काठमाडौं- ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघले २४ घण्टे समयसिमा दिएको छ। डाक्टर सिंहमाथि भएको आक्रमणपछि दोषिमाथि कारबाहीको माग गर्दै संघले २४ घण्टे अल्टिमेटम दिएको हो।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।
'आजको २४ घण्टा भित्र दोषी माथी कानूनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न सक्ने भएको हुँदा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहन यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,' संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन अनुसार कारबाही गर्न माग गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा सिंह घाइते भएका हुन्। शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्।
उनको टाउको र हातमा चोट लागेको छ।
संघले घटनाप्रति ध्यानाकर्षण गर्दै अस्पताल परिसरभित्रै आक्रमण हुनु अत्यन्तै दुखद र अस्वभनीय कार्य भएको जनाएको छ।