काठमाडौं- प्रहरीको लाठी प्राहरपछि घाइते भएका राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथ सिंहको ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा सिंह घाइते भएका हुन्। शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्।
उनको टाउको र हातमा चोट लागेको छ।
ट्रमाको आइसीयूमा उपचाररत घाइते डा सिंहले घटनाका विषयमा स्वास्थ्यखबरसँग छोटो कुराकानी गरेका छन्।
डा जनिथले दिएको जानकारी उनकै शब्दमा:
अस्पतालबाट ड्यूटी सकेपछि म घर जान भनेर निसक्केको थिएँ। मलाई बाहिर राष्ट्रपतिको सवारी छ भन्ने सुरुमा थाहा थिएन। साइकल लिएर म अस्पतालबाट निस्केको हुँ। अस्पतालकै परिसरमा थिएँ। बाहिर भिड रहेछ।
म मुल सडकको छेउमा बसिरहेको थिएँ। त्यही बेलामा एक जना प्रहरी आएर मलाई छिटो जानुहोस्, त्यहाँबाट हट्नुहोस् भन्दै आए। मैले अस्पतालको कर्माचारी हुँ। यहीँ छेउमा बस्छु सवारी सकिएपछि निस्कुन्छु भनेँ। मैले मेरो कार्ड पनि देखाएँ। तर ती कर्मचारीले झर्कंदै मेरो कार्ड खोस्दै लाठीले हानिहाले। मेरो हातमा र टाउकोमा ती प्रहरीले लाठीले हाने। अहिले म उपचाररत छु। दोषिलाई कारबाही हुनुपर्छ।