काठमाडौं- चिकित्सकमाथि आक्रमणपछि आन्दोलनमा होमिएको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिध र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता सुरु भएको हो।
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका भने चिकित्सक तर्फबाट चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्। वार्तामा सरकारका तर्फबाट सचिव पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेका छन्।
यस्तै चिकित्सक संघको तर्फबाट नेतृत्व डा कार्कीसहित महासचिव डा बद्री रिजाल, ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी छन्।
चिकित्सकहरुले स्वास्थ्यकर्मीको सुरक्षा र भिभिआइपीका सवारीका विषयमा केन्द्रित रहेर छलफल हुने बताएका छन्। माग पुरा भएमा आन्दोलनको कार्यक्रम फिर्ता लिने चिकित्सकहरुले बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा जनिथ सिंह घाइते भएका हुन्। शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्।
उनको टाउको र हातमा चोट लागेको छ। डा सिंह ट्रमा सेन्टरको आइसीयूमा अब्जरभेसनमा रहेका छन्।