काठमाडौं- नेपाल चिकित्सक संघले प्रहरीद्धारा डाक्टर कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।
संघले ट्रमा सेन्टरमा कार्यरत डा जनिथ सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो) संशोधन ऐन २०७९ अनुसार कारबाही गर्न २४ घण्टाको समय दिएको थियो। उक्त समयमा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै संघले आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
संघको शनिबार बसेका केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले सेवा ठप्प पार्ने निर्णय गरको अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको यसै विज्ञप्तीमार्फत जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा सिंह घाइते भएका हुन्। शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्।
उनको टाउको र हातमा चोट लागेको छ। डा सिंह ट्रमा सेन्टरको आइसीयूमा अब्जरभेसनमा रहेका छन्।