काठमाडौं - प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा जनिथ सिंह घाइते भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीका लाठी चार्जबाट डा सिंह घाइते भएका हुन्।
शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। हाल ट्रमा सेन्टरका चिकित्सकहरुले घटनाको विरोध र सुरक्षाको माग गर्दै विरोध गरेका छन्।
वीर अस्पतालमा निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले डा सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउन लागेका थिए। बाटोमा सुरक्षामा खटिरहेका प्रहरीलाई आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दैं कार्ड देखाउँदा-देखाउँदैं पनि उनको कार्ड खोसेर लाठी चार्ज गरिएको जानकारी पाएको डा बस्नेतले बताए।
घटना बारे विस्तृत जानकारी आइनसकेको उनले बताए। घटनापछि अहिले चिकित्सक र प्रहरीका उच्च अधिकारीहरु छलफल चलिरहेको छ ।