव